मेस्सीले फाइनल खेलेर सन्यास लिने ? – Nepal Press

मेस्सीले फाइनल खेलेर सन्यास लिने ?

काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले कतार विश्वकपको फाइनल खेल आफ्नो विश्वकप यात्राको अन्तिम हुने बताएका छन् । अर्काे विश्वकप खेल्न आफू सक्षम नहुने उनको स्पष्टोक्ति छ ।

मेस्सीकै प्रेरणामा मंगलबार राती क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनल पुगेको थियो। मेस्सीले हालसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्।

‘मैले यो हासिल गर्न सफल भएकोमा, मेरो विश्वकप यात्रालाई फाइनलमा अन्तिम खेल खेलेर समाप्त गर्न लागेकोमा धेरै खुशी छु,’ अजेन्टिनी मिडिया आउटलेट डियारियो डिपोर्टिभो ओलेमा मेस्सीले भनेका छन् ।

उनी थप्छन्, ‘अब अर्को (विश्वकप) आउन धेरै वर्ष बाँकी छ र मलाई लाग्दैन कि म त्याे गर्न सक्नेछु । र, यसरी समाप्त गर्नु सर्वोत्कृष्ट हो ।’

उनको बयानलाई केही अन्तर्राष्ट्रिय मिडियाले विश्वकपपछि सन्न्यास लिने संकेतको रुपमा समेत व्याख्या गरेका छन् ।

अर्जेन्टिना सन् १९८६ यता विश्व च्याम्पियन बन्न सकेको छैन। सन् २००५ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएका मेस्सीले गत वर्ष मात्र कोपा अमेरिका जितेर सिनियर राष्ट्रिय टोलीमा उपाधि खडेरी टारेका थिए।

मेस्सीले खेलेयता अर्जेन्टिना कोपा अमेरिकामा सन् २००७, २०१५, २०१६ र २०२१ मा फाइनल पुगेको छ भने विश्वकपमा २०१४ मा पनि फाइनल पुगेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *