अभियुक्त पक्षका वकिलहरुको दाबी- अदालतलाई थ्रेट गर्ने काम भयो, ३३ किलो सुन मुद्दा झैं हचुवामा ल्याइयो – Nepal Press
नक्कली भुटानी शरणार्थी प्रकरण

अभियुक्त पक्षका वकिलहरुको दाबी- अदालतलाई थ्रेट गर्ने काम भयो, ३३ किलो सुन मुद्दा झैं हचुवामा ल्याइयो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत बुधबारदेखि अभियुक्त पक्षबाट बहस सुरु भएको छ । हालसम्म केशव दुलालको पक्षबाट ६ र सानु भण्डारीको पक्षबाट एकजना वकिलले बहस गरेका छन् ।

बहसका क्रममा अभियुक्त पक्षका वकिलहरुले पीडितहरुको नाउँमा अदालतलाई थ्रेट गर्ने काम भएको दाबी गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा देशविदेशले हेरिरहेको बताएर अदालतलाई तर्साउन खोजिएको ती वकिलहरुको जिकिर थियो ।

उनीहरुले यो मुद्दा ३३ किलो सुन काण्ड जस्तै हचुवाको भरमा २८ करोडको विगो मुद्दा अदालत ल्याइएको तर्क गरे । कुनै प्रमाणविना हचुवाको भरमा अदालतमा मुद्दा ल्याइँदा ३३ किलो सुनको मुद्दाले हावा खाएको र यो २८ करोड रुपैयाँको बिगो मुद्दाले पनि हावा खाने उनीहरुको जिकिर थियो ।

‘पीडितहरुको नाउँमा देशविदेशले यो मुद्दा हेरिरहेको छ भनेर अदालतलाई थ्रेट गर्ने काम भयो’, सानु भण्डारीको पक्षबाट बहस गरेका अधिवक्ता विनोद शर्माले भने ।

उनले भण्डारीविरुद्ध जाहेरी दिएका ६१ मध्ये ५६ जनालाई सानुले नचिन्ने र सानुले कसैसँग पैसा लिएको प्रमाण नभएको औंल्याए ।

वकिल शर्माले धेरै पीडितलाई आफूले नचिनेको र पैसा पनि नलिएकाले सानुले आत्मदाह गर्ने बताएको अदालतलाई जानकारी दिए । उनले सानुको सिफारिसमा समितिमा बसेका गणेश केसीले राम्रो काम गरेको मूल्यांकन गर्ने हो भने सानुले मात्रै कसरी गलत गरे भन्दै प्रश्न गरे ।

अभियुक्त केशव दुलालको पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता योगेन्द्र अधिकारीले पीडितले ठगिएँ भन्दैमा अदालतमा मुद्दा दर्ता गर्दा ठगी ग¥यो भन्न नमिल्ने बताए ।

त्यस्तै अर्का अधिवक्ता राजन भट्टराईले एकदुई रुपैयाँ लिँदादिँदासमेत ओल्टाइपल्टाइ हेरिने भन्दै लाखौं रुपैयाँ कसैले हचुवाको भरमा नदिने जिकिर गरे ।

उनले कसैले कसैलाई नगदै दिएको बयानको आधारमा अदालतले त्यसलाई प्रमाण नसक्ने दाबी गरे । यस्तो अवस्थामा अदालतले अहिलेसम्म कुनै फैसला नगरेको उनको भनाइ थियो ।

मङ्गलवार सरकारी वकिलको बहस सकिएपछि बुधबारबाट अभियुक्त पक्षका वकिलहरूको बहस जारी छ । सो बहसका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसाोसियसनका बहालवाला अध्यक्ष र पूर्वअध्यक्षहरूले नाम टिपाएका छन् ।

यसअघि नै निर्धारण भएको बहसको समयअनुसार सरकारी वकिलले तीन दिन समय पाएका थिए । अभियुक्त पक्षका वकिलहरूलाई भने ६ दिनको समय दिइनेछ ।

जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

गत आइतबारदेखि जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्तिहरू भएको हुँदा उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क राखेका छन् ।

सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाइ अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् । १२ जना अझै फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर