बागमतीका मन्त्री चित्रकार ६५ दिनदेखि बिना विभागीय – Nepal Press

बागमतीका मन्त्री चित्रकार ६५ दिनदेखि बिना विभागीय

हेटौँडा । बागमती प्रदेश सरकार विस्तार भएको ६५ दिनसम्म एक जना मन्त्रीले आफ्नो मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका रामकृष्ण चित्रकारले ६५ दिन बितिसक्दा समेत मन्त्रालयको जिम्मेवारी पाउन नसकेका हुन् ।

६५ दिनबाट मन्त्रालयको टुंगो नलाग्दा मन्त्री चित्रकार मुख्यमन्त्री कार्यालयमा रहेको मुख्यमन्त्रीको कार्यकक्ष सँगै एउटा कोठामा बसेर दिन काट्न बाध्य बनेका छन् ।

११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारलाई पूर्णता दिने क्रममा गत जेठ ७ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १२ जना मन्त्री नियुक्त गरेका थिए ।

११ मन्त्रालयमा १२ जना नियुक्त गरेसँगै चित्रकारको भागमा विना विभागीय मन्त्रीको जिम्मेवारी परेको थियो ।

उनलाई बजेट भाषणपछि मन्त्रालयको जिम्मेवारी दिने आश्वासन दिइएको थियो । तर बजेट भाषण सकेको ४० दिन बितिसक्दा समेत चित्रकारले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

११ मन्त्रालय नबढाउने अडान राखेका मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसको दबाबमा १२ मन्त्रालय बनाएपछि अहिले विना विभागीय मन्त्रीलाई व्यवस्थापन गर्न समस्या बढेको माओवादी निकट सांसदहरूको भनाई छ ।

प्रदेश सरकारमा मुख्यमन्त्री सहित ४ मन्त्रालय माओवादीको भागमा छ भने विना विभागीय चित्रकार समेत कांग्रेसले ६ मन्त्रालयको जिम्मेवारी प्राप्त गर्दा एकीकृत समाजवादीको भागमा दुई मन्त्रालय रहेको छ । तर कुन मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मा दिने विषय पेचिलो बन्दा व्यवस्थापनमा समस्या आएको माओवादी निकट सांसदहरूको भनाई छ ।

नेपाली कांग्रेसले माओवादी कोटामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर सहरी विकास मन्त्रालयको स्थापना गर्दै चित्रकारलाई जिम्मेवारी दिनुपर्ने अडान राखेको छ । तर माओवादी भने आफूहरूको भागको मन्त्रालय कुनै पनि हालतमा फुटाउन नहुने पक्षमा छ ।

कांग्रेसको दबाबले मन्त्रालय बढाउनु परेको कारण अब कांग्रेसको भागमा परेको मन्त्रालयलाई फुटाएर चित्रकारलाई दिनुपर्नेमा माओवादी एक ढिक्का भएर उभिएको छ ।

कांग्रेसले भनेको मानेर मुख्यमन्त्रीले १२ जना मन्त्री बनाएकोले अब व्यवस्थापनको जिम्मा पनि कांग्रेसकै रहेको माओवादीको भनाई छ । तर कांग्रेसले भने आफूहरू ठुलो पार्टी भएको कारण धेरै मन्त्रालय पाउनुलाई स्वभाविक घटनाको रूपमा व्याख्या गरेको छ ।

प्रदेशका मन्त्रालयहरू मध्य सबैभन्दा धेरै बजेट रहेको भौतिकलाई फुटाएर सहरी विकास बनाउन जनतालाई ‘डेलिभरी’ दिन सहज हुने भन्दै यो विषयमा छलफल भइरहेको मन्त्री चित्रकारले बताए ।

‘हामी मन्त्री बन्नुभन्दा पनि जनतालाई कसरी काम गरेर देखाउने भन्ने पक्षमा छौ, यसरी हेर्दा सहरी विकास मन्त्रालयको खाँचो देखिन्छ’, उनले भने ।

बागमती प्रदेश मुलुकको पनि राजधानी रहेको जिल्ला भएको, बागमतीमा मात्र ३ वटा महानगर रहेको कारण पनि सहरी विकासलाई महत्वको साथमा हेर्नुपर्नेमा उनको जोड छ ।

६५ दिनसम्म बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिन नसक्दा मुख्यमन्त्री जम्कट्टेल समेत दबाबमा परेका छन् । उनले अबको केहि दिनमा नै चित्रकारलाई मन्त्रालयको जिम्मेवारी दिने गरी छलफल तीव्र बनाइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर