प्रदेश १ सरकार गठनमा जसपाकाे एक सीट निर्णायक ! – Nepal Press

प्रदेश १ सरकार गठनमा जसपाकाे एक सीट निर्णायक !

विराटनगर । एमालेसँग तालमेल गरेर चुनाव लडेको १५ दिन नबित्दै जनता समाजवादीले बोली फेर्दा प्रदेश १ को सत्ता समीकरण फेरिने संकेत देखिएको छ ।

आइतबार विराटनगर आएका जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्य सकिएको बताएका थिए । चुनावामा गठबन्धन गरेको नभई केही क्षेत्रमा सहकार्य गरेको उनको भनाइ थियो ।

उनले चुनाव सकिएसँगै तालमेल पनि सकिएको र विकल्पहरु खुल्ला रहेको बताएका छन् । उनले यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुगिनसकेको बताएका छन् ।

पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभर एउटै नीति लिने पनि यादवले बताए । तर, कस्तो नीति भन्ने चाहिँ यादवले खुलाएका छैनन् ।

जनता समाजवादीका नेता तथा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले पनि सरकार गठनका विषयमा जसपा खुला रहेको बताएका छन् । उनी मोरंङ ५ (२) बाट उम्मेदवार बनेका थिए ।

उनी नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्यालसँग पराजित भएका थिए । यादवले नेपाल प्रेससँग भने, ‘सरकार गठनमा एमालेलाई नै सघाउनुपर्छ भन्ने छैन ।’

चुनावमा एमालेसँग राप्रपा र जसपाको तालमेल भएकाले प्रदेश १ मा यी तीन दलबीच सत्ता समीकरण हुने अनुमान थियो ।

यहाँ १ मा ९३ सीटमध्ये बहुमत पुर्‍याउन ४७ सीट चाहिन्छ । प्रदेश १ मा समानुपातिकको समेत अन्तिम हिसाबकिताब भइसक्दा एमालेले समानुपातिक र प्रत्यक्ष गरेर ४० सीट पुर्‍याएको छ ।

राप्रपाले प्रत्यक्षतर्फ २ सीट र समानुपातिक तर्फ ४ सीट पाएको छ । जसपाले समानुपातिकतर्फ १ सीट पाएको छ । यो हिसाबले एमाले गठबन्धनको मत बहुमतका लागि आवश्यक पर्ने ४७ सीट पुग्छ ।

तर, जसपाका नेताहरूले तालमेल सकिएको घोषणा गरेसँगै सत्तागठबन्धनकै सरकार बनाउन दौडधुप सुरू भएको छ । यस प्रदेशमा सत्ता गठबन्धनका दलहरूको ४६ सीट छ । जसपाले साथ दिए गठबन्धनको बहुमत पुग्छ ।

जसमा प्रत्यक्षतर्फ कांग्रेसको १७ र समानुपातिकतर्फ १२ सीट गरी २९ सीट छ । माओवादी केन्द्रको प्रत्यक्षतर्फ ९ सीट र समानुपातिकतर्फ ४ सीट गरी १३ सीट छ । नेकपा एकीकृत समाजवादीको ३ सीट प्रत्यक्ष र समानुपातिकमा १ सीट गरी ४ सीट छ ।

एमालेले प्रदेश १ मा जसपालाई सुनसरी क्षेत्र नम्बर १, सुनसरी ४ क मोरङ ५ तथा ५ (१) र ५ (२) मा सघाएको थियो । तालमेल भएका क्षेत्रमध्ये सुनसरी १ बाट जसपाका नेता अशोक राई प्रतिनीधिसभामा विजयी भएका छन् भने अन्यत्र जसपाका उम्मेदवार पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर