कांग्रेस-एमाले नेतृत्वमा सरकार, माओवादी र एस प्रतिपक्ष : कांग्रेस नेता भुसाल – Nepal Press

कांग्रेस-एमाले नेतृत्वमा सरकार, माओवादी र एस प्रतिपक्ष : कांग्रेस नेता भुसाल

रुपन्देही । नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले निर्वाचनबाट कुनै दलको बहुमत नआएकाले स्थिरताका लागि कांग्रेस र एमाले मिलेर ५ वर्ष टिक्ने सरकार चलाउनुपर्ने बताएका छन् ।

‘राजनीतिक स्थायित्व र स्थिर सरकारविना देशले निकास पाउने छैन, यसको विकल्प अब कांग्रेस-एमाले मिलेर सरकार बनाउनुबाहेक अरु विकल्प छैन’, लुम्बिनी प्रदेश योजना आयोगका पूर्वसदस्यसमेत रहेका भुसालले भने ।

चुनावको जनादेशले कसैलाई बहुमत नदिएकाले लोकतन्त्रका लागि सँगै आन्दोलन गरेका दुई ठूला दल मिलेर संसदको पूरा कार्यकाल संयुक्त सरकार चलाएर राजनीतिक स्थायित्वको सन्देश दिनुपर्ने उनको तर्क छ ।

यसपटक पनि पाँच वर्ष टिक्ने सरकार दिन नसके मुलुकमा वाह्य शक्तिको चलखेल बढ्ने, राजनीति अपरिपक्व र विदेशीको इशारामा चल्ने शक्तिको हातमा जाने खतरा रहेकाले दुवै पार्टी गम्भीर हुन उनको आग्रह छ ।

‘एमाले र माओवादी मिलेर बनेको नेकपाले झण्डै दुईतिहाइ पाउँदा पनि सरकार ५ वर्ष टिक्न सकेन, त्यसैको परिणाम अहिले कुनै दलको बहुमत आएन, ६ महिना नपुगेको पार्टीको अप्रत्याशित नतिजा आयो’, भुसालले भने, ‘यदि अब पनि कांग्रेस र एमालेले चेतेनन् भने अर्को चुनावसम्म राजनीति कस्को हातमा जान्छ भन्न सकिन्न ।’

नेता भुसालले नेकपा माओवादी केन्द्रका कारण २०६४ पछि देशमा राजनीतिक अस्थिरताले निरन्तरता पाएको आरोप लगाउँदै यसपटक माओवादी र नेकपा एकीकृत समाजवादीलगायतका दलहरू प्रतिपक्षमा बस्नु उपयुक्त हुने औंल्याए ।

विकास, समृद्धि र सुशासनका लागि राजनैतिक स्थायित्व अनिवार्य शर्त भएकाले राजनैतिक स्थायित्वसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्य सुनिश्चित गर्न र ताजा जनादेशको सम्मान गर्न कांग्रेस र एमाले बीच सहमति, सहकार्य र एकताको आवश्यकता रहेको भुसालले औंल्याएका छन् ।

‘माओवादी र नेकपा एससहितका दलहरू प्रतिपक्षमा बसेर भूमिका खेल्नुपर्छ’, भुसालले भने, ‘जनादेशविपरीत उनीहरू सरकारमा जानु हुँदैन, कांग्रेस र एमालेले पनि सरकारमा सहभागी गराउनुहुन्न ।’

चुनावअघि दलहरुबीच गठबन्धन गरिनु गलत भएको मान्यता राख्दै आएका भुसालले गुल्मी २ प्रतिनिधिसभा सदस्य चुनावमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएपनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर