माओवादी एक भएका छैनौँ, गलत प्रचार भइरहेको छ : नेता गजुरेल (भिडिओ) – Nepal Press

माओवादी एक भएका छैनौँ, गलत प्रचार भइरहेको छ : नेता गजुरेल (भिडिओ)

प्रचण्डले राष्ट्र विरोधी काम गरिरहेको आरोप

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रविरोधी कामहरू गरिरहेको आरोप लगाएका छन् ।

आइतबार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले लगातार जनविरोधी र राष्ट्रविरोधी कामहरू गरिरहेको आरोप लगाउँदै जनताका बीचमा लगेर ती कामहरूलाई उजागर गर्न जरुरी रहेको बताए ।

विश्वकप लिग टु क्रिकेटको आफ्नो अन्तिम खेलका क्रममा प्रधानमन्त्रीका रूपमा दर्शक बनेर कीर्तिपुर खेल हेर्न पुग्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी लागे पनि प्रधानमन्त्रीलाई त्यसको लाज नलागेको बताए ।

उनले देशमा यसअघि अत्याचार, शोषण, महँगी र बेरोजगारी यति धेरै नरहेको उल्लेख गर्दै गणतन्त्र पछिको समाजवाद उन्मुख व्यवस्थाले झनै विसङ्गति पैदा गरेको आरोप लगाए । उनले सत्तामा रहेको माओवादी र विद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भएपनि सफल नभएको बताए ।

गजुरेलले माओवादीहरू डराएर एकजुट भए भन्ने कुरा गलत रहेको बताए । उनले अहिले पनि माओवादीहरू एक ठाउँमा नरहेको स्पष्ट पारे । नेता गजुरेलले जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा अदालत रहेको आरोप लगाए ।

माओवादीहरूको नेतृत्वले विश्वासघात गर्दा सबै माओवादीहरू अहिले दुरावस्थाबाट गुज्रिनु परेको उल्लेख गर्दै उनले जनयुद्धमा भएका घटना अदालतले हेर्ने गरी योजना बनाइएको पनि बताए ।

नेता गजुरेलले जनयुद्धमा भएका घटनाहरूमा माओवादीलाई दोष लगाइ अपराधीकरणको फैसला सुनाउने योजना रहेको आरोप लगाए ।


प्रतिक्रिया

One thought on “माओवादी एक भएका छैनौँ, गलत प्रचार भइरहेको छ : नेता गजुरेल (भिडिओ)

  1. तपाईहरूजस्तो देशप्रेमी दिल्लीको दलालसँग मिल्नुहुन्छ भन्ने कल्पना पनि गरेका छैनन जनताले । प्रचण्डको ढोल पिटाई कसैले पत्याउनेवाला छैनन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर