हेटौँडाका वडाध्यक्षहरूले दिए मुख्यमन्त्रीलाई कालोझण्डा देखाउनेदेखि मन्त्रीहरूलाई बहिस्कार गर्नेसम्मको चेतावनी – Nepal Press

हेटौँडाका वडाध्यक्षहरूले दिए मुख्यमन्त्रीलाई कालोझण्डा देखाउनेदेखि मन्त्रीहरूलाई बहिस्कार गर्नेसम्मको चेतावनी

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका वडाध्यक्षहरूले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कालोझण्डा देखाउने चेतावनी दिएका छन् ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडालाई प्रदेश बजेटले उपेक्षा गरेको भन्दै उनीहरूले मुख्यमन्त्रीलाई कालोझण्डा देखाउनेदेखि मन्त्रीहरूलाई सार्वजनिक बहिस्कार गर्नेसम्मको कार्यक्रम तय गरिने बताए ।

शनिवार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी वडाध्यक्षहरूले सरकारले प्रदेशको राजधानीलाई कमजोर बनाएर राजधानी नै अन्यत्र सार्नेसम्मको चलखेल गर्न प्रदेश सरकार लागेको भन्दै आफूहरू आन्दोलित हुनुपर्ने वाध्यात्मक अवस्थाको सृजना भएको बताए ।

राजधानीको विकासको सन्दर्भमा बजेटले कुनैपनि सम्बोधन नगरेको बताउँदै उनीहरूले प्रदेश सरकारको नियत खराब रहेको, हिजो सार्वजनिक भएको बजेटले संघीयताको मर्मलाई मार्ने काम भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौँडा–१४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरूले प्रदेशका मन्त्रीहरूलाई सार्वजनिक कार्यक्रममा कालो झन्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्ने तयारीमा रहेको बताए । उनले प्रदेश सरकारको बजेट पूर्वाग्रही ढंगले आएको भन्दै बजेट नसच्चिए कडा रूपमा प्रस्तुत हुन बाध्य हुने समेत उल्लेख गरे ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौँडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले प्रदेशको राजधानी हेटौँडा भएको र त्यसमा पनि १० नम्बर वडामा प्रदेशका मन्त्रालयहरू देखि प्रदेश सभा भवन लगायत धेरै सरकारी भवनहरू भएको तर यहाँकै पूर्वाधार विकास निर्माणमा बजेट शून्य पार्नुले राजधानीलाई पछि पार्न खोजेको टिप्पणी गरे ।

उनले प्रदेशको राजधानी हेटौँडालाई नियोजित ढंगले बजेट नहाल्नुले राजधानी सार्न खोजेको भान भएको बताए । उनले आफूहरूले अब प्रदेशसभा र यहाँ रहेका मन्त्रालय क्षेत्रको फोहोर नउठाउने, नाली र सडकका कामहरू रोक्ने बताए ।

वडा नम्बर ५ का वडाध्यक्ष सुशील घिमिरेले प्रदेशले गौरवको रूपमा पिप्ले रंगशालामा आफ्ना प्रदेश खेलकुदको गतिविधि गर्ने गरेको तर रंगशालाको विकासको लागि अति न्यून रकम विनियोजन गरेर लज्जावोध हुने काम गरेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर १५ का वडाध्यक्ष सुनिल मोक्तानले सरकारले विकासको बजेटलाई मन्त्रीहरूको जिल्लामा मात्र केन्द्रित गर्दै प्रदेशको राजधानीलाई अस्तव्यस्त बनाउने खेलामा लागेको उल्लेख गरे ।

सरकारले राजधानीको विकासको लागि यहाँका वडाहरूमा सन्तुलित विकासको अवधारणा बनाउनुपर्नेमा त्यसको विपरीत राजधानी क्षेत्रलाई कमजोर बनाउने काममा अघि बढेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर