संसदीय समिति सभापतिको भागबन्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन् – Nepal Press

संसदीय समिति सभापतिको भागबन्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संसदीय दलको बैठकमा संसदीय समितिको सभापतिको भागबन्डा मिलिसकेको जानकारी गराएका छन् ।

सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसदीय समितिको सभापतिको भागबण्डा मिलिसकेको जानकारी गराएको सांसद माधव सापकोटाले जानकारी दिए ।
उनका अनुसार कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्नेछन् ।

सहमतिअनुसार अर्थ, संसदीय सुनुवाइ, राज्य व्यवस्था तथा सुशासन र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व कांग्रेसले गर्ने भएको छ । लेखा, महिला तथा सामाजिक मामिला र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व एमालेले त्यस्तै पूर्वाधार विकास र कानून, न्याय तथा मानव अधिकार समितिको नेतृत्व माओवादी केन्द्रले गर्नेछन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेकपा एकीकृत समाजवादीले, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको जनता समाजवादी पार्टीले र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व जनमत पार्टीले गर्ने सहमति बनेको छ।

सभापतिको भागबन्डा मिलिसकेकाले अब चाँडै समितिले सभापति पाउने भएको छ । समिति गठन भएको महिनौं बितिसक्दासमेत अहिलेसम्म दलहरूबीच बाँडफाँटमा कुरा नमिल्दा समितिले सभापति पाउन सकेको थिएन । तर, सभामुख देवराज घिमिरेले समितिको नेतृत्व छिटो चयन गर्न ताकेता गर्दै आएका थिए ।

सत्ता र प्रमुख प्रतिपक्षी दलले समितिको सभापतिको नेतृत्व गर्ने सहमति भएपनि प्रतिनिधिसभामा २० सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी र १४ सीट भएको राप्रपाले भने पाएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर