प्रहरी आएपछि ढोकामा चुकुल लगाएर बसेका थिए बालकृष्ण खाण – Nepal Press

प्रहरी आएपछि ढोकामा चुकुल लगाएर बसेका थिए बालकृष्ण खाण

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि तनावमा थिए पूर्वगृहमन्त्री बालकृष्ण खाण । हिजो काठमाडौं प्रहरी परिसरमा गएर कागज गरेर फर्केपछि उनले आफ्नो मोबाइल नै स्वीच अफ गरे ।

उच्च नेतृत्वको निर्देशनपछि आज काठमाडौं प्रहरी र अपराध अनुसन्धानको टोली खाणलाई पक्राउ गर्न खटियो । खाणको घर ललितपुरमा छ । तर, उनी त्यहाँ बस्दैनन् । आफ्ना सहयोगीसहित उनी मैजुबहालमा रहेको एक कांग्रेस नेताको घरमा बस्दै आएका छन् । ललितपुरको घरमा उनकी पत्नी मञ्जु बस्छिन् ।

प्रहरीले खाणलाई पक्राउ गर्न दुवैतिर टोली परिचालन गरेको थियो । प्रहरी स्रोतका अनुसार हिजै बेलुकी ७ बजेपछि कोटेश्वरबाट खाणको मोबाइल अफ भएको थियो । आज बिहान ९ बजेतिर प्रहरी टोली मैजुबहालमा रहेको घरमा पुगेर सुरुमा तल्लो तलामा बस्ने खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गर्‍यो । त्यसपछि माथिल्लो तल्लामा उक्लियो ।

प्रहरी स्रोतका अनुसार प्रहरी आएको थाहा पाएपछि खाणले कोठाभित्र चुकुल लगाएर बसेका थिए । केहीबेरसम्म भित्रबाट ढोका नखोल्दा कुनै अप्रिय घटना भयो कि भनेर प्रहरीहरु डराएका थिए । उनीहरु जबरजस्ती ढोकाको चुकुल फोडेर भित्र पसेको स्रोतले बतायो ।

प्रहरीले उनलाई आफूहरुसँग जान आग्रह गरेपछि खाणले आनाकानी गरेका थिए । ‘मलाई नछुनुस्’ भन्दै उनी प्रहरीसँग तर्किए । ‘जे सोध्नु छ यही सोध्नुस्’ भनेर उनले प्रहरीसँग नजाने अड्डी लिए । तर, उनको केही लागेन । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमायो । प्रहरीकै गाडीमा राखेर जिल्ला प्रहरी परिसर टेकुमा ल्याइयो ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाण सबैभन्दा हाइप्रोफाइल व्यक्ति हुन् । केही दिनअघि नेपाल प्रेसले उनको विषयमा समाचार प्रकाशित गरेपछि उनले भोलिपल्ट खण्डन गर्दै विज्ञप्ति निकालेका थिए । खाणकी पत्नी मञ्जुसमेत यस प्रकरणमा मुछिएकी छन् । मञ्जु उनकी कान्छी श्रीमती हुन् । उनले मञ्जुलाई ललितपुरको आफ्नै घरमा राखेका छन् । श्रीमान् र श्रीमती किन अलग अलग बसेका हुन् भन्ने खुलेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर