प्रतिपक्षले फेरि अवरोध गरेपछि बागमतीकाे प्रदेशसभा बैठक असार १७ गतेसम्मको लागि स्थगित – Nepal Press

प्रतिपक्षले फेरि अवरोध गरेपछि बागमतीकाे प्रदेशसभा बैठक असार १७ गतेसम्मको लागि स्थगित

हेटौंडा । प्रतिपक्ष दलहरु नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशसभाको बुधबारको बैठकमा पनि अवरोध गरेका छन् । उनीहरुको अवरोधपछि अर्को बैठक असार १७ गते बोलाइएको छ ।

आज बिहान ११ बजे बोलाइएको बैठक साँझ करिब साढे ५ बजेमात्र सुरु भएको थियो । बैठक प्रारम्भ हुनासाथ राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफ्नो धारणा राख्नासाथ बैठक अवरुद्ध भएको हो । थापाले बोल्नासाथ प्रतिपक्ष दलका सांसदहरुले सरकारले बजेट पुनर्लेखन नगरेसम्म संसद चल्न नदिने अडानसहित नाराजुलुस गरेका थिए ।

नेता थापाले यो पटकको मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट विनियोजन गरेर प्रतिपक्षलाई वेवास्ता गरेको बताए । अहिले बागमती प्रदेशमा कसैको पनि बहुमत नभएको, जो पनि जुनैबेला प्रतिपक्ष र सत्तापक्ष हुनसक्ने भन्दै उनले यस्ताखाले बजेटले अबको चार वर्षलाई समस्या पर्ने चेतावनी दिए ।

सरकारले ल्याएको बजेट वडा सदस्यले हाल्नेभन्दा पनि कम भएको भन्दै नेता थापाले यस्ताखाले बजेट कुनै पनि हालतमा कार्यान्वयन नहुने ठोकुवा गरे ।

‘यो बजेट समृद्ध बागमती कसरी बनाउने भन्ने विषयमा कतै पनि स्पष्ट छैन’, उनले भने, ‘बजेटले सबैभन्दा ठूलो सांस्कृतिक सभ्यता रहेको काठमाडौं उपत्यकालाई बेवास्ता गरेको छ र उक्त सभ्यता जोगाउने नेवार समुदायलाई जिस्काउने काम गरेको छ । यस्तो बजेटले प्रदेशलाई गिज्याउने काम गरेको छ ।’

थापाले रोष्टमबाट बैठक अवरुद्ध हुने बताएसँगै सभामुख भुवन पाठकले बैठक असार १७ गतेसम्मको लागि स्थगित भएको सुनाए ।

आजको बैठकमा सत्ता पक्षका सांसदहरुको उपस्थिति न्यून थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर