विकल्पविना सुकुम्बासीका घरटहरा भत्काउन हुन्नः गृहमन्त्री खाण – Nepal Press

विकल्पविना सुकुम्बासीका घरटहरा भत्काउन हुन्नः गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले उपर्युक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासीहरूका घरटहरा भत्काउन नहुने बताएका छन् ।

रुपन्देही ३ बाट पाँचदलीय गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार उवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै सुकुम्बासीहरू अहिले जस्तो अवस्थामा बसेका छन्, उनीहरू त्यस्तै अवस्थामा बस्न पाउनुपर्ने बताए ।

उनीहरूलाई बसोबास गरेको स्थानबाट सार्नैपर्ने अवस्था आएमा उपयुक्त विकल्प दिएर, त्यो विकल्पमा व्यवस्थापन गरेरमात्रै सार्नुपर्ने उनको भनाइ छ ।

अहिले केही नगरपालिकाले विकल्पविना सुकुम्बासीका घरटहरा भत्काएपछि गृहमन्त्री खाणको यस्तो धारणा आएको हो । उनले आफूले गृह प्रशासनलाई घरटहरा भत्काउने अन्य सरकारी निकायको कार्यमा सहभागी नहुन निर्देशन दिइसकेको बताए ।

गृहमन्त्री खाणले इतिहास र भूमिका नभएका राजनीतिक दल र ती दलमा आवद्ध नेताबारे टीकाटिप्पणी गर्नुको औचित्य नभएको सुनाए ।

बुटवलको सेमलारमा कृषि थोक बजार केन्द्र आयोजना अहिले सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको भन्दै उनले त्यो आयोजना पूरा गरेर भरपूर फाइदा लिनुपर्नेमा जोड दिए । आयोजना पूरा भएमा रुपन्देहीमा उत्पादित कृषि उपज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हवाईजहाजबाट राजधानी र विदेशमा पठाउन सकिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर