‘अखण्ड भारत’ को नक्साप्रति युवा संघ रुपन्देहीले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण – Nepal Press

‘अखण्ड भारत’ को नक्साप्रति युवा संघ रुपन्देहीले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

रूपन्देही । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालका भूभागहरू समेत समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेत नेतृत्वको टोलीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नेपाली भूमिलाई भारतीय नक्सामा पार्ने भारतीय हेपाहा प्रवृतिप्रति गम्भीर हुन आग्रह गरिएको छ ।

युवा संघ रुपन्देहीले आज जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत ज्ञापन पत्र बुझाउँदै भारतले आफ्नो संसद भवनमा राखेको नक्सामा बुद्ध जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई समावेश गरेको भएपनि प्रधानमन्त्रीको भारत भ्रमणमा उक्त विषय नउठाइएको भन्दै आपत्ति जनाएको छ ।

ज्ञापन पत्रमा भारतले नेपालको भूभाग समेटेर बनाएको नक्सा सच्याउने पहल गर्न नेपाल सरकारसँग माग गरिएको छ ।

ज्ञापनपत्रमा प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले जारी गरी नेपाली भुभागको रुपमा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भागको सट्टापट्टा गर्न सकिने भनी दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको उल्लेख छ । युवासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रभुलाई खुसी पार्न भ्रमणको सम्मुखमा सार्वभौम संसदलाई छलेर निष्क्रिय भैसकेको नागरिकता विधेयक प्रमाणीकरण गरिएकोप्रति आपत्ति जनाएको छ ।

यसका साथै नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको शिर झुकेको भन्दै उक्त प्रकरण सन्दर्भमा निष्पक्ष छानबिन तथा अनुसन्धान गरी दोषीहरूमाथि हदैसम्मको कारबाही गर्न विज्ञप्तिमा माग गरिएको छ ।

टोलीमा युवा संघका केन्द्रीय सदस्य कल्पना पाण्डे मगर, प्रदेश कमिटी सदस्य कृष्ण मल्ल ठकुरी , जिल्ला उपाध्यक्ष दीपक खड्की ,सचिव दिपेश कँडेल, सहसचिव नवराज थापा, कोषाध्यक्ष नारायण थापालगायत पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर