कसरी मिल्न थाल्यो अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीको लय ? – Nepal Press

कसरी मिल्न थाल्यो अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीको लय ?

काठमाडौं । देशको अर्थतन्त्रलाई लिएर फरक- फरक अभिव्यक्ति दिने अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अभिव्यक्ति एउटै सुनिन थालेको छ । देशको अर्थतन्त्र इतिहासकै कठिन मोडमा पुगेको बताउने गभर्नर अधिकारीले अहिले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको अभिव्यक्ति दिन थालेका छन् । हिजो विपरीत ध्रुवमा रहेका अर्थमन्त्री र गभर्नरको भनाइ अहिले मिल्न थालेकोलाई अर्थ जगतमा आश्चर्य मानिन थालेको छ ।

अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रमा संकटमा नरहेको भन्दै अर्थतन्त्र संकटमा छ भन्नेहरुलाई प्रतिप्रश्न गर्ने गरेका छन् । उनी अर्थतन्त्र संकटमा रहेको टिप्पणी गर्नेहरुले देहको अर्थतन्त्र नै नबुझेको अभिव्यक्ति दिएका छन् ।

देशको अर्थतन्त्रलाई शर्माले नै सबैभन्दा कठिन मोडमा पुर्‍याएको आरोप छ । उनले २०७८ असार २९ गते पहिलो पटक अर्थ मन्त्रालय सम्हाल्ने अवसर पाएका थिए ।

बिहीबार अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीले सार्वजनिक कार्यक्रममा एउटै मञ्चबाट भनेका थिए, ‘देशको अर्थतन्त्र सुधारोन्मुख छ । संकट छैन । बरु केही चुनौती छ ।’

अर्थमन्त्री शर्माले भनेका थिए, ‘हाम्रो अगाडि केही चुनौती छन् । कतै दबाब, कतै चाप छ । तर, संकटमा छ भन्ने कुरा फेरि पनि म खण्डन गर्न चाहन्छु । मैले निरन्तर नेपाल श्रीलंका हुन्छ भन्नेहरुको खण्डन गर्दै आएको छु ।’

गभर्नर अधिकारीले पनि कोभिडपछि लिएको राहत तथा सहुलियतको नीतिले अर्थतन्त्रमा प्रभाव पारेको र अहिले दक्षिण एसियामा भारतपछि दोस्रो सहज अर्थतन्त्रमा नेपाल रहेको अभिव्यक्ति दिए ।

देशको अर्थतन्त्रमा परेको बाह्य क्षेत्रको चापलाई देखाउँदै सरकारले केही वस्तुको आयातमा बन्देज लगाएको छ । राष्ट्र बैंकले पनि केही नीतिगत उपाय अघि सार्‍यो । मार्जिनलगायतका प्रतिरोधक व्यवस्था लागू गरेकै कारण चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ अर्ब रुपैयाँ बराबर शोधान्तर बचत भएको छ ।

गत वर्ष लगानीयोग्य रकमको चापलाई घटाउन केन्द्रीय बैंकले ९७ खर्ब रुपैयाँ बजारमा पठाएको थियो । तर, यो वर्ष अहिले देखिएको सुधार निरन्तर भयो भने त्यति धेरै पैसा दिन नपर्ने देखिएको गभर्नर अधिकारी बताउँछन् । तरलता क्रमशः सहज भए अहिले बढेको ब्याजदरलाई बजारले नै घटाउने आशा रहेको अधिकारीको भनाइ छ ।

अर्थमन्त्री शर्माले गभर्नर अधिकारीले भनेजस्तै अहिले अर्थतन्त्रको सूचकांकमा सुधार आएको उल्लेख गरेका छन् । कुनै बेला सार्वजनिक कार्यक्रममा सँगै हुँदा गभर्नर अधिकारीको नमस्कारलाई नजरअन्दाज गर्ने अर्थमन्त्री शर्माले बिहीबारको कार्यक्रममा भने पटक-पटक गर्भनर भन्दै सम्बोधन गरेका थिए ।

केही समयअघि उद्योगी व्यवसायीले ब्याजदर घटाउन अर्थमन्त्री शर्मामार्फत दबाब नै दिएका थिए । राष्ट्र बैंकले चाल्नुपर्ने कदममा अर्थमन्त्री आफैं अघि सरेर ब्याजदर घटाउन अध्ययन समिति गठन गरेका थिए । अर्थमन्त्री शर्मा ब्याजदर केन्द्रीय बैंकले तोकोस् भन्ने चाहन्थे । यसैकारण अर्थमन्त्री र गभर्नरको सम्बन्धका कारण अर्थतन्त्र चेपुवामा परेको टिप्पणीसमेत भएको थियो । तर, अध्ययन समितिले ब्याजदर बजारलाई नै छोड्नुपर्ने सुझाव दियो ।

नेपालमा राजनीतिक स्थायित्वको चुनौती हुँदाहुँदै पनि अर्थतन्त्र धेरै हदसम्म स्थिर रहेको गभर्नर अधिकारीको भनाइ छ ।

पछिल्लाे समय अर्थतन्त्रमा सुधार आइरहेको र केही कठिनाइ बाँकी रहेको अभिव्यक्ति दिएर अर्थतन्त्रका विषयमा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीले एउटै लय मिलाएका छन् ।

सरकारले सरकारी सूचना चुहाएको र अथर्तन्त्रमा देखिएको समस्या समाधानमा गम्भीर नबनेको आरोप लगाउँदै गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । उक्त निलम्बनपछि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीचको सम्बन्धमा दरार आएको थियो । अधिकारीपछि सर्वोच्चको आदेशपछि पुनः राष्ट्र बैंकमा फर्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर