छाेराछाेरीलाई कस्ताे विद्यालयमा पढाउने ? यस्तो छ विज्ञको सुझाव – Nepal Press

छाेराछाेरीलाई कस्ताे विद्यालयमा पढाउने ? यस्तो छ विज्ञको सुझाव

काठमाडौं । तपाईंका सन्तान विद्यालय जाने उमेरका भए ? अथवा उनीहरुको विद्यालय छनोटप्रति सन्तुष्ट हुनुहुन्न ? त्यसो हो भने आफ्ना बालबालिकाहरुका लागि कसरी उपयुक्त विद्यालय छनोट गर्ने त ? आम अभिभावकहरु यस विषयमा चिन्तित हुन्छन् । विद्यालयले आफ्ना बालबालिकालाई असल शिक्षा दिने मात्र होइन जीवनका हरेक अवस्थामा तयार गराउन सक्नुपर्छ । जसका लागि विद्यालयका केही आधारभूत विषयहरुमा ध्यान दिन आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

बाल विकास विशेषज्ञ एवम् लेखक साुन अमात्यका अनुसार बालबालिकाको सर्वांगीण विकासका लागि सही विद्यालय छनोट अपरिहार्य रहेकाे छ । स्मार्ट प्यारेन्टिङ्ग नेपालले ‘बालबालिकाका लागि सही र उपयुक्त विद्यालय कसरी छनौट गर्ने ?’ भन्ने विषयमा प्रशिक्षण दिँदै अमात्यले विद्यालय एउटा समाज हो जहाँ बालबालिकाको इच्छा, क्षमता र वुद्धिअनुसार भविष्यमा आत्मनिर्भर, इमान्दारिताका साथ पूर्ण मानवका लागि शीप, ज्ञान र व्यवहारको अभ्यास गरिने स्थान भएको बताइन् ।

शनिबार भर्चुअल माध्यममा सम्पन्न कार्यक्रममा आफ्ना अनुभवहरु प्रस्तुत गर्दै उनले बालबालिकाको सर्वांगीण विकास अनि उज्ज्वल भविष्यको लागि सही विद्यालय छनौट गर्न जन्म दिने अभिभावकहरु सचेत हुन नितान्त आवश्यक रहेकोमा जाेड दिइन् । ‘तर विडम्बनाको कुरा अधिकांश अभिभावकहरु विद्यालय छनौटमा अझै अन्योलको अवस्थामा रहेको पाइन्छ’, उनले चिन्ता व्यक्त गरिन् ।

अभिभावकहरुले आफ्ना नानीबाबुका लागि विद्यालय छनौट गर्दा मूलत तीन वटा कुरालाई ध्यान दिनुपर्ने अमात्यको सुझाव छ । उनी भन्छिन्, ‘विद्यालय छनोटका लागि तीन वटा ‘व’ अर्थात व्यवहार, वातावरण र व्यवस्थापनलाई ध्यान दिनुपर्छ ।’

विद्यालयका शिक्षक, कर्मचारीहरु तथा संलग्न व्यक्तिहरुको व्यवहार कस्तो छ ? उनीहरुमा बाल मनोविज्ञान र पाठ्यक्रमको अवधारणा छ कि छैन भन्ने कुरा अभिभावकहरुले बुझ्नु जरुरी रहेको उनको भनाइ छ ।

त्यस्तै, विद्यालयको वातावरण बालमैत्री भए नभएको अनि सफा, स्वच्छ अनि सुरक्षित छ कि छैन भनेर निरीक्षण गर्नुका साथै विद्यालयको व्यवस्थापनको लक्ष्य, उद्देश्य र दुरदृष्टिबारे जानकारी हासिल गर्नु पनि उतिकै महत्वपूर्ण भएको अमात्य बताउँछिन् ।

त्यस्तै, विद्यालय व्यवस्थापनमा दक्ष र सक्षम व्यक्तिहरु छन् कि छैनन् भन्नेबारे पनि जानकारी राख्नु पर्ने अभिभावकलाई उनको सुझाव छ ।

‘एउटा डाक्टरको गल्तीले एउटा बिरामी मर्न सक्छ तर एउटा विद्यालयको लापरवाहीले विद्यार्थीको मात्र नभइ सिङ्गो समुदाय नै बर्बाद हुन सक्छ’, अमात्य भन्छिन्, ‘त्यसैले, अभिभावकहरु विद्यालय छनौटको लागि संवेदनशील, सचेत र सक्रिय हुनुपर्छ ।’

बालबालिकाको विकासमा योगदान दिने उद्देश्यसहित स्मार्ट प्यारेन्टिङ नेपालले मासिकरुपमा अभिभावकहरुलाई आवश्यक अभिभावकीय सीप र कला विकासका लागि विभिन्न विषयमा भर्चुअल कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

अभिभावकहरुको संजाल एसपीएन नेटवर्कको अवधारणा पनि विकास गरेको स्मार्ट प्यारेन्टिङले अभिभावकलाई आफ्ना सन्तानको पूर्ण विकासका निम्ति सहयोग पुर्याउन यस्ता कार्यक्रमहरु गर्ने गरिएको संस्थाकी सहसंस्थापक सुनिता नापित बताउँछिन् । मनोविज्ञानले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यसका व्यवहारिक ज्ञानलाई विभिन्न माध्यमद्वारा पस्किन स्मार्ट प्यारेन्टिङ अघि सरेको उनको भनाइ छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर