पोखराका मुख्य बजार क्षेत्रमा पार्किङ निषेध, कार्यान्वयन चुनौती – Nepal Press

पोखराका मुख्य बजार क्षेत्रमा पार्किङ निषेध, कार्यान्वयन चुनौती

पोखरा । काठमाडौंमा दरबारमार्ग लगायत मुख्य व्यापारी केन्द्रका सडकमा पार्किङ निषेध भएपछि व्यापार ओरालो लागेको भन्दै व्यापारीहरूले गुनासो गरिरहेका छन् । व्यवसाय ‘नो पार्किङ’ को विपक्षीमा निस्किएका छन् । यता पोखराको सबैभन्दा चल्तीको बजार महेन्द्र पुलका सडकमा पार्किङ निषेधको उर्दी पोखरा महानगरले गरेको छ ।

पोखराका मुख्य चोक र व्यापारिक बजारका सडक किनारमा पार्किङ निषेध गर्ने निर्णय महानगरपालिकाको यातायात व्यवस्थापन समितिले सोमबार गरेपछि यसको पक्ष र विपक्षमा देखिएका छन् ।

महानगरले मुख्य शहरी क्षेत्रको पृथ्वी चोक–सभागृह चोक, न्यूरोड, बीपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँ बजार र पृथ्वी चोक सडकखण्डमा माघ २३ देखि पूर्ण रूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो । बजारका मुख्य सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत असर भएकाले आउँदो माघ २३ गतेदेखि पार्किङ निषेध गरेको महानगरले जनाएको छ ।

उक्त स्थानको सडक क्षेत्रमा पूर्ण रूपमा पार्किङ निषेध गरिएको हुँदा तोकिएको क्षेत्रहरूमा मात्र पार्किङ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालाहरूमा महानगरले सार्वजनिक सूचना जारी गरेको छ । ‘सूचनाको अवज्ञा गरी निषेधित क्षेत्रमा पार्किङ गरेमा नियमानुसार हुने ब्यहोरा अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

‘अन्डरग्राउन्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्म्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेबापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ । ‘ती स्थानमा पार्किङ बापत महानगरपालिकाले तोकेको शुल्कभन्दा बढी शुल्क लिन पाइने छैन,’ महानगरले भनेको छ ।

महानगरले भनेको झैँ ती व्यस्त बजारका छेउछाउमा पार्किङ निषेध गर्ने निर्णय कार्यान्वयन गर्न पक्कै सहज हुने छैन । महानगर आफैमा नै पर्याप्त पार्किङ नहुँदा व्यस्त बजारका सडक छेउमा पार्किङ निषेध तत्कालै कार्यान्वयन गर्न महानगरलाई ठूलो चुनौती रहेको स्थानीय बताउँछन् ।

तत्काल महानगरको सडक छेउमा पार्किङ निषेध गर्ने निर्णय कार्यान्वयन गर्न असम्भव रहेको मुनाल स्टोर्सका सञ्चालक मोती भुजेलले बताए । ‘तोकिएको क्षेत्रमा तत्काल अन्डरग्राउन्ड छैनन्, अत्यधिक बजार क्षेत्र छन्, त्यसैले तत्कालै यो सम्भव देखिँदैन,’ उनले भने, ‘महानगरपालिकाको कर तिर्न जाँदा महानगरपालिकामा पार्किङ छैन । अनि कसरी यो सम्भव होला र ।’ दीर्घकालीन रूपमा सोचेर अगाडि बढ्नुपर्ने भुजेलको भनाइ छ ।

पार्किङ अव्यवस्थित तथा गाडी आगमन असुविधा भएकाले यसलाई व्यवस्थापन गर्न सडक छेउछाउमा पार्किङ बन्द गर्न लागिएको महानगरका प्रवक्ता वडा नं. २५ का वडाध्यक्ष मोलिलाल तिमिल्सिनाले बताए । ‘पार्किङ अव्यवस्थित भयो र गाडीहरू आगमनमा पनि असुविधा भयो, र यसले सौन्दर्यीरणलाई पनि विगार्‍यो । त्यसैले यसलाई व्यवस्था गर्नका लागि महानगरले यी एरियामा पार्किङ बन्द गर्ने निर्णय गरेको हो,’ प्रवक्ता तिमिल्सिनाले भने ।

ती क्षेत्रमा करिब ३० वटा जति अन्डरग्राउण्ड रहेको महानगरको तथ्याङ्क छ । महानगरले सडक छेउछाउका विकल्पको रूपमा अन्डरग्राउण्ड पार्किङलाई  प्रयोग गर्ने प्रवक्ता तिमिल्सिनाले बताए । ‘यसको विकल्प भनेको अन्डरग्राउण्डका घर पार्किङका लागि प्रयोग गर्ने भएको छ । खाली पनि गराइसकेको अवस्था पनि छ,’ उनले भने, ‘सडक छेउछाउमा भएका अन्डरग्राउण्ड पार्किङका लागि प्रयोग हुन्छ ।’

ती क्षेत्र रहेका खाली निजी जग्गाहरू पनि महानगरले तोकेको शुल्क उठाएर पार्किङकै रूपमा प्रयोग गर्नुपर्ने तिमिल्सिनाले सुनाए । ‘अरू खाली निजी जग्गाहरू पनि यो पार्किङको लागि दिनपर्ने कार्यविधि बनेको छ । त्यो चाहिँ महानगरले तोकेको शुल्क लिएर मापदण्डभित्र रहेर पार्किङ शुल्क उठाउन पाउने बन्दोबस्त गरेको छ । प्रदर्शनी केन्द्रको केही ठाउँ तोकेर त्यो ठाउँमा पनि पार्किङ गर्ने व्यवस्थापन गर्ने भन्ने छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *