बुटवलमा भारतीय मासुजन्य वस्तु छ्यापछ्याप्ती – Nepal Press

बुटवलमा भारतीय मासुजन्य वस्तु छ्यापछ्याप्ती

रुपन्देही । बुटवलका पसलमा भारतबाट अवैध तरिकाले ल्याइएको मासुजन्य वस्तु छ्यापछ्याप्ती पाइएको छ । त्यस्तै मासु व्यवसायको नेतृत्व गर्नेहरुको पसल नै कानूनविपरीत उपभोक्तालाई असर पुग्नेगरी सञ्चालनमा छन् ।

नियामक निकायको आँखा छलेर यस्तैगरी कमाइ गरिरहेका बुटवलका केही मासु पसल उपमहानगरको निगरानीमा परेका छन् । भारतबाट अखाद्य वस्तु राखेर ल्याइएका मासुजन्य वस्तु बिक्री वितरण गरेर उपभोक्ताको स्वास्थ्यमा असर पु¥याएको गुनासो बढेपछि उपमहानगरले निगरानीमा राखेको हो ।

खासगरी खुला सीमा, मुख्य नाकामा सेटिङ मिलाएर ल्याइने गरेका कारण स्थानीय व्यवसायी मर्कामा परेका छन् । उपभोक्ताले पनि स्वच्छ मासु खान पाएका छैनन् ।

मासु व्यवसायी संघ रुपन्देहीका कार्यसमिति सदस्य बालकुमार श्रेष्ठले सामान्य मापदण्ड पालना नगरेरै कुखुरा वध गर्ने गरेको भेटियो । बुधबार श्रेष्ठको कुसल पोल्टी सप्लायर्समा अनुगमन गर्दा यस्तो भेटिएपछि जनप्रतिनिधि, अनुगमन टोलीका सदस्य र कर्मचारी आश्चर्यमा परे ।

पसलमा खुला स्थलमा वध गर्ने गरेको, टायल मार्वल नलगाएको, पर्याप्त पानी नभएको, वधस्थल फोहोर र दुर्गन्धित भेटिएको अनुगमन टोलीले बताएको छ । श्रेष्ठ मासु व्यवसायी संघकै पोल्टी संयोजक हुन् । उनले दैनिक मासु पसलहरुलाई कुखुरा तयार गरी बिक्री गर्दै आएका छन् ।

अनुगमन समितिका संयोजक एवं बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले जिम्मेवार व्यक्तिले नै मापदण्ड पालना नगरेर व्यवसाय सञ्चालन गरेपछि अरु व्यवसायीको अवस्था कस्तो होला भन्ने प्रश्न खडा भएको बताइन् ।

अनुगमन समितिले १५ दिनभित्र वधशालालाई कम्पाउण्ड गर्न, टायल मार्बल लगाउन श्रेष्ठलाई निर्देशन दिएको छ । टोलीले बुटवल गोलपार्कमा रहेको स्याङ्जाली मासु पसलबाट कुहिएको मासु बरामद गरी नष्ट गरेको छ । अनुगमनका क्रममा सो मासु पसलमा कुखुराको ८ केजी मासु कुहिएको अवस्थामा भेटिएको थियो । टोलीले उक्त मासु बुटवल उपमहानगरपालिकाभित्र गाडेको छ ।

बुधबार कुसल र स्याङ्जालीसहित १५ वटा मासु पसलमा अनुगमन गरिएको थियो । अनुगमन गर्दा बुटवलका अधिकांश मासु पसलहरुले मापदण्ड पालना नगरेरै व्यवसाय सञ्चालन गरेको पाइएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मासु व्यवसायमा व्यवसायीहरुले सामान्य मापदण्ड पनि पालना नगरेको उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बताए ।

जेठ १४ देखि २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गरी १०१ किलो अखाद्य मासु र ४ प्याकेट अखाद्य ससेज जफत गरी नष्ट गरिएको छ । अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलहरुबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए ।

मानिसले विश्वास गरेर खरिद गर्ने मासु स्वस्थ र स्वच्छ हुनुपर्ने, पशुपंक्षी वध गर्दा र मासु बिक्री गर्दा मापदण्ड पूरा गर्नुपर्ने पशुपंक्षी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर