भारतविरुद्ध नेपाल: चिन्ता नतिजाको होइन प्रदर्शनको र माैसमकाे – Nepal Press
एसिया कप

भारतविरुद्ध नेपाल: चिन्ता नतिजाको होइन प्रदर्शनको र माैसमकाे

कस्तो छ पाल्लेकेले रंगशालाको पीच ? भारतले पहिलो रोजाइकै टीम उतार्ने सम्भावना

काठमाडौं । नेपालले तीनतिर साँध जोडिएको छिमेकी देश भारतविरुद्ध इतिहासमै पहिलोपटक भोलि राष्ट्रियस्तरको क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । जित्ने टीमले एसिया कपको सुपर फोरमा स्थान बनाउने छ । यदि वर्षाले खेल विथोलियो भने नेपाल बाहिरिन्छ ।

दुईपटक विश्व कपसमेत जितिसकेको क्रिकेटको महाशक्ति हो भारत । एसिया कपको उपाधि भारतले सबैभन्दा बढी सात पटक जितेको छ र यस संस्करणमा पनि उसको दावेदारी अरुको भन्दा बलियो छ । क्रिकेटमा भारतसँग नेपालको कुनै तुलना हुँदैन । क्रिकेटमा सबैभन्दा बढी लगानी गर्ने तथा क्रिकेटबाट सबैभन्दा बढी पैसा कमाउने देश पनि हो भारत । भारतीय क्रिकेट बोर्ड संसारमै सबैभन्दा धनी मानिन्छ । त्यहाँका खेलाडीहरु वार्षिक सयौं करोड आम्दानी गर्छन् ।

भारतमा क्रिकेटका भने जस्ता भौतिक संरचनाहरु छन् । त्यहाँको घरेलु क्रिकेटको बलियो प्रारुप छ । आईपीएल जस्तो विश्वको महँगो क्रिकेट लिग भारतमै हुन्छ । भारतले क्रिकेटमा गर्ने लगानीको एक प्रतिशत पनि नेपालले गर्न सक्दैन । नेपाली खेलाडीले पाउने सेवा सुविधा भारतीय खेलाडीको छेउछाउ पनि आउँदैन । दुई दिनअघि एउटा भारतीय च्यानलले नेपाली राष्ट्रिय क्रिकेटरहरुको तलब भारतका चप्रासीको बराबर छ भनेर घोचपेच गरिरहेको थियो ।

नेपालमा कुनै चिजले खेलाडीहरुलाई प्रेरित गरिरहेको छ भने त्यो हो समर्थकबाट पाएको माया र हौसला । सरकारको लगानीभन्दा पनि खेलाडीको मेहनत र समर्थकको साथले नै नेपाली क्रिकेटले यहाँसम्मको यात्रा तय गरेको हो । एउटा क्रिकेट रंगशालाधरी नभएको देशले एक दिवसीय मान्यता बनाउनु र विश्व विजेता टीमहरुसँग खेल्ने हैसियतमा पुग्नु चानचुने सफलता होइन ।

एसिया कपको कुरा गर्दा, अहिलेसम्म क्रिकेटमा नेपालले यो स्तरमा प्रतिस्पर्धा गर्न पाएको थिएन । २१ वर्षअघि नेपाल एसिया कपको लागि छानिएर पनि भारतको तिगडमबाजीले गर्दा खेल्न पाएन । यसपालि पनि भारतकै कारण अन्तिम समयसम्म एसिया कपमाथि अन्योल थियो । धन्न भयो ।

भारत-पाकिस्तानविरुद्ध खेल्नु नेपाली खेलाडीहरुका लागि सपनासरह हो । त्यसैले नतिजा जे आए पनि यो प्रतिस्पर्धा नै नेपालका निम्ति उत्सवभन्दा कम छैन । हामीलाई हार-जीतभन्दा नेपाली टीमको प्रदर्शन सन्तोषजनक भए पुग्यो । खेलाडीहरुले सहज रुपमा आत्मसमर्पण नगरून् भन्ने कामना हो ।

सबैलाई थाहा छ कि यो बराबरीको प्रतिस्पर्धा होइन । गुगलले यसलाई ९८ः२ को प्रतिस्पर्धा मानेको छ । अर्थात्, भारतले जित्ने सम्भावना ९८ प्रतिशत र नेपालले जित्ने सम्भावना २ प्रतिशत । तर, क्रिकेट यस्तो खेल हो, जसमा कहिलेकाहीं असम्भव पनि सम्भव हुन्छ । क्रिकेटका पावर हाउसहरुलाई कमजोर मानिएका देशले हराएका उदाहरणहरु थुप्रै छन् । यसर्थ नेपाली टीमले खेलअघि नै पक्कै हात उठाउने छैन । मैदानमा जीतकै लक्ष्य बोकेर जाने हो । खेल्दै जाने क्रममा परिस्थितिअनुसार रणनीति बदल्नु आफ्नो ठाउँमा छ ।

नेपालले उमेर समूहको खेलमा भारतसँग केही पटक प्रतिस्पर्धा गरेको छ र तीमध्ये एकपटक भारतलाई हराएको पनि छ । सन् २०१७ को अन्डर १९ एसिया कपमा भारतीय टीममाथि नेपालले चमत्कारिक जीत हासिल गरेको थियो । नेपाली टीमले ६ वर्षअघिको उक्त म्याचलाई प्रेरणाको रुपमा लिनसक्छ । त्यस म्याचमा नेपाललाई जीत दिलाउन प्रमुख भूमिका खेलेका कप्तान दीपेन्द्रसिंह ऐरी अहिले राष्ट्रिय टीमका एक महत्वपूर्ण सदस्य हुन् । सो टीममा रहेका आसिफ शेख, भीम सार्की, रोहित पौडेल, किशोर महतो पनि अहिले राष्ट्रिय टीमभित्र छन् । उमेर समूहलाई हराइयो भने सिनियरलाई पनि हराउन असम्भव छैन भन्ने आत्मविश्वास उनीहरुले राख्नुपर्छ ।

५० ओभर टिक्ने रणनीति होस्

अब प्रश्न आउँछ कसरी खेल्ने ? कस्तो रणनीति लिने ? पाकिस्तानविरुद्धको खेलमा रणनीतिक कमजोरीका कारणले नेपालले विशाल अन्तरको हार व्यहोर्‍यो । दोस्रो इनिङमा ‘असम्भव’ लक्ष्य पाइसकेपछि र सुरुका तीन विकेट सस्तैमा गुमेपछि नेपालले जसरी हुन्छ ५० ओभर टिकेर खेल्ने रणनीति बनाउनुपर्थ्यो । तर, खेलाडीहरु आक्रामक क्रिकेट खेल्ने धुनमा भटाभट आउन हुन पुगे । नेपालले २५ ओभर पनि खेल्न सकेन ।

पाकिस्तानविरुद्धको म्याचभन्दा भारतविरुद्धको म्याच फरक मैदान र फरक पिचमा मात्र होइन, फरक देशमा हुँदैछ । त्यसैले नेपालले पनि त्यहाँको कन्डिसनलाई बुझेर आफ्नो रणनीति बनाउनुपर्ने हुन्छ । पाकिस्तानविरुद्धको म्याचमा नेपालका स्पिनर चल्न सकेनन्, जोबाट धेरै आशा थियो । तुलनात्मक रुपमा फास्ट बलरले सन्तोषजनक प्रदर्शन गरे । भारतीय खेलाडी पनि स्पिन बललाई निकै राम्रो खेल्छन् । भारतविरुद्धको म्याचमा पाकिस्तानी फास्ट बलरहरु चम्केका थिए भने स्पिनरहरु फिक्का बनेका थिए । त्यसैले नेपालका स्पिनरलाई विशाल चुनौती छ ।

भोलिको खेललाई वर्षाले प्रभावित पार्न सक्ने बलियो सम्भावना छ । वर्षाले भाँजो हाल्न सक्ने खेलमा टस जितेको टीमले सामान्यतया पहिलो बलिङ रोज्छन्, ताकि दोस्रो इनिङमा परिमार्जित लक्ष्यअनुसार अड्कलेर रन बनाउन सकियोस् । तर, नेपालविरुद्धको म्याचमा भारतले टस जितेमा पहिले ब्याटिङ रोज्न सक्छ, ताकि ब्याट्सम्यानहरुलाई बढी अभ्यास होस् । त्यसो त पाकिस्तानविरुद्ध पनि भारतले पहिले ब्याटिङको निर्णय लिएको थियो । तुलनात्मक रुपमा दोस्रो इनिङमा ब्याटिङ असहज हुन सक्ने भएकाले पनि यो निर्णय लिएको हुनुपर्छ ।

भारतले नेपालविरुद्ध आफ्नो ‘बेस्ट टीम’ उतार्छ या उतार्दैन भन्ने प्रश्न पनि छ । प्रायः आफूभन्दा कमजोर देशहरुसँगको खेलमा भारतले अहम देखाउँदै प्रमुख खेलाडीहरुलाई रेस्ट दिने गरेको छ । त्यसैले नेपालविरुद्धको म्याचमा पनि भारतले विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराहलगायतका खेलाडीहरुलाई मैदानमा नउतार्ने सम्भावनालाई नकार्न सकिन्न । एसिया कपको स्क्वाडमा १७ जना सदस्य रहने भएकाले विकल्प प्रशस्त छन् । ५ जना नियमित खेलाडीलाई विश्राम दिएर पनि भारतले नेपाललाई सहज रुपमा हराउन नसक्ने होइन । यद्यपि, भोलिको खेल भारतका लागि पनि ‘मोस्ट विन’ म्याच हो । कथंकदाचित हा¥यो भने एसिया कपबाट बाहिरिनुपर्ने हुन्छ । त्यसैले कुनै रिस्क नलिइ पहिलो रोजाइको टीम नै उतार्न सक्ने सम्भावना पनि छ ।

नेपालले भने आफ्नो प्लेइङ- ११ मा धेरै फेरबदल गर्ने अवस्था छैन । पाकिस्तानविरुद्ध खेलेको टीममा खासै तलवितल हुने सम्भावना कम छ । यद्यपि, ब्याटिङ लाइनअप भने परिमार्जन हुनसक्छ । पाकिस्तानविरुद्ध नेपालले ब्याटिङ क्रममा अलिकति एक्सपेरिमेन्ट गरेको थियो । तर, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल जस्ता प्रमुख ब्याट्सम्यानहरुलाई ७-८ नम्बरमा उतार्नु फाइदाजनक भएन । यसलाई भारतविरुद्धको खेलमा सम्भवतः सच्याइने छ । तेस्रो नम्बरमा कुशल मल्ललाई पठाउने हो भने उनले ‘फिल्ड रेस्ट्रिक्सन’को सदुपयोग गर्न सक्ने सम्भावना रहन्छ । किनकि उनी ठूलो सटका निम्ति माहिर छन् ।

नेपाली ब्याट्सम्यानका लागि सबैभन्दा ठूलो थ्रेट भनेको भारतीय फास्ट बलर जसप्रित बुमराह हुनेछन् । उनको अस्वाभाविक बलिङ एक्सन र सटिक बलले जोकोही ब्याट्सम्यानलाई अप्ठेरोमा पार्ने गरेको छ । त्यसैले सुरुवाती ओभरमा बुमराहसँग जोगिनु नेपालका निम्ति महत्वपूर्ण हुनेछ ।

नेपालले ५० ओभर टिक्ने रणनीति बनाउनु आवश्यक देखिन्छ । यसको अर्थ पूरै रक्षात्मक भएर खेल्नु भन्ने होइन । टिक्ने धुनमा रन नबनाइकन ‘ब्लक’ मात्रै गर्दा झनै आत्मघाती हुनसक्छ । त्यसैले राम्रा बलहरुलाई रोक्ने र खराब बलहरुलाई हान्न सही रणनीति हो । नेपालले ब्याटिङमा २०० रन कटाए र बलिङमा भारतलाई ३०० रनभित्र रोके त्यो सम्मानजनक मानिने छ ।

पीचको स्वभाव कस्तो ?

श्रीलंकाको पिल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाल र भारतबीचको म्याच हुँदैछ । सन् २०१० मा निर्मित यो रंगशाला ३५ हजार सीट क्षमताको हो ।

जुन पिचमा नेपाल खेल्न गइरहेको छ, त्यो ब्याटिङका लागि त्यति कठिन मानिँदैन । यद्यपि, भारत जस्तो सुदृढ ब्याटिङ पङ्क्ति रहेको टीमले समेत पाकिस्तानविरुद्ध पूरा ५० ओभर खेल्न सकेन । विराट कोहली र रोहित शर्मा जस्ता ब्याट्सम्यान सस्तैमा आउट भए । यसले देखाउँछ कि सुरुवाती ओभरहरुमा विकेट चुनौतीपूर्ण छ र सम्हालिएर खेल्नुपर्छ । सुझबुझपूर्ण ब्याटिङ गरे ठूलो स्कोर बन्न नसक्ने भने होइन । अफगानिस्तानका इब्राहिम जद्रानले गतवर्ष श्रीलंकाविरुद्ध १३८ बलमा १६२ रन बनाएका थिए, जुन यस मैदानमा कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो ।

यो रंगशालामा अहिलेसम्म ३४ वटा एक दिवसीय म्याचहरु भएका छन्, जसमा पहिलो ब्याटिङ गर्ने दोस्रो ब्याटिङ गर्ने टीमले १९ वटा म्याच जितेका छन् । यहाँको पहिलो इनिङको औसत स्कोर २४८ रन र दोस्रो इनिङको औसत स्कोर २०१ रन रहेको छ । सामान्यतया पहिलो इनिङमा फास्ट बलरहरुलाई पीचले सहयोग गर्छ । दोस्रो इनिङमा भने स्पिनरहरु चम्किन सक्छन् ।

यस मैदानमा सर्वाधिक ३६३ रन बनेको रेकर्ड छ, जुन साउथ अफ्रिकाले श्रीलंकाविरुद्ध सन् २०१८ मा बनाएको थियो । सफलतापूवक चेज गरिएको सबैभन्दा ठूलो स्कोर चाहिँ ३१४ रन हो, जुन श्रीलंकाले अफगानिस्तानविरुद्ध हासिल गरेको थियो । यसैगरी यस मैदानमा बनेको सर्वाधिक न्यून स्कोर ७० रन हो । सन् २०२२ मा श्रीलंकाविरुद्धको म्याचमा जिम्बाबे ७० रनमा अलआउट भएको थियो । पाल्लेकेले रंगशालामा सर्वाधिक रनको कीर्तिमान तिलकरत्ने दिल्शानका नाममा (१५ इनिङमा ९३९ रन) र सर्वाधिक विकेटको किर्तिमान लसिथ मलिङ्गाको नाममा (१६ खेलमा २४ विकेट) रहेको छ ।

नेपालले पहिलोपटक एसिया कप खेलिरहेको छ । यस प्रतियोगिताको फम्र्याट यस्तो बनाइएको छ कि कमजार टिमले दुईभन्दा बढी खेल खेल्न सक्ने अवस्था नै हुँदैन । ४८ वटा देशहरु भएको एसिया महादेशबाट जम्माजम्मी ६ देशहरुलाई खेलाएर एसिया कपको नाम दिइएको छ ।

६ देशलाई दुईवटा समूहमा बाँडिएको छ । समूह चरणमा एउटा टीमले केवल २ वटा म्याच खेल्न पाउँछन् । दुई टीम दुई समूहबाट सुपर ४ मा जान्छन् र एक-एक टीम बाहिरिन्छन् ।

०००

पाकिस्तानसँगको पराजयपछि भारतसँगको खेल रद्द भए वा हार व्यहोरे नेपालको यात्रा यहीँ टुंगिनेछ । वास्तावमा यो न्यायोचित होइन । दुईवटा म्याचले कुनै पनि टीम वा खेलाडीको वास्तविक क्षमता र स्तर मापन हुन सक्दैन । एसिया कपमा पुग्नलाई नै ठूलो पापड बेल्नुपर्ने, तर बल्लतल्ल पुगेपछि जम्मा २ वटा म्याच खेलेर फर्किनुपर्ने बिडम्बना हो । नेपाल जस्ता एसोसिएट्स टीमले टेस्ट मान्यता प्राप्त देशहरुसँग प्रतिस्पर्धा गर्नु नै दुर्लभ हुन्छ । त्यसैले आगामी वर्षमा नेपाल जस्ता टीमले धेरै म्याचहरु खेल्न पाउने गरी एसिया कपको संरचना बदल्न नेपालको क्रिकेट संघले पहल गरोस् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Press - Live
Nepal Press - Live