विद्यार्थीमाथि त्रिविको भद्दा मजाक: स्नातकको रिजल्ट ननिकाली स्नातकोत्तरको भर्ना खुला – Nepal Press

विद्यार्थीमाथि त्रिविको भद्दा मजाक: स्नातकको रिजल्ट ननिकाली स्नातकोत्तरको भर्ना खुला

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंगलबार एउटा सूचना प्रकाशित गर्‍यो । त्रिविका विविध संकायअन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०७९/०८० का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरमा नयाँ भर्ना खुलेको सूचनामा उल्लेख थियो ।

त्रिविले प्रकाशित गरेको सूचनामा स्नातकोत्तर प्रथम सेमेस्टरमा भर्ना हुन आवेदन फारम बुझाउने म्याद पुस ६ देखि माघ ५ गतेसम्म तोकिएको छ । प्रवेश परीक्षाका लागि भने सम्बन्धित डिनको कार्यालयले निर्धारण गरेअनुसार हुने भनिएको छ । कक्षा सञ्चालन माघ २२ गतेदेखि हुने सूचनामा उल्लेख छ । शिक्षाध्यक्षको कार्यालयबाट प्रकाशित उक्त सूचनाले त्रिविको आफ्नै प्रणालीलाई गिज्याएको छ ।

सूचनामा प्रकाशित शैक्षिक तालिकाअनुसार विद्यार्थी भर्ना, कक्षा सञ्चालन र परीक्षा सञ्चालन गर्न-गराउन सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिइएको छ । जबकि त्रिवि आफैंले शैक्षिक तालिकाअनुसार परीक्षा गराउँदैन र समयमा नतिजा सार्वजनिक हुँदैन ।

त्रिविको यो सूचनाले स्नातक तह अन्तिम वर्षको नतिजा कुरिरहेका विद्यार्थीहरु अन्योलमा छन् । स्नातकको नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना खुलाएकोमा उनीहरु आक्रोशित छन् ।

त्रिविले गत वर्ष माघमा गराएको बीबीएस चौथो वर्षको नजिता अझै निकालेको छैन । परीक्षा भएको १ वर्ष बितिसक्दा पनि रिजल्ट नआएपछि विद्यार्थीहरु मारमा छन् । कोभिड १९ का कारण परीक्षा एक वर्ष ढिलो भएको थियो ।

त्यस्तै बीए तीन वर्षको अन्तिम परीक्षा गएको फागुनमा भएको थियो । तर, अझै नतिजा प्रकाशित भएको छैन । त्यसैगरी बीएड चार वर्षको र बीएस्सी चौथो वर्षको पनि नजिता आएको छैन ।

परीक्षा दिएको एक वर्ष बितिसक्दा पनि नतिजा सार्वजनिक नगर्ने र नतिजा नै नआई गैरजिम्मेवारीपूर्वक भर्ना खुलाउनुले विद्यार्थीको भविष्यप्रति त्रिविले भद्दा मजाक गरेको ठान्छन् विद्यार्थीहरु ।

नतिजा कुरिरहेकी अस्मिता ढकालले रिजल्ट र परीक्षा समयमा नहुने तर भर्नामात्र खोल्ने गरिएको भन्दै गुनासो पोखिन् । त्रिविले भर्ना खुला गर्नुअघि परीक्षाफल सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

अर्का विद्यार्थी विराज पोखरेल प्रश्न गर्छन्, ‘सूचना निकाल्नुअघि नतिजा निकाल्नुपर्ने होइन र ? विद्यार्थीहरु के आधारमा भर्ना गर्न जाने ?’

‘परीक्षा दिएको वर्ष दिनमा पनि नतिजा आउँदैन । ब्याचलर सकाएर कालो टोपी लगाउँ भनेको अर्को वर्ष कुर्नुपर्ने भयो’, स्नातकको अन्तिम नतिजा कुरिरहेकी भावना क्षेत्री गुनासो गर्छिन् । समयमा रिजल्ट नआउँदा आफू मानसिक रुपमा विक्षिप्त भएको उनले नेपालप्रेससँग गुनासो पोखिन् ।

तीन महिनाभित्र आउनुपर्ने रिजल्ट समयमै नआउँदा उनी केही दिनअघि सम्पन्न त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा सहभागी हुन पाइनन् । उनीभन्दा एक वर्षपछि विदेशी विश्वविद्यालयको सम्बन्धन लिएको कलेजमा भर्ना भएका साथी स्नातक तहको परीक्षा सकाएर दीक्षित भइसके । तर, आफू भने एक वर्षदेखि नतिजा कुरेर बस्नुपरेको उनी बताउँछिन् ।

नतिजा नआएकै कारणले भनेजस्तो जागीरसमेत नपाएको उनले सुनाइन् । ‘ममात्र होइन, मेरो परिवार पनि दिक्क मानिराख्नुभएको छ । न पढाइ पूरा भयो भनेर ढुक्कले बस्न पाइएको छ न त जागिर गर्न पाएको छु’, उनले भनिन् ।

यी विद्यार्थीहरुको तीन वर्षको स्नातक तह सक्न कोभिड र नतिजाको ढिलाइले चार वर्ष लागेको छ । अझै रिजल्ट आउने छाँटकाट छैन ।

त्रिविबाट परीक्षाफल प्रकाशन हुन ढिलाइ भएको यो पहिलोपटक होइन । यसअघि पनि स्नातक तहको नतिजा १५ महिनासम्म प्रकाशित भएन । चौतर्फी दबाबपछि प्रकाशित गरिएको थियो ।

विद्यार्थीमात्र होइन स्नातक र स्नातकोत्तर तह सञ्चालन गर्न सम्बन्धन प्राप्त गरेका क्याम्पसहरु पनि त्रिविको यो हर्कतले आजित छन् । स्नातक तह सञ्चालन गर्न सम्बन्धन पाएको काठमाडौंको जया मल्टिपल क्याम्पकका प्रमुख भवानी पौडेलले त्रिविले समयमा नतिजा ननिकाल्दा कक्षाहरु नै डामाडोल भएको बताए ।

उनले भने, ‘रिजल्ट नआउँदा नयाँ कक्षा सञ्चालन गर्न पाएका छैनौं । दुई-तीन वर्षका विद्यार्थी पास भएर माथिल्लो कक्षामा जान सकेका छैनन् ।’

पौडेलका अनुसार यसको असर अहिले स्नातक तहको नयाँ भर्नामा पनि देखिएको छ । अघिल्लो वर्ष पहिलो वर्षमा भर्ना भएकाहरुको अहिलेसम्म परीक्षा भएको छैन । उनीहरु अझै पहिलो वर्षमै पढिरहेका छन् ।

भर्खरै नयाँ भर्ना भएकाहरुको पनि पुसको पहिलो साता हुँदासमेत कक्षा सञ्चालन हुन सकेको छैन । यसअघि कक्षा १२ को नतिजा सार्वजनिक भएको एक महिनापछि अर्थात असोजको पहिलो साता नै स्नातक तहको कक्षा सुरु हुन्थ्यो ।

यसपटक भने अधिकांश कलेजमा पुसको पहिलो सातासम्म नयाँ कक्षा सञ्चालन नभएको क्याम्पस प्रमुख पौडेल बताउँछन् । अब झन् स्नातकको रिजल्ट प्रकाशनमा नहुँदै स्नातकोत्तरको भर्ना खोलेकाले शैक्षिक तालिका खल्बलिने उनको भनाइ छ ।

पनिकाको रेडिमेड जवाफ- जनशक्ति छैन

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुले रिजल्ट प्रकाशन गर्न नसक्नुको कारणमा जहिले पनि जनशक्ति अभावलाई देखाउने गरेको छ । नतिजा प्रकाशन गर्न उत्तरपुस्तिका जाँच्ने शिक्षकहरु कम रहेको भन्दै पनिका जिम्मेवारीबाट पन्छिँदै आएको छ ।

पनिकाका सहनियन्त्रक डा. घनश्याम ठाकुरले जनशक्ति कम भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको रेडिमेड जवाफ दिए ।

उनले भने, ‘सबैलाई थाहा भएकै कुरा हो हामीसँग जनशक्ति छैन । विद्यार्थी धेरै छन् । कपी जाँच्न समय लाग्छ । अब एउटै कुरा कति भन्नू ?’

यो त विद्यार्थीको भविष्यमाथि खेलवाड भएन र ? भन्ने नेपालप्रेसको प्रश्नमा उनले रिजल्ट आउँछ भन्दै टारे । स्नातकोत्तर तहको भर्ना खोलिसकेकाले विस्तारै नतिजा आउने उनको भनाइ छ ।

सल्लाह गरेरै भर्ना खुलाएका हौं : शिक्षाध्यक्ष

त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका शिक्षाध्यक्ष डा. शिवलाल भुसालले परीक्षा नियन्त्रण कार्यालयसँग सल्लाह गरेरै भर्ना खुलाएको बताए । उनले नेपालप्रेससँग भने, ‘हामीले परीक्षा नियन्त्रण कार्यालयसँग सम्पर्क गरेर नै स्नातकोत्तरको भर्ना खुलाएका हौं । उहाँहरुले त्यो वेलासम्म रिजल्ट निकालिसक्छौं भन्नुभएको थियो ।’

उनले तोकिएको तालिकाअनुसार नै कक्षा सुरु हुने बताए । यसअघि पनि यही समयमा भर्ना खुलाउने गरेको भुसालले दावी गरे । नतिजा प्रकाशनमा ढिलाइ भए शैक्षिक तालिका नै खल्बलिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *