माओवादी रिझाउने कांग्रेसको ‘अन्तिम पारी’- प्रचण्डले गर्लान् ठाउँसारी ? – Nepal Press

माओवादी रिझाउने कांग्रेसको ‘अन्तिम पारी’- प्रचण्डले गर्लान् ठाउँसारी ?

काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर माओवादी रिझाउन थालेको कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादी उम्मेदवारलाई निर्विरोध हुन दिएर अन्तिम पारी पूरा गरेको छ ।

‘केपी ओलीले हाइज्याकमा परेका प्रचण्डलाई फेरि पुरानै गठबन्धनमा ल्याउँछौं’ भनिरहेका कांग्रेस नेताहरूले दिनहुँजसो प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसकिएकोमा प्रायश्चित गरिरहेका छन् ।

जसरी केपी ओलीले उनकै भाषामा तत्कालीन परमादेशी गठबन्धन भत्काउने खुलेआम घोषणा गरेका थिए, त्यसैगरी कांग्रेसले पनि अहिलेको सत्ता गठबन्धनबाट प्रचण्डलाई आफूतिरै ल्याउने खुलेआम बताइरहेको छ ।

नेपाली कांग्रेसले चुनावअघिको गठबन्धन ब्युँताउनु माओवादीलाई फकाउन लागिपरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री दिएर एमालेले भत्काएको गठबन्धन पुनः ब्युँताउन कांग्रेस लागिपरेको प्रष्टै छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहार थालेको थियो उसले । त्यसयता कांग्रेसले माओवादीलाई फकाउने र एमालेलाई निरन्तर चिढ्याउने प्रयास गरिरहेको छ ।

सत्तागठबन्धनमा ओलीले प्रचण्डलाई पिँजडाभित्र राखेको टिप्पणी गर्दै कांग्रेसले प्रचण्डलाई आफ्नो कित्तामा उभ्याउन खोजेको छ । तर, रवि लामिछाने पदमुक्त भएपछि रिक्त गृहमन्त्रालय रास्वपालाई नदिने प्रधानमन्त्रीको अडानपछि रास्वपा सरकारबाट बाहिरिएको छ । यही मौकाको फाइदा कांग्रेसले उठाउन खोजेको छ ।

कांग्रेसले आफ्नोतर्फबाट माओवादीलाई दिनेजति सबै दिइसकेको छ । राष्ट्रियसभा उपाध्यक्षपछि उसको अब दिने ठाउँ लगभग छैन । प्रधानमन्त्री नदिएका कारण गुमेको सत्ता पुनःप्राप्त गर्न कांग्रेस गृहमन्त्रालय पाए पनि सरकारमा जान तयार रहेको शशांक कोइरालाले बताइसकेका छन् ।

चुनावअघिकै गठबन्धन ब्युँताउन माओवादीभित्र उपाध्यक्ष कृष्णबहादुर महरासहित अग्नि सापकोटा, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणी पोखरेलगायतका नेताहरू सक्रिय छन् । भने, कांग्रेस पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, रमेश लेखकलगायतका नेताहरू माओवादीसँग संवादमा छन् ।

कांग्रेसकै आडभरोसा पाएकाले माओवादीले राष्ष्ट्रपतिमा राष्ट्रिय सहमति र त्यसो नहुँदा जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

शनिबार सकिएको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने, ‘कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्छौँ । यदि सहमति नभएमा विचार र कार्यदिशा मिल्ने दलहरूसँग मिलेर अघि बढ्छौं ।’

माओवादीको यो निर्णयबाट आफूहरूसँग एमाले रुष्ट भएपछि कांग्रेसको साथ पाउनेमा प्रचण्ड ढुक्क छन् । त्यही अनुसारको नेताहरूले लबिङ पनि गरिरहेका छन् । पहिलेकै गठबन्धन फिर्ता ल्याउका लागि कांग्रेसमात्रै नभएर भारत तथा अमेरिकाका उच्च अधिकारीहरूले निरन्तर पहलमा छन् ।

गठबन्धनभित्रको विवादमा पनि ओलीले रास्वपा र राप्रपाको पक्षमा ढल्किएका छन् । तर, प्रधानमन्त्री प्रचण्ड रास्वपा र राप्रपासँगको विवाद बढ्दै गइरहेपनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपासँग सम्बन्ध विस्तारमा लागेका छन् ।

त्यही विषयमा छलफल गर्न बिहीबार नेकपा एसका उपमहासचिव विजय पौडेल पेरिसडाँडा पुगेका थिए भने, शुक्रबार माधव नेपालसँग माओवादीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको छलफल भएको थियो ।

उता उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीले संयन्त्रको बैठक राखेर रास्वपाको अडानका बारेमा छलफल गरौं भन्दा पनि प्रचण्डले नमान्नुबाट उनी पुरानै गठबन्धनमा फर्किन चाहेको संकेतसमेत मिलेको छ ।

कांग्रेसको ढोक्सा !

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि बाहिरिने क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका थिए, ‘गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्सन गर्ने उद्देश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको संकटलाई टार्ने एउटा प्रयास गरेका छौं ।’

माओवादीलाई रिझाउन कांग्रेसले अहिले त्यहीअनुसारको कदम चालिरहेको छ । कांग्रेसले संघदेखि प्रदेशसम्मका केही पदमा बाहेक माओवादीसँग प्रतिस्पर्धा गरेको छैन । एमालेसँग सबै ठाउँमा प्रतिस्पर्धा गरेको कांग्रेसले माओवादीका लागि ‘वाकओभर’ दिइरहेको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनमा एमाले र रास्वपाविरुद्ध उम्मेदवारी खडा गरेको कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिएन । विपक्षी गठबन्धनका दलहरूसँगको छलफलमा नै आफूहरूले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘हामीले विपक्षी कित्ताको सबै दलहरूसँग छलफल गर्‍यौं । त्यहीअनुसार हामीले विश्लेषण गरेर उम्मेदवारी नदिने निर्णय गरेको हौं ।’

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई मात्रै नभएर माओवादीबाट मुख्यमन्त्री बनेका वागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र जसपाबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका सरोजकुमार यादवलाई पनि विश्वासको मत दिएर प्रतिपक्षमा बसेको छ ।

यस्तै, माओवादीबाट सभामुख पाएको प्रदेश १ र लुम्बिनी प्रदेशमा उम्मेदवारी नै दिएन भने एमाले र राप्रपाको भागमा परेको प्रदेशमा उम्मेदवार खडा गरेको छ ।

प्रचण्डसँग कांग्रेसको आश

प्रचण्डलाई विश्वासको मत दिएर सहयोग गरेको कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा सहयोग पाउने अपेक्षा गरेको छ । देउवानिकट एक नेताले भने, ‘हामीले अहिलेसम्म प्रचण्डजीलाई सहयोग गरेका छौं । राष्ट्रपतिको निर्वाचनमा हामीले त्यहीअनुसारको सहयोग पाउने अपेक्षा गरेका छौं । त्यसका लागि आन्तरिक छलफल भइरहेको छ ।’

प्रचण्ड र ओलीको सहकार्यमा एक महिनामै खटपट देखिसकेकाले राष्ट्रपतिको निर्वाचनसम्म नतिजा आफ्नो पक्षमा आउने ती नेताले दाबी गरे ।

‘उहाँहरू (ओली र प्रचण्ड) बीच विभिन्न विषयमा मतभेद भएको कुराहरू सार्वजनिकरूपमा आइरहेका छन् । राष्ट्रपतिको निर्वाचन आउन अझै एक महिनाभन्दा धेरै बाँकी छ । हामीले परिस्थिति फेरिने आँकलन गरेर नै लागेका हौं’, ती नेताले दाबी गर्दै भने ।

तर, माओवादी केन्द्रका सचिव डिलाराम आचार्य राष्ट्रिय सहमति गर्ने माओवादीको निर्णयले गठबन्धनमा कुनै समस्या नपार्ने दाबी गर्छन् ।

उनी भन्छन्, ‘राष्ट्रपतिको विषयलाई लिएर गठबन्धन तलमाथि हुन्छ जस्तो लाग्दैन । केही दिन तिक्तता हुनसक्ला । तर, राष्ट्रपतिमा आफूले चाहेको पात्र छान्न नसकेको कारणले एमालेले अन्यथा निर्णय गरेर सरकारबाट बाहिर जाने वा अन्य पार्टी जाने या माओवादीले पनि त्यस्तो निर्णय गर्ने म देख्दिनँ ।’

उनले राष्ट्रपतिको निर्वाचनलाई केन्द्रित गरेर कांग्रेस, एमालेसहितसबै दलहरुसँग छलफल भइरहेको बताए ।

उनले भने, ‘संवाद र बोली बाराबारको तहमा त नेपालको राजनीति कहिले पनि जान्न नि ! अप्ठ्यारा संघर्षको बीचमा पनि वार्ता, भेटघाट चलिरहने कुरा हो । त्यो कांग्रेससँग पनि चलिरहेको छ । अहिले एमालेसहितको गठबन्धनमा छौं । देशको राजनीतिक परिस्थितिको विषयमा सबै राजनीतिक दलहरुसँग छलफल गरिरहेका छौं ।’

तर, कांग्रेसप्रति नेकपा एमाले आक्रोशित बनेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा फाइदा उठाउन खोजेको भन्दै एमाले अध्यक्ष ओलीले आक्रोश पोखेका छन् ।

प्रधानमन्त्री तथा राष्ट्रपति पदमा आफ्नोबाहेक अरूको नेतृत्वलाई स्वीकार गर्न नसकेर प्रतिपक्षमा पुगेको कांग्रेसले सरकार गठन भइसकेपछि सरकारलाई हठात् विश्वासको मत दिएको उनको दाबी छ ।

उनले भने, ‘कांग्रेस हो उसले सरकारलाई विश्वास गरेको मान्न सकिँदैन । मैले त्यतिबेलै भनेको थिएँ, मतदान गरेको भए त ठिकै हो तर ढोक्सा थापेको हो भने गलत हो । ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा मार्ने प्रयास गरिन्छ । बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फर्कियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा खिचोला गर्ने उसको उद्देश्य देखिन्छ ।’

चुनावअघिकै गठबन्धन ब्युँताउन माओवादीभित्र उपाध्यक्ष कृष्णबहादुर महरासहित अग्नि सापकोटा, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणी पोखरेलगायतका नेताहरू सक्रिय छन् । भने, कांग्रेस पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, रमेश लेखकलगायतका नेताहरू माओवादीसँग संवादमा छन् ।

कांग्रेसले आफ्नोतर्फबाट माओवादीलाई दिनेजति सबै दिइसकेको छ । राष्ट्रियसभा उपाध्यक्षपछि उसको अब दिने ठाउँ लगभग छैन । प्रधानमन्त्री नदिएका कारण गुमेको सत्ता पुनःप्राप्त गर्न कांग्रेस गृहमन्त्रालय पाए पनि सरकारमा जान तयार रहेको शशांक कोइरालाले बताइसकेका छन् ।

प्रचण्डले पनि केपी ओली, रवि लामिछाने र राजेन्द्र लिङदेनहरूसँग सहज महसुस नगरेका कारण राष्ट्रपति चुनावसम्म उनी आफूतिर आउने अपेक्षा कांग्रेसको छ । प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउन सबैभन्दा बढी माधव नेपाल र बाबुराम भट्टराईलगायत नेता सक्रिय छन् ।

प्रधानमन्त्री प्रचण्डलाई अहिलेकै सत्तागठबन्धन जोगाएर जाने वा कांग्रेसलाई लिएर एमालेलगायतका दललाई बाहिर पठाउने ? दुवै विकल्प खुला छन् । यद्यपि उनको विश्वसनीयता र माओवादी पार्टीको भविष्यलाई समेत विचार गरेर निर्णय लिने नेताहरू बताउँछन् ।

तथापी कांग्रेस आफूबाट हाइज्याकमा परेका प्रचण्डलाई केपी ओलीबाट मुक्त गर्न राजनीतिक फिरौती बुझाउनसमेत तयार देखिन्छ । यदि प्रचण्डले पुनः ठाउँसारी गरे भने एमालेको भागमा केन्द्र र प्रदेशका सभामुखमात्र बाँकी रहन सक्छन् ।


प्रतिक्रिया

One thought on “माओवादी रिझाउने कांग्रेसको ‘अन्तिम पारी’- प्रचण्डले गर्लान् ठाउँसारी ?

  1. नेपाली कांग्रेसले माओवादीलाई विश्वासको मत दिएको छैन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर