बहुदलपछि राप्रपा छिरेका लिङ्देन कम्युनिष्ट नेतृत्वको प्रचण्ड सरकारमा बने उपप्रधानमन्त्री – Nepal Press

बहुदलपछि राप्रपा छिरेका लिङ्देन कम्युनिष्ट नेतृत्वको प्रचण्ड सरकारमा बने उपप्रधानमन्त्री

काठमाडौं । १० वर्षे माओवादी जनयुद्ध र बृहत जनआन्दोलनपछि आएको गणतन्त्रमा पनि राजसंस्था पुनःस्थापना र हिन्दु अधिराज्यलाई आफ्नो मुख्य एजेन्डा बनाएर कमजोर बनिसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीको मुहार फेरेका राजेन्द्र लिङ्देनको सत्ता यात्रा सुरु भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रलगायत कम्युनिस्ट शक्ति मिलेर बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई राप्रपाले सुरुमा समर्थनमात्र गर्ने बताएको थियो । प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्न अचानक बनेको गठबन्धन बैठकमा स्वयं लिङ्देन पनि सहभागी थिए । तर, प्रचण्ड सरकारले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद्का रिक्त स्थानमा राप्रपाले पनि हात उठाएको थियो ।

लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा सहभागी भएको छ । लिङ्देनलाई उपप्रधानसहित ऊर्जामन्त्री दिइएको छ । राप्रपाका अन्य दुई सांसद ध्रुवबहादुर प्रधानले कानून मन्त्रालय र विक्रम पाण्डेले शहरी विकास मन्त्रालय पाएका छन् । बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्मा तीनवटा मन्त्रालय पाउनु राप्रपाका लागि सामान्य उपलब्धि होइन ।

‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्निपरीक्षामा होमिने निर्णयमा पुगें जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु । धैर्य र सहयोगका लागि अपिल गर्दछु’, मन्त्रीको शपथ लिनुअघि लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन् ।

राजसंस्थालाई पक्षपोषण गर्ने परिवारमा हुर्किएका लिङ्देन २०४५ सालमा झापाको मेची क्याम्पसमा भएको विद्यार्थी युनियनको निर्वाचनमा पञ्चायत समर्थक विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी मण्डलका तर्फबाट उम्मेदवार बने पनि पराजित भएका थिए ।

पञ्चायतलाई नै समर्थन गरेबापत आफ्ना बुबा गाउँपालिका अध्यक्ष बनेको देखेका लिङ्देन राप्रपाले २०४९ सालमा बनाएको विद्यार्थी संगठनका पहिलो अध्यक्ष हुन् । त्यसपछि उनी झापाको गोल्धापमा वडाध्यक्ष पनि निर्वाचित भएका थिए । जनुयुद्ध सुरु भएपछि उनको परिवार विर्तामोड बसाइ सरेको थियो ।

मा‌ओवादीले गोल्धापमा रहेको उनको घर जलायो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि लिङ्देनलाई झापा जिल्ला विकास समिति सभापति बनाइएको थियो । कमल थापासहित राप्रपाका तत्कालीन पदाधिकारी राजाको प्रत्यक्ष शासनकालमा मन्त्री बने।

ज्ञानेन्द्र शासनविरुद्ध भएको २०६२/६३ को जनआन्दोलनमा मन्डले भएकै कारण लिङ्देनलाई कालोमोसो दलिएको थियो । राजा फ्याँकेर भएको पहिलो संविधानसभा निर्वाचनमा राजसंस्था पक्षधरहरु पत्तासाप जस्तै भए पनि लिङ्देन आफ्नो एजेन्डाबाट पछि हटेनन् ।

संविधान जारी भएपछि २०७४ मा भएको पहिलो आम निर्वाचनमा कांग्रेस र एमालेको बलियो प्रभाव रहेको झापाबाट उनी निर्वाचित भए । एमालेको साथ पाएका लिङ्देनले कांग्रेसका कृष्ण सिटौलालाई हराएर संसदीय यात्रा सुरु गरेका थिए । स्थानीय निर्वाचनमा पनि राप्रपाले झापाका तीन पालिका जितेको थियो ।

दुई वर्षअघि राप्रपाको केन्द्रीय महाधिवेशनले लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेपछि मन्डले पक्षधरले पञ्चायती व्यवस्था अन्त्य भएपछि राजनीति सुरु गरेकालाई नेतृत्वका रुपमा पाएको थियो । मंसिरमा सम्पन्न संघीय निर्वाचनअघि लिङ्देनले कुनै समय वैकल्पिक शक्तिको वकालत गरेका रवीन्द्र मिश्र र सामाजिक अभियन्ताका रुपमा अघि आएका ज्ञानेन्द्र शाहीलाई पार्टीमा भित्र्याएका थिए ।

लिङ्देनले गएको मंसिर ४ गते भएको निर्वाचनमा फेरि कृष्ण सिटौलालाई हराए । ज्ञानेन्द्र शाही पनि जुम्लाबाट निर्वाचित भएर संसदीय राजनीतिमा प्रवेश गरे । मिश्र भने काठमाडौंमा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भए ।

प्रत्यक्षतर्फ ७ सीट जितेको राप्रपा समग्रमा पाँचौं ठूलो दल बन्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । राप्रपाले समानुपातिकतर्फ ५ लाख ८८ हजार ८४९ मत पाएको थियो । पार्टीलाई बलियो स्थितिमा ल्याइपुर्‍याएका लिङ्देनको अबको परीक्षण सत्ताबाट हुनेछ ।

एक वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटनमा लिङ्देनले प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवासामु जनताले नेतालाई ‘चोर’ भन्न थालेका छन् भन्दै भाषण गरेर सामाजिक सञ्जालमा छाएका थिए । स्पष्ट वक्ता र शालिन व्यक्तित्वका लिङ्देनले भनेका थिए, ‘पहिले गाउँमा जाँदा कुन नेता आउनुभएको छ भन्ने गरिन्थ्यो । अहिले कुन चोर आएछ भन्ने गरेका छन् । सरकार सरकारजस्तो छैन, संसद संसदजस्तो छैन, अदालत अदालतजस्तो छैन । यो सबलाई ठीक बनाउने राजनीति पनि ठीक छैन । राजनीतिलाई ठीक बनाउने नेताले पनि विश्वास गुमाएका छन् ।’

त्यतिवेला प्रचण्डलगायतका नेताको भाषण लिङ्देनको उक्त भनाइलाई प्रतिवाद गर्नमै सकिएको थियो । त्यसो त जनताले अस्वीकृत गरिसकेको र फर्कन निकै कठिन रहेको व्यवस्थाको वकालत गरिरहेको पार्टीका अध्यक्ष गणतन्त्र पक्षधर नेता र नेतृत्वसामु आत्मविश्वाससाथ प्रस्तुत भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर