दोलखाबाट गृहमन्त्रीलाई खुलापत्र- बुथ कब्जाका दृश्य हेर्नुस् र पढ्नुस् तर राजीनामा चाहिँ नदिनुस् – Nepal Press
ब्लग

दोलखाबाट गृहमन्त्रीलाई खुलापत्र- बुथ कब्जाका दृश्य हेर्नुस् र पढ्नुस् तर राजीनामा चाहिँ नदिनुस्

गृहमन्त्रीज्यू, जय नेपाल अनि लालसलाम । प्रतिनिधिसभा निर्वाचनमा पराजय भैसकेपछि तपाईंको राजीनामा आउला कि भनेर चिन्तित थिएँ । त्यसो नभए पनि केही स्टेटमेन्ट आउला भन्दै डराइरहेको थिएँ । अथवा सीडीओ र प्रहरी चलाउने गृहमन्त्रीको हैसियतबाट टाढा रहें भन्नुहोला कि भन्ने चिन्तामा थिएँ ।

त्यस्तो कुनै पनि भनाइहरु नआएपछि खुशी भएर यो पत्र लेख्दैछु । गएको बैशाखमा सम्पन्न स्थानीय निर्वाचनका दिन दोलखाको बैत्यश्वर– १ गैरीमुदीमा तपाईंले लगाएको गुण ताजै छ । त्यो गुण सम्झेर पनि तपाईं अझै गृहमन्त्री रहिरहनुपर्छ भनेर अनुरोघ गर्न हतारहतार पत्र लेखिहालें । त्यो स्थानीय निर्वाचनमा तपाईंको आदेश हुनेबित्तिकै काठमाडौंबाट हेलिकप्टरले पुलिस लिएर आयो । गैरीमुदी झर्नेवित्तिकै तिनै पुलिसहरुले सबै मतदाता लखेटे । त्यहाँको मतदाता संख्याभन्दा आठ दश मत कम करिब दुई हजार वटा मतपत्र तपाईंको सहयोगमा प्राप्त भयो ।

तपाईंको त्यति गुणले उक्त पालिकाको अध्यक्षमा तपाईंकै निकै नजिकको नेता चुनिनुभयो । उहाँ अध्यक्ष हुन उहाँकै गाउँ गैरीमुदीका मतदाताले चर्को घाममा लाइनमा बस्नै परेन । तपाईंले नै पठाएको पुलिसले मत हाल्न वातावरण मिलाइदिनु भयो । जिल्लाको प्रशासन र पुलिसले त्यस्तो काम गर्न नसकेपछि तपाईंले हेलिकप्टरबाट पाहुना पुलिस पठाइदिएर कत्रो गुण लगाइदिनु भयो । मंसिर ४ को निर्वाचनमा भने प्रशासन र प्रहरीबाट राम्रै सहयोग मिलाइदिनु भएकोमा तपाईंलाई मुरीमुरी धन्यवाद टक्र्याउँछु ।

स्थानीय निर्वाचनमा तपाईंले गैरीमुदीमा विकृतिको बीऊ रोपिदिनु भयो । लोकतन्त्रको सबैभन्दा खतरा दुर्गुण पक्षको वृक्ष फैलँदै मंसिर ४ गते दोलखाको १३ ठाउँमा झाँगियो । दोलखामा तपाईंले रोपिदिएको लोकतन्त्रको विषवृक्षले यसपटक निकै काम गरेकाले पनि गृहमन्त्रीबाट राजीनामा नगर्न अनुरोधपत्र सम्प्रेशन गरेको हुँ ।

तपाईंकै अमूल्य सहयोगले दोलखाको प्रदेशसभा २ कालिञ्चोक गाउँपालिका- १ मा प्रहरी इन्चार्ज पुलिसलाई नेताको मुक्का उपहार मिल्यो । कमाण्डर घाइते पारिएपछि गठबन्धनलाई भोट हाल्ने वातावरण मिल्यो । पुलिसहरु निर्वाचन अवधिभर घायल कमाण्डरसँग बुथ कब्जाको साछी बसिदिए । अन्यथा नमान्नु होला, म यसै पत्रमार्फत गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु, ‘तपाईंको घाइते प्रहरीको स्वास्थ्य अवस्था कस्तो छ ?’

दोलखा प्रदेशसभा २ कै शैलुङ गाउँपालिका- २ नवीन प्राविमा मस्त निद्रामा परेको अभिनय सुरक्षाकर्मीले गरेपछि मतदाता संख्याको ९० प्रतिशत माथि भोट हालेर पठाउन सहयोग मिल्यो । यसअघि इतिहासमै नभएको जनताको मत लुट्ने अपराधलाई यसै पटकबाट तपाईंले दोलखा प्रदेशसभा २ मा पनि छिराइदिनु भएकोमा कसरी तपाईं गृहमन्त्रीबाट बहिर्गमण भएको हेरुँ ।

मन्त्रीज्यू, दोलखा प्रदेशसभा १ मा त झन जीवनभर तिर्न नसकिने गुण लगाइदिनुभयो । तामाकोसी गाउँपालिका जामुने र कालापानीको चुनाव युद्ध जस्तै भयो । गठबन्धन दलका प्रदेशसभाका उम्मेदवारले नै नेपाली सेनाको टाउको फुटाइदिए । भिडियो फुटेजमा देखिएअनुसार ती राष्ट्रसेवकले टाउकाको रगत पुछे । उनको टाउकामा कसैले व्यान्डेज लगाइदिए । फुटेज बाहिर सामाजिक सञ्जालमा आयो तर बिचरो निर्दोष घाइते सेना गठबन्धनको भोटको लागि गुमनाम भए । तपाईंले सेनापतिज्यूलाई भन्नुहोला, सुरक्षाकर्मीमाथि कुटपीट भैरहँदा थप केही गर्ने आदेश नपाएपछि फुटेको टाउको लिएर व्यारेक छिरेको जवानको ख्याल गर्नुहोला ?’

म यसै पत्रमार्फत कर्तव्य निर्वाहको क्रममा दोलखा जिल्लाका नेताज्यूबाट आक्रमणमा पर्नुभएका दुवैजना घाइते सुरक्षाकर्मीप्रति क्षमायाचना गर्न चाहन्छु । सुरक्षाकर्मीमाथि आक्रमण भैरहँदा पनि केही नगर्न, सहेर बस्नु भन्ने आदेश दिइरहने महोदयहरुमा पनि कृतज्ञता प्रकट गर्दछु । तामाकोसीकै मालुमा अर्को असई आक्रमणमा परे । असईको दोष बुथ कब्जा रोक्ने प्रयास थियो । गठबन्धनलाई त्यो मन नपरेपछि हटाउन चर्को धम्की आयो । पछि ऊभन्दा माथिको कमाण्ड इन्स्पेक्टर खटाइयो । इन्स्पेक्टरले सत्ताको आदेश राम्रैसँग पालना गरे । मतदाता भगाएर मनग्गे भोट गठबन्धनलाई पठाउने वातावरण मिलाइदिए ।

जब उक्त पालिकाको झुलेको बुथमा गठबन्धनको उम्मेदवार पुगे । सुरक्षाकर्मी निरीह भैहाले । त्यहाँ पनि गठबन्धनलाई केही भोट थप्न सघाउ पुगिहाल्यो । मेलुङको जुकेमा पनि तपाईंको पुलिसले सजिलो पारिदिए । हाल्न जति भोट हाल्न दिएर गुण लगाइदिए ।

यो पटक पनि गैरीमुदीको पीपलबोटमा गठबन्धन दललाई सुविस्ताले भोट हाल्न सुरक्षा व्यवस्था मिलाइदिनु भएकोमा गृहमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु । गैरीमुदीकै पुतलीकाठमा भने मध्यान्हमै बाकस बन्द भए । विचरा मतदाता लाइनमा बसेर भोट नहाली फर्किए । मध्यान्हदेखि नै पुलिस र सेनाले कडा सुरक्षा पारिदिनुभयो । जसको आडले तपाईंको कर्मचारी मतदान अधिकृतले लाइन बसेका जनतालाई भोट हाल्न नदिइकन मतदान कार्य सके ।

गृहमन्त्रीज्यू, तपाईं झन खुशी हुने कुरा सुनाउँछु । गैरीमुदीकै कालीढुङ्गा माविबाट झण्डै ९३ प्रतिशत भोट गठबन्धनलाई हालेर पठाइएको छ । त्यहाँ ठेलीका ठेली मतपत्रमा छाप लगाउँदा तपाईंका पुलिसले कति सहज ढंगले सुरक्षा दिए । अझ भुल्नै नसकिने गुण त नाम्दूस्थित वैत्यश्वर माविमा लागेको छ । बुथमा गाईजात्रा भैसक्दा पनि राम्रो रिर्पोट दिएर दिनभरि चुनाव गराउने पुलिस कमाण्डरलाई तत्कालै फुली थपिदिनु होला । उहाँकै सहयोगमा ठेलीबाट नच्यातिकन पहिलो रुख र हसियाँ हथौडामा छाप लगाएको मतपत्रको भिडियो फुटेज बाहिर आएको छ । मतपत्र च्यातिँदा, भूईंमा खसेर खोसाखोस भएको दृश्य सामाजिक सञ्जालमा आएको छ । मतदाताले भोट हाल्न नपाएपछि तीन-तीन पटक मतपेटिकालाई फुटबल खेलेर लथालिङ्ग पारिएको छ । त्यस्तो हुँदा पनि सबै ठीक छ भनेर सुरक्षित पेटिका ल्याउने कमाण्डरलाई तत्कालै प्रमोसनको व्यवस्था मिलाइदिन मन्त्रीज्यूसमक्ष अनुरोध गर्दछु ।

उता गौरीशंकर गाउँपालिकाको जुगुको खबर पनि तपाईंलाई सुनाउँदा खुशी नै हुनुहोला । त्यहाँको भिडियो हेर्नुभयो भने चाहिं कतै आफ्नो आमामाथि अपमान भएको हो कि जस्तो पनि लाग्ला । त्यहाँ गठबन्धनका एक पुरुषले एक जना आमा जस्तो महिलामाथि हातपात गरेको दृश्य भाइरल भैरहेको छ । बुथ कब्जा गर्न सबैलाई भगाइसकेपछि मतदाताले भोट हाल्न पाउनुपर्ने जिद्दी गरेर बस्ने महिलामाथि कुटपिट गर्न पुलिसले सुरक्षा दिइरहेको झैं लाग्छ । महिला कुटिएपछि त्यो बुथमा गठबन्धनलाई भोट हाल्न निकै सजिलो बनाइदिनु भएको गुण पनि कसरी बिर्सन सकिन्छ र !

अन्त्यमा, जिरी- ९ ठूलोपातलमा पनि तपाईंको निर्देशनले विपक्षी एजेन्ट भगाएर केही न केही भोट थप्न सजिलो भएको छ । यस्तो हर्कत गर्न सबैतिरबाट साथ मिलेकाले ढुक्क हुने स्थिति पनि छ । कता कता यत्रो कर्तुत कसरी लुकाउने भन्ने कुराले मनमा ढुकढुकी पनि छ । कानुनबमोजिम हुँदा पुनः मतदान हुने नै भयो । अब के गर्ने तपाईंकै शरणमा पर्नुपर्ने स्थिति फेरि आयो । तपाईं गृहमन्त्री नै भैरहँदा हामीलाई सत्ताको आडभरोसा हुन्थ्यो । तपाईं चुनावमा हार्नु भएपछि हामी थप तनावमा छौं । अझ गठबन्धन फेरि सरकार जान नसक्ने नतिजा देख्दा हामीलाई भोकतिर्खा छैन । गृहमन्त्रीज्यू जस्तोसुकै नैतिकताको प्रश्न उठे पनि दोलखाको निर्वाचन नसकिएसम्म राजीनामा दिने चाहिं कुरै नगर्नुहोला ।

उही तपाईंको प्रिय गठबन्धन ।

(मानन्धर नेकपा एमाले दाेलखा जिल्ला उपाध्यक्ष हुन् ।)


प्रतिक्रिया

One thought on “दोलखाबाट गृहमन्त्रीलाई खुलापत्र- बुथ कब्जाका दृश्य हेर्नुस् र पढ्नुस् तर राजीनामा चाहिँ नदिनुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *