राजनीतिमा चासो थिएन, तर क्याम्पसको माहौलले स्ववियु सभापति बनायो – Nepal Press

राजनीतिमा चासो थिएन, तर क्याम्पसको माहौलले स्ववियु सभापति बनायो

पद्मकन्या क्याम्पसका स्ववियु सभापति ज्योति पनेरु विद्यार्थी राजनीतिमा सक्रिय हुनुको एकै कारण थियो, क्याम्पसको माहौल । ०७० सालमा बीए पढ्न क्याम्पस छिरेकी पनेरुलाई क्याम्पसको माहौलले तान्यो । विद्यार्थी राजनीतिमा सक्रिय क्याम्पसका नेतृहरूसँगको उठबसले पनेरुमा राजनीतिक रङ थपियो । विद्यार्थीको हक अधिकारका निम्ति बोल्न थालिन् । अन्ततः, अहिले क्याम्पस छिरेको ९ वर्षपछि सभापतिमा पनि निर्वाचित भइन् ।

पनेरुले ९ सय ८५ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीकी बिसना आले मगरले पाँच सय ५९ मत ल्याइन् । ५६ सयभन्दा बढी मतदाता भएको पद्मकन्यामा १८ सय १७ मत मात्रै खसेको थियो । यसको कारणबारे पनेरु भन्छिन्, ‘अघिल्ला चुनावमा पनि यस्तै हुन्थ्यो । धेरै विद्यार्थीहरू भर्ना मात्रै हुन्छन्, परीक्षा मात्रै दिन्छन् । त्यसैले धेरै मत खसेन । हाम्रो अपेक्षा चाहिँ तीन हजार ३५ सय जति खस्ला भन्ने थियो, तर खसेन ।’

पद्मकन्यामा अखिल क्रान्तिकारी र अनेरास्ववियुको तालमेल भए पनि नेविसंघको प्यानलै निर्वाचित भयो । त्यसो त पद्मकन्यालाई नेविसंघको गढको रूपमा पनि लिइन्छ । ०३६ सालदेखि ०६५ सालसम्म भएका १४ वटा निर्वाचनमा शशी श्रेष्ठ मात्रै नेविसंघ बाहिरकी हुन् । तत्कालीन जनमोर्चाको विद्यार्थी संगठन अखिल छैटौँबाट श्रेष्ठले जितेकी थिइन् । यसपछि लगातार नेविसंघले जित्नै आएको छ ।

नेविसंघबाट सभापतिमा निर्वाचित मिना पाण्डे, महालक्ष्मी उपाध्याय डिना, कमला पन्त अहिले नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय छन् । तिनै नेतृहरूको पथ पछ्याउँदै अहिले पनेरु पनि अहिले पद्मकन्याका विद्यार्थीहरूको नेता बनेकी छन् ।

पनेरुका पिता डडेलधुराका नेविसंघका संस्थापक अध्यक्ष बनेका थिए । पिता राजनीतिमा भए पनि पनेरुलाई भने राजनीतिमा खासै चासो थिएन ।

बीए पढेर करियर बनाउन काठमाडौं छिरेकी पनेरु होस्टेलको सुविधा राम्रो भएका कारण पद्मकन्या क्याम्पस छिरेकी थिइन् । तर, राम्रो होस्टेलको सुविधा भएकाले क्याम्पस छिरेकी पनेरु अहिले भने विद्यार्थीहरूका लागि सुविधा र अध्ययनको राम्रो वातावरण बनाउने निर्णायक ठाउँमा पुगेकी छन् ।

काठमाडौं छिर्नुअघि पनेरुले देखेको राजनीति निकै फरक थियो । भागेश्वर गाउँपालिकाका पूर्व अध्यक्ष कौशिला भट्ट आफन्त पर्ने भएकाले गाउँको राजनीतिलाई राम्रोसँग बुझेकी थिइन् । तर, जब काठमाडौं छिरिन्, काठमाडौंको राजनीतिक परिवेश फरक थियो । जिल्लाको राजनीतिलाई राम्रोसँग बुझेकी पनेरुलाई लाग्यो, खास राजनीति त बुझ्नै बाँकी रहेछ । अनि नेविसंघमा सक्रिय भइन्।

नेविसंघको १३ औँ महाधिवेशनबाट सक्रिय भएकी पनेरु ०७३ सालमा स्ववियु सदस्यको दाबेदार थिइन् । तर, पद्मकन्यामा निर्वाचन रोकियो । पनेरुको राजनीतिक यात्रा भने झनै लम्कियो । उनी विद्यार्थीको माझमा रहेर निरन्तर काम गरिरहिन् ।

पनेरु आफूले जित्नुको कारणबारे भन्छिन्, ‘विद्यार्थीले मलाई भन्दा पनि मेरो कामलाई नजिकबाट देखिरहेकाले पूरा विश्वासका साथ मलाई मत दिनुभयो । मैले जितेँ । त्यो उहाँहरूको विश्वासलाई कायम राख्दै उहाँहरूको हक हितका लागि मैले काम गर्नुपर्नेछ अबका दिनमा ।’

कोभिडको समयमा पनि कक्षा कसरी सञ्चालन गर्ने, विद्यार्थीहरूलाई अध्ययनका लागि कसरी सहज बनाउने भन्ने विषयमा आफूहरू सक्रिय रहेको बताउँछिन् पनेरु । विद्यार्थीमाझ आफूले गरेका कामहरूलाई हेरेरै संगठनले पनि विश्वास गरेर टिकट दिएको र आफूले जितेर त्यसलाई प्रमाणित पनि गरेको पनेरुको भनाइ छ ।

भन्छिन्, ‘संगठनले गरेको काम विद्यार्थीले राम्रोसँग देखेका थिए । साथै हामीले झुटो आशाको खेती गरेनौँ । त्यसले गर्दा पनि नेविसंघको प्यानलप्रति नै विद्यार्थीहरूको भरोस थियो । त्यही भरोसाले हाम्रो प्यानल नै निर्वाचित भयो ।’

अहिले आइटीसँग सम्बन्धित कार्यक्रमहरूलाई चुस्त, दुरुस्त बनाउने योजनामा छिन् उनी । साथै आइटी ल्याब, मल्टिमिडियालाई प्राथमिकतामा राखेर योजनाहरू अगाडि बढाइरहेको बताउँछिन् । भन्छिन्, ‘दुई वर्षको छोटो समयमा गर्नुपर्ने कामहरू धेरै छन् ।

प्रतिबद्धतामा समेटिएका विषयदेखि समसामयिक विषयमा काम गरिरहेका छौँ । सरसफाइ, व्यवस्थापन, रिसर्चमा सहयोग, सहजीकरण जस्ता कामहरू समेत थप चुस्त तरीकाले गर्ने योजनामा छ हाम्रो टिम ।’

साथै पद्मकन्यामा सभापति जित्नु राजनीतिको पहिलो पदम भएकाले भोलिका दिनमा देश र जनताकै सेवा गर्ने पनेरुको योजना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर