खुशी किन भेटिन्न ? – Nepal Press
ब्लग

खुशी किन भेटिन्न ?

हेर्दा वा सुन्दा सामान्य लाग्ने दुई अक्षरले मिलेको शब्द खुशी, त्यसलाई पाउन त्यति नै कठिन छ । संसारमा त्यस्तो मान्छे सायदै होला, जो खुशी हुन नचाहेको होस्, खुशीको कुरा नगरेको होस् । तर, कमै मान्छेले मात्रै खुशीखुशी आफ्नो जीवन बाँचिरहेका छन् । जसरी जीवनमा सफलताको स्वाद पनि थोरैले मात्र चाख्न पाउँछन् त्यसरी नै खुशी पनि कम मान्छे नै छन् । यसको प्रमाण यो हो कि मानिसहरू आजभोलि ‘तनावमा छु’, ‘डिप्रेसेड छु’ नभनेको कमैले मात्र सुनिन्छ ।

हेर्नोस्, हामीलाई सानोमा कसैले चकलेट ल्याएर दियो भने खुशी भइन्छ भन्ने लाग्थ्यो । अलि ठूलो भएपछि कसैले खेल्ने सामग्री ल्याएर दियो भने खुशी भइन्छ भन्ने लाग्थ्यो । ठूलो भएपछि प्रेमीप्रेमिका बनाइयो भने खुशी भइन्थ्यो भन्ने लाग्छ । अझै ठूलो भएपछि विवाह गरेर खुशी पक्का जस्तो लाग्थ्यो ।

तैपनि खुशी पाउनु त कहाँ हो कहाँ झन् तनाव थपिन्छ, धेरैको जीवनमा । यिनै कुराबाट खुशी नमिल्ने भन्ने होइन । केही समयको लागि खुशी मिले जस्तो लाग्छ । त्यो खुशीको आभासमात्र हो । खुशी होइन । किनकि कुनै पनि चिज प्राप्त गरिसकेपछि फेरि अर्काे चिजमा हाम्रो मन जान थाल्छ । यो मान्छेको प्रकृति नै यस्तै हो । हामीलाई आफूले भनेको चिज पाउँदा खुशी पाइएको जस्तो लागेकोमात्र हो । यदि कुनै चिज पाइयो भने त हामीसँगै हुनुपर्ने होइन र ?

त्यसैले हामीले सर्वप्रथम त के कुरा बुझ्नुपर्‍यो भने कुनै पनि चिजले हामीलाई खुशी दिने होइन । ती चिज प्राप्त गर्दाखेरी हाम्रो मस्तिष्कमा रसायन उत्पन्न हुन्छ । जति समयसम्म ती रसायनको असर रहन्छ, त्यति समयसम्म मात्र हामीलाई खुशीको आभास हुने हो । यदि खुशी चिजमै छ भने त एउटै समान दुई जनालाई उही समयमा दिँदा दुवै समान रूपले खुशी हुनुपर्ने होइन र ? एउटा उदाहरणबाट प्रस्ट पारे है त !

कुनै पनि चिजले हामीलाई खुशी दिने होइन । ती चिज प्राप्त गर्दाखेरी हाम्रो मस्तिष्कमा रसायन उत्पन्न हुन्छ । जति समयसम्म ती रसायनको असर रहन्छ, त्यति समयसम्म मात्र हामीलाई खुशीको आभास हुने हो । यदि खुशी चिजमै छ भने त एउटै समान दुई जनालाई उही समयमा दिँदा दुवै समान रूपले खुशी हुनुपर्ने होइन र ?

मानौं, तपाईंका दुई जना साथी छन् । दुवैको जन्मदिन एउटै दिनमा परेको छ । तपाईंले उनीहरू दुवैलाई एउटै उपहार दिने सोच बनाउनुभयो । उपहार मानौं, आई फोन १३ छ । ती दुईमध्ये एउटासँग अहिले हातमा सामान्य स्मार्टफोन छ र अर्काेसँग आइफोन १४ छ । तपाईंले दुवैलाई आइफोन १३ दिनुभो, अब के दुवै जना उत्ति नै खुशी हुन्छन् त ? पक्कै पनि हुँदैनन् । सामान्य स्मार्टफोन चलाउने साथी तुलनात्मक रूपमा बढी खुशी हुन्छ र आइफोन चलाउने साथी तपाईंलाई खुशी देखाउन खुशी भए पनि भित्रबाट मसँग भएको भन्दा एक स्तर तल्लो हो भन्ने मनमा भै रहन्छ । अब खुशी चिजमा हुन्थ्यो भने त दुवै उत्तिकै खुशी हुनुपर्ने होइन र ?

कहाँ छ त खुशी ?

हामीले पानीको मुहानमा गएर सुन खोज्यौ भने सुन्दा कस्तो हाँसो उठ्दो लाग्छ । तर, हामीले जीवनसँग त्यही मजाक गरिरहेका छौं । अनि कसरी मिल्छ त खुशी ? जुन चिज हामीभित्रै पाइन्छ, त्यो चिजलाई बाहिर कौडीमा बिक्ने सामानहरुमा खोजेर कहाँ मिल्छ त खुशी ? हामीले यस्तो गर्नुमा हाम्रोमात्र गल्ती छैन । हाम्रो संस्कार, हुर्काइ, शिक्षालगायत धेरै कुराले प्रभाव पारेको हुन्छ । खुशी पाउन हामीले आफैंभित्र हेर्नुपर्छ । आफ्ना भावना, विचार कसरी उठ्छन्, कसरी हराउँछन्, ती सबै कुरालाई तटस्थ भएर हेर्ने कला जान्नुपर्छ र बाहिरी चिजमा खुशी खोज्ने व्यर्थ प्रयत्नलाई त्याग्नुपर्छ । तपाईंले जति आफूलाई भित्रबाट जान्नुहुन्छ, बुझ्नुहुन्छ त्यति तपाईंले अन्त्यमा यो बुझ्नुहुन्छ कि खुशीको स्रोत नै तपाईं आफैं हो । अझ एक तह अगाडि कुरा गरौं, म नै खुशी हुँ भन्ने बुझ्नुहुन्छ । त्यसपछि तपाईंले प्राप्त गरेको फलमा होइन, तपाईंले गरेका हरेक कर्ममा खुशी हुनुहुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *