वर्ल्डकप क्वालिफायर : नेपालमाथि असमान व्यवहार गरिएको भन्दै आईसीसीलाई क्यानको पत्र – Nepal Press

वर्ल्डकप क्वालिफायर : नेपालमाथि असमान व्यवहार गरिएको भन्दै आईसीसीलाई क्यानको पत्र

सहभागी ६ एसोसिएट्स राष्ट्रमध्ये नेपाल मात्रै टेस्ट राष्ट्रसँग अभ्यास खेल्न वञ्चित

काठमाडौं । नेपालसमेत सहभागी हुने एकदिवसीय क्रिकेटको ग्लोबल क्वालिफायरको खेल तालिका हिजो सार्वजनिक गरियो । उक्त तालिकाअनुसार समूह ‘ए’ मा परेको नेपालले आयोजक जिम्बाबेसँग उद्घाटन खेल खेल्दैछ ।

नेपाली क्रिकेट समर्थकहरू यो प्रतियोगिताको तीव्र पर्खाइमा छन् किनकि पहिलो पटक नेपाली राष्ट्रिय टिमले टेस्ट मान्यताप्राप्त राष्ट्रहरूसँग भिड्ने मौका पाएको हो ।

तर, प्रतियोगिताको सेड्यूल बाहिरिँदा एउटा कुराले भने नेपाली फ्यानहरूलाई खिन्न बनायो । त्यो हो, प्रतियोगिता पूर्व खेलाइने अभ्यास म्याचको तालिकामा नेपालमाथि आईसीसीको भेदभावपूर्ण व्यवहार ।

यस प्रतियोगितामा दुवै समूहमा दुई–दुई टेस्ट राष्ट्र र ३–३ एसोसिएट राष्ट्रहरू सहभागी छन् । नेपालको समूहमा रहेका टेस्ट राष्ट्रहरू जिम्बाबे र वेस्ट इन्डिज हुन् । एसोसिएट्स राष्ट्रमा नेदरल्यान्ड्स र अमेरिका छन् । यस्तै समूह बीमा दुई टेस्ट राष्ट्र आयरल्यान्ड र श्रीलंका तथा एसोसियट्स राष्ट्रहरू ओमान स्कटल्यान्ड र यूएई छन् ।

सहभागी सबै टिमहरूले प्रतियोगिता पूर्व दुई–दुई अभ्यास खेल खेल्ने तालिका बनाइएको छ । जसमा समूह एका सबै टिमले समूह बीका दुई टिमसँग र समूह बीका सबै टिमले समूह ए का दुई टिमसँग अभ्यास खेल खेल्छन् ।

यो अभ्यास खेल पनि नेपालका लागि निकै महत्त्वपूर्ण छ । तर आईसीसीले नेपालका दुवै अभ्यास खेल एसोसिएट्स राष्ट्रसँग पारिदिएको छ । जबकि बाँकी ५ वटै एसोसिएट्स टिमहरूले टेस्ट राष्ट्रसँग एउटा अभ्यास खेल खेल्न पाउनेछन् ।

प्रतियोगिता पूर्व श्रीलंका वा आयरल्यान्डजस्ता बलिया राष्ट्रसँग अभ्यास खेल्न पाएको भए त्यो नेपालका लागि धेरै प्रभावकारी हुन सक्थ्यो । तर, ओमान र यूएईसँग नेपालको अभ्यास खेल परेको छ । यी दुवै टिमसँग नेपालले पछिल्लो समय बारम्बार खेल्दै र जित्दै आएको हो ।

आईसीसीले नेपालमाथि ठाडो विभेद गर्दै टेस्ट राष्ट्रसँग अभ्यास खेल्न वञ्चित गराएपछि नेपाल क्रिकेट संघले औपचारिक रुपमा नै प्रतिवाद गरेको छ । क्यानले हिजो नै आईसीसीलाई इमेलमार्फत पत्राचार गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले बताए ।

‘हामीमाथि अलिकति अन्याय भएको छ । त्यसैले हामीले अभ्यास खेलको तालीकामा पुनर्विचार गर्न आग्रह गर्दै आईसीसीलाई इमेल लेखेका छौं,’ उनले भने । इमेलको जवाफ नआइसकेको उनले बताए ।

अरू एसोसिएट्सले टेस्ट राष्ट्रसँग अभ्यास खेल्दा नेपाललाई वञ्चित गरिनुले असमान व्यवहार झल्किएको पाठकको भनाइ छ ।

उनी भन्छन्, ‘यो प्रतियोगिता हाम्रोलागि निकै महत्त्वपूर्ण छ । हामीलाई टेस्ट कन्ट्रीसँग खेल्ने अवसर बारम्बार आउँदैन । त्यसैले कम्तीमा एउटा म्याच टेस्ट कन्ट्रीसँग पारिनुपर्छ भन्ने हामीले माग राखेका हौं ।’

अझै पनि समय भएकाले आईसीसीले अभ्यास खेलको तालिकामा पुनर्विचार गर्ने आशा क्यानले राखेको पाठक बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *