बहिनीसँगै हेलिकोप्टर चढेर रुकुम महोत्सवमा पुगे पल शाह, दर्शकको घूईंचो – Nepal Press

बहिनीसँगै हेलिकोप्टर चढेर रुकुम महोत्सवमा पुगे पल शाह, दर्शकको घूईंचो

काठमाडौं । एक वर्ष जेल बसेर निस्केका अभिनेता पूर्ण विक्रम शाह(पल शाह) ले पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । रुकुममा आयोजित महोत्सवमा भाग लिन आफ्नी बहिनी रोसनीका साथमा हेलिकोप्टर चार्टर गरेर गएका थिए ।

जेल जीवन बिताउनुपूर्व पल यस्ता कार्यक्रमहरुमा एक्लै जाने गर्थे । तर यसपालि उनले पहिलो कार्यक्रममै केही सहयोगीसँगै बहिनीलाई लिएर पुगेका हुन् । पललाई जेलबाट निकाल्न बहिनी रोसनीले सुरुदेखि निकै संघर्ष गरेकी थिइन् ।

रुकुमको खलङ्गामा आयोजना गरिएको कार्यक्रममा पुग्नु अघि पलले एक तस्बिर सार्वजनिक गर्दै आफू त्यहाँ गइरहेको जानकारी दिएका थिए । हेलिकप्टरमै खिचिएको उक्त तस्विरमा पल र उनको बहिनीलाई देख्न सकिन्छ ।

कार्यक्रममा पल आउने खवर पाएपछि हजारौँको संख्यामा मानिसहरुको उपस्थिति थियो । पललाई हेलिकप्टरबाट कार्यक्रमसम्म पुर्याउन पनि सुरक्षाकर्मीलाई निकै हम्मेहम्मे परेको थियो ।

महोत्सवमा उपस्थित पलले पुगेलगत्तै सबैलाई अभिवादन गर्दै धन्यवाद दिए । आफू अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ‘तिम्रो घरको वरिपरि’ बोलको गीत गाउँदै उनले आफ्नो प्रस्तुति पनि दिए । नाचगानसँगै उनले सबैलाई आफ्नो जेलजीवनबारे केही किस्साहरु सुनाए ।

उनले जेलकोे नाम सुन्ने बित्तिकै आफूलाई डर लाग्ने बताए । एक वर्ष बिताएर आएको त्यो ठाउँलाई जेल नभएर विश्वविद्यालय मानेको पनि उनले उल्लेख गरे ।

पलले भने, ‘म एक वर्ष जेलमा बसेँ । जेल भन्ने बित्तिकै अहिले मलाई डर लाग्छ । तर त्यसलाई म जेल भन्दिनँ । म त्यसलाई विश्वविद्यालय भन्छु ।’

जेलबाट निस्केपछि आफूले हजारौँको संख्यामा आमाबुवा पाएको पलले बताए ।

‘जेल जानुअघि मलाई मेरो घरमा एउटा आमा, एउटा बुवा, एउटा दाई र एउटा बहिनी छ जस्तो लाग्थ्यो । तर जेलमा बस्दाखेरि वा भनौँ विश्वविद्यालयमा पढ्दै गर्दाखेरि मैले लाखौँ हजारौँ आमा, बुवा र दिदीबहिनीहरु पाएँ,’ उनले थपे।
पलले सबैकोे प्रार्थना र आशिर्वादले आफू छिटो निस्केको बताउँदै सबैलाई धन्यवाद दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर