सर्लाहीको मूर्ति विसर्जन विवाद साम्यका लागि सर्वपक्षीय भेलाको २ बुँदे निर्णय – Nepal Press

सर्लाहीको मूर्ति विसर्जन विवाद साम्यका लागि सर्वपक्षीय भेलाको २ बुँदे निर्णय

जनकपुरधाम । सर्लाहीको मलंगवामा कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनको क्रममा भएको घटना छानबिन गरिने भएको छ । ढुंगा प्रहारमा संलग्नलाई कारबाही गर्ने निर्णयसमेत गरिएको छ ।

आइतबारको सर्वपक्षीय भेलाले सर्लाहीका सहायक सीडीओ होमप्रसाद घिमिरे संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति पनि बनाइएको छ । समितिमा राष्ट्रिय अनुसन्धान, जिल्ला प्रहरी कार्यालय, मलंगवा नगरपालिका, जिल्ला समन्वय समिति लगायतको प्रतिनिधिलाई राखिएको छ ।

गठित समितिले १५ दिनभित्र घटनाको छानबिन गरी जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश गर्ने र सोही आधारमा कारबाही अगाडि बढाइनेछ ।

सर्वपक्षीय बैठकले सद्भाव र्‍याली निकाल्ने, सबै क्षेत्रका अगुवाले आ-आफ्नो समुदायलाई संयमता अपनाउन पहल गर्ने, अपराधिक कार्य गरेमा कानूनबमोजिम कारबाही गर्ने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

शुक्रवार राति मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप भएको थियो । मूर्ति विसर्जनमा अवरोध गरेको भन्दै मलंगवामा आन्दोलन सुरु भएको र पटक पटक दुई पक्षबीच झडप भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।

आज प्रशासनले कर्फ्यू हटाएर भदौ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा भेला तथा प्रदर्शन गर्न नपाइने, होहल्ला र अवाञ्छित क्रियाकलाप नगर्न तथा पोष्टर, पर्चाजस्ता सामग्री नटाँस्न भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *