उपेन्द्रको घोषणामा अशोक राईको टिप्पणी- एमालेसँग सहकार्य तोड्ने निर्णय भएको छैन – Nepal Press
नेपाल टक

उपेन्द्रको घोषणामा अशोक राईको टिप्पणी- एमालेसँग सहकार्य तोड्ने निर्णय भएको छैन

किन सरकारमा जाने प्रष्ट नभई जागिर खान जानेमात्र कुरा आउँदैन

विराटनगर । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष हुन् अशोक राई । सुनसरी १ बाट विजयी राई अहिले मतदातालाई धन्यवाद दिनमा व्यस्त छन् । मंगलबार उनी धरान, बराहक्षेत्र विष्णुपादका क्षेत्रमा गएका छन् ।

शुभकामना थाप्ने चटारोमा छन् यतिखेर अशोक । एमालेसँगको तालमेलबाट राईले १७ हजार ५१ मत पाउँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वातन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत पाइन् । सत्ता गठबन्धनबाट उमेद्वार बनेका माओवादीका मुक्साहाङ्ग मेन्याङ्वोले १३ हजार ८७ मत पाए ।

एमाले छाडेर आफैँ पार्टी खोलेदेखि प्रत्यक्षतर्फ चुनाव नजितेका राईलाई चुनाव जित्न एमालेसँगकै तालमेल पर्खनुपर्‍यो । उनी एमाले छाड्नुअघि पार्टीका उपाध्यक्ष थिए । एमालेसँग तालमेल गरेर चुनाव जितेको १५ दिन नबित्दै राईको पार्टी जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले भने एमालेसँग कार्यगत एकता सकिएको बताएका छन् ।

अध्यक्षले एमालेसँगको कार्यगत एकता चुनावसम्मको रहेको र चुनाव सकिएसँगै कार्यगत एकता पनि सकिएको बताइरहँदा राईसँग यसै सन्दर्भमा रहेर छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँगको कुराकानीको अंश नेपाल टकमा

– राजनीतिक समीकरण फेरिएको हो ?

पहिलो कुरा त म गाँउमा छु । अहिले म काठमाडौं गएको छैन । मतदाताहरूले निर्वाचन जितेपछि विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन् । उहाँहरूले राखेका कार्यक्रममा म व्यस्त छु । राष्ट्रिय राजनीति र समीकरण नै फेरिनेगरी त्यस्तो कुनै घटना भएको मलाई अहिले थाहा छैन ।

– यहाँकै पार्टीको अध्यक्ष उपेन्द्र यादवले विराटनगरमा एमालेसँगको सहकार्य सकिएको भन्नु भयो नी ?

उहाँले भन्नु भयो कि भएन मलाई थाहा छैन ।

– उहाँले भनेको कुरा आधिकारिक र संस्थागत होइन ?

उहाँले भन्नुभएको हो भनेपनि संस्थागतरूपमा छलफल गरेर बैठक बसेर भनिएको कुरा होइन । कुनै कुराको निचोडमा पुग्नुभन्दा पहिला त छलफल बैठक हुनुपर्‍यो होला । सम्भावनाको कुरा केलाउनुपर्‍यो होला । यसरी सम्भावना केलाएर छलफल बैठक गरेर उहाँले सहकार्य सकिएको कुरा भन्नुभएको होइन । कुनै कुराको निचोडमा पुग्नुभन्दा पहिला त छलफल त हुनपर्‍यो नी ? अहिले म गाउँमा छु । २२ गते काठमाडौं पुग्छु । त्यसपछि हामी छलफल गर्छौं ।

– अब के हुन्छ त ?

पहिला त हामी बैठक बस्छौं । के सम्भावना छ ? भनेर कुराकानी गर्छौं । हामीले पनि सम्भावनाहरूलाई हेर्नैपर्छ केलाउनै पर्छ । पार्टीका साथीहरूसँग बसेर छलफल गरेर आएको निष्कर्ष नै मुख्य कुरा हुन्छ । अनि त्यसपछि स्वाभाविक हिसाबले जनताका प्रतिनिधिहरूले जनतालाई देशलाई कसरी परिवर्तन गर्न सकिन्छ सेवा गर्न सकिन्छ भन्ने कुरा हुन्छ । यसको बारेमा हामी बसेर छलफल गरेर टुंगो लगाउँछौं ।

– यहाँहरू सरकारमा जाने हो ?

सरकारमा जाने हो भने के गर्न जाने हो ? पहिला प्रष्ट हुनुपर्छ । केका लागि जाने प्रष्ट नभई जागिर खान जाने कुरा आउँदैन । पहिला पार्टीमा बसेर छलफल गरेरमात्रै अगाडि बढ्ने कुरा आउँछ ।

– कतिपय प्रदेशमा त जसपा सरकारमा गएन भने सरकार नै नबन्ने अवस्था छ । जस्तो प्रदेश १ मा । प्रदेश १ तपाईँहरूको एक सीट निर्णायक देखिन्छ । प्रदेश १ को हकमा के गर्ने ?

त्यस्तो त हुँदैन । हामी चाँही बाधक बन्दैनौ । अब हामी बसेर छलफल गर्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर