बीबीएस परीक्षाको एक वर्षपछि विद्यार्थीलाई सूचना- रिजल्ट लिन होइन पुनः जाँच दिन आउनू – Nepal Press

बीबीएस परीक्षाको एक वर्षपछि विद्यार्थीलाई सूचना- रिजल्ट लिन होइन पुनः जाँच दिन आउनू

रोकिएन त्रिविको लापरवाही– परीक्षकले उत्तरपुस्तिका हराउँदा दमक क्याम्पसका २ सय विद्यार्थीको शैक्षिक भविष्य १ वर्ष नोक्सान

काठमाडौं । गत माघमा बीबीएस चौथो वर्षको परीक्षा भएको थियो । तर, परीक्षा दिएको १ वर्षसम्म पनि रिजल्ट प्रकाशित भएको छैन ।

त्रिविले आफ्नो भविष्यमाथि खेलबाड गरेको भन्दै जतिसक्दो चाँडो नतिजा सार्वजनिक गर्न नतिजा कुरिरहेका विद्यार्थीहरुले सामाजिक सञ्जालहरुमार्फत दिनहुँजसो आग्रह गरिरहेका छन् । नतिजा नआएर तनाव झेलिरहेका झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुमाथि अर्को बज्रपात परेको छ । अन्य विद्यार्थीहरु जस्तै उनीहरु पनि गत वर्ष सम्पन्न बीबीएस चौथो वर्षको रिजल्ट कुरेर बसेका थिए ।

तर, उनीहरुले नतिजा पाउने वेलामा उल्टै फेरि परीक्षा दिनुपर्ने भएको छ । बिहीबार दमक क्याम्पसले बीबीएस चौथो वर्षको परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई २४ गते अर्थात आइतबार रिसर्च मेथोडोलोजी विषयको पुनः परीक्षा दिन सूचना जारी गरेको छ ।

सामान्यतया परीक्षा दिएको ६ महिनाभित्र रिजल्ट आउनुपर्ने थियो । तर, त्रिवि एक वर्षसम्म नतिजा सार्वजनिक गर्न नसकेको वेला उल्टै पुनः परीक्षा दिन भनेपछि विद्यार्थी तनावमा छन् ।

विद्यार्थीहरुलाई एसएमएसमार्फत पठाइएको सूचनामा भनिएको छ, ‘त्रिबिबाट २०७८ मा सञ्चालन भएको बीबीएस चौथो वर्षको सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्मका परीक्षार्थीहरुको रिसर्च मेथोडोलोजी विषयको परीक्षा मिति २०७९/०९/२४ गते बिहान ८ बजेदेखि पुनः परीक्षा हुने भएकाले दमक क्याम्पस परीक्षा केन्द्रमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ ।’

रिसर्च मेथोडोलोजी विषयको पुनः परीक्षा दिनुपर्ने सूचना पाएपछि दमक क्याम्पसका २०० बढी विद्यार्थी आक्रोशित छन् । उनीहरुले किन पुनः परीक्षा दिनुपर्ने हो कुनै कारण खुलाइएको छैन । सूचना दिने क्याम्पसले पनि केही खुलाएको छैन ।

क्याम्पसबाट परीक्षामा आउनु भन्नेमात्र जानकारी दिइयो यसअघि परीक्षा दिएको के भनेर क्याम्पसलाई प्रश्न सोध्दा हामीलाई पनि थाहा छैन भन्ने जवाफ दिएको दमक क्याम्पसका विद्यार्थी  सविना क्षेत्रीले नेपाल प्रेसलाई बताइन् ।

उनले भनिन्, ‘एक वर्षअघि दिएको परीक्षाको रिजल्ट कुरेर बसेका थियौं । अब रिजल्ट आउँछ होला भनेको बेला ३ दिनमा परीक्षा दिनु भन्दै सन्देश पठाइएको छ । म त म्यासेज देखेर एकछिन छाँगाबाट खसेजस्तै भएँ । कतै फेक म्यासेज हो कि भनेर साथीहरुलाई नि सोधें, उनीहरुलाई पनि यस्तै म्यासेज आएको छ । म त के गर्ने के नगर्ने दोधारमा छु ।’

कलेजमा बुझ्दा परीक्षा नियन्त्रण कार्यालयले नै परीक्षा लिनु भनेर आएको भन्ने जवाफ पाएको उनले बताइन् । के कारणले फेरि परीक्षा दिनुपर्ने भन्ने कारण नै नखुलाइएकोमा उनी आक्रोशित छन् ।

उनीमात्र होइन अहिले दमक क्याम्पसमा बीबीएस चौथो वर्षको परीक्षा दिइसकेर पनि फेरि परीक्षा दिनुपर्ने अधिकांश विद्यार्थीहरु आक्रोशित छन् । यसअघि परीक्षा दिएर बसेका विद्यार्थीहरु कता छन् ? क्याम्पसलाई जानकारी छैन । परीक्षाको तयारी गर्नसमेत समय पर्याप्त छैन ।

त्रिविप्रति झनै वितृष्णा बढ्यो

एकातिर समयमै परीक्षाफल प्रकाशित नगर्ने त्रिभुवन विश्वविद्यालयले उल्टै परीक्षार्थीको उत्तरपुस्तिकामाथि खेलवाड गरेर पुनः परीक्षा दिनुपर्ने अवस्था सिर्जना गरेपछि विद्यार्थीहरु त्रिविप्रति आक्रोशित भएका छन् । त्रिविको लापरबाहीले विद्यार्थीको शैक्षिक भविष्यमै प्रश्न चिह्न लागेको छ । पीडित विद्यार्थीहरुले त्रिविको यस किसिमको लापरवाही र आफूहरुको भविष्यमाथि खेलबाड गरेकोविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

त्रिविप्रति आक्रोशित विद्यार्थी किशोर खनाल भन्छन्, ‘उत्तर पुस्तिका जाँच्ने प्रोफेसर/प्राध्यापक भनाउँदाहरु विभिन्न देश/विदेशमा घुम्न जाँदा हुन् । अनि घरमा, कलेजमा थुपारेका पेपरहरू मुसाले खाइदिँदा/हराउँदा नभेटिएपछिको गैरजिम्मेवारीपनको पराकाष्ठास्वरूप सूचना हालियो ।’

अर्का विद्यार्थी रमेश तिम्सिनाले लापरबाहीको हद भएको गुनासो गरे । उनले भने, ‘यहाँभन्दा ठूलो लापरबाही अरु केही हुन्छ ? राज्य, नीति, नियम कहाँ के गर्दैछ ? अलिकति लाज त मान्नुपर्ने हो ।’

यस्ता लापरवाहीले गर्दा विद्यार्थीहरुमा त्रिविप्रति नै वितृष्णा बढेको छ । त्रिविमा पढेर पछुतो भएको उनीहरुको भनाइ छ । त्रिविको ढिलासुस्ती र लापरबाहीले परीक्षाफल ढिलो गरी प्रकाशन हुन्छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले १ वर्षअघि दमक क्याम्पसमा सञ्चालित बीबीएस चौथो वर्षअन्तर्गत रिसर्च मेथोडोलोजीको विषयको पुनः परीक्षा गराउने निर्णयको विद्यार्थी नेताहरुले आपत्ति जनाएका छन् ।

साथै घटनासँग सम्बन्धित दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै उनीहरुले विद्यार्थीको भविष्यमाथि बारम्बार खेलवाड नगर्न त्रिविको परीक्षा सञ्चालन गर्ने नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् ।

दमक क्याम्पस भन्छ- किन पुनः परीक्षा लिनू भनेको हो, जानकारी छैन

परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट आएको सूचनाबाट दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नेत्रबहादुर बुढाथोकी आफैं चकित छन् । एक वर्षअघि नै सबै प्रक्रिया पूरा गरेर परीक्षाको उत्तरपुस्तिका पठाएको दमक क्याम्पसले बताएको छ ।

रिजल्ट आउला भनेर बसेको वेला उल्टै परीक्षाको लागि व्यवस्थापन गरिदिन परीक्षा नियन्त्रण कार्यालयबाट खबर आएपछि दुःख लागेको प्रमुख बुढाथोकीले बताए ।

‘हामीलाई परीक्षा नियन्त्रण कार्यालयले यति नम्बरदेखि यति नम्बरसम्मको उत्तरपुस्तिकाको जाँच दिने विद्यार्थीहरुको पुनः परीक्षा गराउनुपर्ने भयो । त्यसको व्यवस्थापन गरिदिनुस् भन्नुभयो’, उनले भने, ‘कुरा त्यति हो । अरु सबै कुराहरु उहाँहरुले गर्ने हो ।’

उनका अनुसार उत्तरपुस्तिका सबै केन्द्रमा जाँच हुन्छ । किन दोहोर्‍याएर परीक्षा गराउन लागेको हो भन्नेबारे परीक्षा नियन्त्रण कार्यालयले नखुलाएको उनले दाबी गरे । पुनः परीक्षा दिनुपर्ने कारण पनिकामै बुझ्नुपर्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘परीक्षा नियन्त्रण कार्यालयले त्यस्तो परीक्षा गराउँदा उसले शंका लागेको केन्द्रहरुमा पुनः परीक्षा गराउने प्रावधान छ । त्यहीअनुसार परीक्षा गराउन लागेको होला । अब त्यसको कारण चाहिँ उहाँहरुले नै जान्नुहोला ।’

परीक्षा गराउने भनेर विद्यार्थीलाई खबर गरिदिनु भनेकाले खबर गरेको उनले जानकारी दिए ।
क्याम्पस प्रमुख बुढाथोकी भन्छन्, ‘लगभग २ सय विद्यार्थीले एक वर्षपछि रिजल्ट आउने वेलामा पुनः जाँच दिनुपर्ने भयो । हामीले यतिदेखि यति विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने भएकाले सूचना जारी गरेका छौं ।’

पहिला परीक्षा दिएका विद्यार्थीहरु को को कहाँ कहाँ पुगिसके परीक्षा सम्भव हुँदैन भनेर पनिकालाई जानकारीसमेत गराएको बुढाथोकीले बताए ।

उनी भन्छन्, ‘त्यो सम्भव हुँदैन भन्दा उहाँहरुले होइन तपाईंहरुले लिइदिनुपर्छ भन्नुभयो । हामीले के भन्न सक्छौं र हुन्छ भन्यौं । जति विद्यार्थी आउँछन्, त्यतिको परीक्षा लिन्छौं, पठाइदिन्छौं ।’

उनका अनुसार दोहोर्‍याएर परीक्षा दिनपरेपछि विद्यार्थीहरु क्याम्पसमा आएर आक्रोश व्यक्त गर्ने गरेका छन् । ‘हामीलाई त गाह्रो छ विद्यार्थीले घेरेर ‘हामी दुईपल्ट जाँच दिन्नौं’ भनिराखेका छन् ।’

उत्तरपुस्तिका हरायो : पनिका

परीक्षा नियन्त्रण कार्यालयले दमक बहुमुखी क्याम्पसको मात्रै उत्तरपुस्तिका हराएकाले पुनः परीक्षा गराउन लागेको स्पष्टीकरण दिएको छ । पनिकाका सहनियन्त्रक साधुराम अर्यालले दमक क्याम्पसका विद्यार्थीको एउटा विषयको उत्तरपुस्तिका हराएकाले पुनः परीक्षा गराउन लागेको जानकारी दिए ।

उनले नेपालप्रेससँग भने, ‘उत्तरपुस्तिका जाँच गर्ने वेलामा दमक क्याम्पसको उत्तरपुस्तिका भेटिएन । त्यही भएर एउटा विषयको परीक्षा गराउन लागेको हो ।’

उनले यस विषयमा सबै जानकारी दिन नमिल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *