मेस्सीको नाममा विश्वकप फुटबलका एक दर्जन कीर्तिमान – Nepal Press

मेस्सीको नाममा विश्वकप फुटबलका एक दर्जन कीर्तिमान

काठमाडौं । सातपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीले विश्वकप फुटबलका करिब एक दर्जन कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । कतारमा जारी विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउने क्रममा मेस्सीले कीर्तिमानको चाङ लगाएका हुन् ।

उनी विश्वकप फुटबलको एकै खेलमा सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरमा गोल र असिस्ट दुवै गर्ने खेलाडी हुन् । सन् २००६ को विश्वकपमा कम उमेरको सफलता प्राप्त गरेका मेस्सीले जारी विश्वकपमा बढी उमेरमा पनि कीर्तिमान बनाएका हुन् ।

यस्तै उनी पाँच विश्वकपमा असिस्ट गर्ने एकमात्र खेलाडी हुन् । जारी विश्वकपको समूहगत चरणमा मेक्सिकोविरुद्ध असिस्ट गर्दै उक्त सफलता प्राप्त गरेका थिए । उनी विश्वकप इतिहासमा सर्वाधिक गोल असिस्ट गर्ने कीर्तिमान पनि बराबरी गर्न सफल भएका छन् । मंगलबार राती भएको सेमिफाइनलमा क्रोएसियाविरुद्ध जुलियान अल्भारेजका लागि असिस्ट गर्दै डीएगो म्याराडोनाको ८ असिस्टको विश्वकप कीर्तिमान बराबरी गरेका हुन् । मेस्सीले जारी विश्वकपमा मात्र तीन असिस्ट गरेका छन् । मेस्सी विश्वकप फुटबलमा सर्वाधिक प्लेयर अफ दी म्याच अवार्ड जित्ने फुटबलर पनि हुन् ।

उनी १० पटक प्लेयर अफ दी म्याच भएका छन् । जारी विश्वकपमा मात्र मेस्सी अर्जेन्टिनाले खेलेका ६ मध्ये ४ खेलमा प्लेयर अफ दी म्याच बनेका छन् । यसअघि सन् २०१४ मा आयोजित विश्वकपमा अर्जेन्टिना फाइनलसम्म पुग्दा मेस्सी चार खेलमा प्लेयर अफ दी म्याच भएका थिए ।

मेस्सी बुधबार क्रोएसियाविरुद्ध खेल्दै विश्वकपमा सर्वाधिक खेल कप्तानी गर्ने कीर्तिमान बनाएका छन् भने सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् ।

उनले १९ खेलमा कप्तानी गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । उनी राफा मार्क्वेजभन्दा अगाडि बढेका हुन् । यस्तै विश्वकपमा २५ खेल खेल्दै लोथर मेथाउसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।

मेस्सी विश्वकप इतिहासमा किशोर, २० को दशक र ३० को दशकमा गोल गर्ने एकमात्र खेलाडी हुन् । मेस्सी विश्वकपमा आफ्नो पहिलो र अन्तिम गोलको अन्तर सबैभन्दा फराकिलो भएका खेलाडी पनि हुन् । मेस्सीले पहिलो खेल सन् २००६ को विश्वकपमा गरेका थिए । जारी विश्वकपमा मेस्सीले ५ गोल र तीन असिस्ट गरेका छन् । फाइनलमा मेस्सीले पहिलो हाफ खेल्दा विश्वकप इतिहासमा सबैभन्दा लामो समय खेल्ने खेलाडीको कीर्तिमान बनाउनेछन् । उनी पाउलो माल्दिनीको नाममा रहेको २ हजार २ सय १७ मिनेटको कीर्तिमान तोड्नबाट २२ मिनेटले मात्र पछाडि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *