बैतडीका शमशेर चन्द मलेसियामा चार वर्षदेखि सम्पर्कविहीन, परिवार सहाराविहीन – Nepal Press

बैतडीका शमशेर चन्द मलेसियामा चार वर्षदेखि सम्पर्कविहीन, परिवार सहाराविहीन

काठमाडौं । वैदेशिक रोजगारका लागि मलेसिया गएका शमशेर चन्द लामो समयदेखि सम्पर्कमा नआएको परिवारहरूले गुनासो गरेका छन् । करिब ४ वर्षदेखि शमशेर परिवारको सम्पर्कमा नआएको उनकी दिदी पार्वती चन्दले बताइन् ।

पार्वतीका अनुसार उनका भाइ शमशेर १२ वर्षअघि मलेसिया वैदेशिक रोजगारका लागि गएका थिए । तर, करिब ४ वर्षअघि बुबासँग अन्तिम फोनमा कुरा गरेर सम्पर्कविहीन भएका हुन् ।

अहिले करिब ४ वर्षदेखि परिवारको कुनै पनि सदस्यसँग सम्पर्कमा आएका छैनन् ।

पार्वतीले सांसद ज्ञानेन्द्र शाहीसँग समेत भेटेर भाइको खोजीका लागि आग्रह समेत गरेकी थिइन् । शाहीले पार्वतीलाई चार महिना पछि आफ्नो कार्यालयबाट फोन आउने आश्वासन दिएको पार्वतीले बताएकी छिन् ।

पार्वती भन्छिन्, ‘मेरो भाइ शमशेर परिवारको सम्पर्कमा नआएको झन्डै ४ वर्ष भइसक्यो । अहिलेसम्म सम्पर्कमा आएको छैन । यत्रो लामो समय हुँदासम्म पनि किन सम्पर्कमा आएन केहि बुझ्नै सकिएको छैन । घरपरिवारको एक्लो खम्बा हो मेरो भाइ । हामी दुई जना दिदी हौ । एउटा सानो भाइ छ ।’

पार्वतीका अनुसार उनका भाइले ४ वर्षअघि साउन महिनामा अन्तिम फोन-कल बुबासँग गरेका थिए ।

पार्वतीले भनिन्, ‘अन्तिम पटक भाइले बुबालाई फोन गरेको थियो । अहिले बुबा बितिसक्नुभएको ७ महिना भइसक्यो । अन्तिम पटक बुबालाई फोन गरेर भाइले ‘मैले पैसा कमाउन सकिन, चिन्ता गर्नु म घर आउँछु’ भनेको थियो । त्यसपछि फेरि फोन गर्छु भनेको थियो । तर, फोन आएन । हामीले फोन पनि गर्‍यौँ फोन लाग्दैन । कहिलेकाहीँ लाग्छ तर, फोन उठ्दैन । फेसबुकबाट पनि सम्पर्क गरेको केहि प्रतिक्रिया आएको छैन ।’

परिवारबाट पनि शमशेरलाई कुनै प्रकारको दबाब र अन्य कुनै समस्या नभएको पार्वतीको भनाई छ । पार्वती कञ्चनपुरको दोधारा चाँदनी वडा नम्बर ६ मा बसोबास गर्छिन् । शमशेर चन्द बैतडीको दशरथ चन्द नगरपालिका ४ चने जर्कका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर