सिद्धार्थ उद्योग संघद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण – Nepal Press

सिद्धार्थ उद्योग संघद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको छ । नेपाल एयरलाइन्सबाट भए पनि तत्काल दैनिक उडान गर्न आग्रह गर्दै संघले प्रधानमन्त्रीलाई ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएको हो ।

शुक्रबार एउटा निजी कम्पनीका कार्यक्रमका लागि पश्चिम नवलपरासी आएका प्रधानमन्त्री दाहाललाई संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका पदाधिकारी, सल्लाहकार तथा कार्यसमिति सदस्यहरुले भेटेर तत्काल विमानस्थलबाट दैनिक उडानको वातावरण बनाएर सञ्चालन गर्न आग्रह गरेका हुन् ।

‘भैरहवाबाट दैनिक उडान नहुँदा यस क्षेत्रका पर्यटन बजारहरू चलायमान हुन नसकेको र निजी क्षेत्रको अर्बौंको लगानी समेत जोखिममा परेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शिघ्र अन्तर्राष्ट्रिय उडानहरू सुरुवात गर्न सके केही आशाका किरणहरू देखिने थिए’, संघले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमितका लागि छिटो भन्दा छिटो आवश्यक कदम चाल्न आग्रह गर्दछौं ।’

संघले वैदेशिक रोजगारमा जानेका लागि श्रमको कार्य भैरहवाबाटै हुने भए पनि स्वास्थ्य परीक्षणका लागि काठमाडौंमा नै जानुपर्ने व्यवस्था भएकाले नेपाल सरकारले वैदेशिक रोजगारमा जानेहरूको स्वास्थ्य जांच परीक्षण भैरहवा, बुटवलकै अस्पताल वा प्रयोगशालाबाट गर्न मिल्ने व्यवस्था छिटो भन्दा छिटो मिलाउन आग्रह गरेको छ ।

यस्तै, दुबई, कतार लगायतका देशका भिसा सेन्टरको स्थापना भैरहवामा गर्नुपर्ने, आइएलएस उपकरण विमानस्थलमा जडान रहेको तर हालसम्म पनि प्रयोगमा आउन नसकेकोले यो उपकरण छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने माग राखेको छ । यो उपकरणको मद्दतले कम प्रकाशमा पनि उडान अवतरण सहज हुन्छ ।

‘भैरहवाबाट उडान गर्ने विमान सेवा कम्पनीलाई कम्तिमा यहाँको उडानको आधारमा कर छुट सहूलियत साथै कम्तिमा ५ वर्षको लागि ग्राउण्ड ह्याण्डलिङ्ग आफै गर्न सक्ने व्यवस्था गरी आकर्षित गर्न माग गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ, ‘विमानसेवा कम्पनीलाई हाल उपलब्ध सेवा थप बढाउन माग गर्दछौं ।’

त्यस्तै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानहरूलाई हवाई इन्धनको मूल्य काठमाडौंमा भन्दा सस्तो गर्न गर्नुपर्ने, अहिले तराईतिरैबाट काठमाडौं पुग्ने हवाई इन्धनको मूल्य काठमाडौं र तराईमा एकै रहेको भन्दै स्थान अनुसार इन्धन मूल्य कायम गरे विमानसेवा कम्पनीको उडान खर्च कम हुने र उनीहरू आकर्षित हुनसक्ने संघले जनाएको छ ।

‘चीन, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, कम्बोडिया म्यान्मार जस्ता बढी बुद्ध धर्म मान्ने देशहरुबाट लुम्बिनी भ्रमणमा बढी आउने गरेका छन् । ती देशहरूसँग कुटनीतिक पहल गरी कम्तिमा हप्ताको एक उडानका लागि अनुरोध गर्न माग गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाल वायुसेवासँगै हिमालय एयरवेजलाई पनि भैरहवाबाट साप्ताहिक रुपमै भए पनि उडान सञ्चालनका नागि माग गर्दछौं ।’

प्रधानमन्त्रीले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधै सञ्चार सम्पर्क गरी भैरहवामा भारतीय सरकारी तथा निजी विमानसेवा कम्पनीबाट कम्तीमा दिल्ली र लखनउसम्म उडान सुरुवातको लागि पहल गर्न आग्रह संघले गरेको छ । हवाई टिकटमा लाग्दै आएको मूल्य अभिवृद्धि कर ९भ्याट० फिर्ता लिन पनि माग गरिएको छ ।

विदेशी दातृ निकायबाट प्राप्त विद्युतीय बसहरू विगत ३ वर्ष भन्दा लामो समयदेखि लुम्बिनीमा थन्किएर बसेकोमा ती बसहरूलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्विनी, भैरहवा र बुटवलसम्म सञ्चालनको माग पनि गरिएको छ ।

‘यस क्षेत्रमा आउने पर्यटक र विमान सेवा कम्पनीका कर्मचारी, पाइलट, एअर होस्टेज, उडान क्रु मेम्बर बस्न भैरहवा र वरपर सामान्यदेखि ५ तारे होटल प्रशस्त छन् र यातायात सुविधा समेत राम्रो उपलब्धता रहेको छ । विमानस्थल नियमित सञ्चालनका लागि यहाँ निजी क्षेत्रले के कार्य गर्नु पर्ने हो, त्यसका लागी नेतृत्व लिनु परे सिद्धार्थ उद्योग वाणिज्य संघ तयार छ र जहिले पनि नेपाल सरकारसँग समृद्ध नेपालको लागि हातेमालो गरी अघि बढ्न साथमा छौं । तपाईंकै पहलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलायमान हुनेछ भन्नेमा विश्वस्त छौं’, प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

संघले गत वर्षको बुद्ध जयन्तीका दिन लुम्बिनीमा आयोजित विशेष समारोहमा उपस्थित हुँदा सिद्धार्थ उद्योग वाणिज्य संघबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको पनि प्रधानमन्त्रीलाई स्मरण गराइएको छ ।

‘सो क्रममा तपाईं ९प्रधानमन्त्री० ले तत्कालीन विभागीय मन्त्री सुदन किराँतीलाई तत्कालै यो विषयमा निर्णय गर्न निर्देशन दिएकोमा मन्त्री किराँतीले जेठ महिनाभित्र नेपाल वायुसेवा निगमले क्वालालम्पुर भैरहवा काठमाडौं सेक्टरमा उडान सुरु गर्ने प्रतिबद्धता जनाएअनुसार जेठ महिनाबाटै प्रत्येक मंगलबार मलेसिया–भैरहवा –काठमाडौं उडान सुरु भएको छ । जुन अहिलेसम्म निरन्तर छ । यसमा हामी नेपाल सरकारलाई कृतज्ञताका साथ धन्यवाद भन्न चाहन्छौ । तर अब नियमित उडान जरुरी छ’, ज्ञापनपत्रमा भनिएको छ ।

यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका नाममा साप्ताहिक रुपमा एकतर्फी मात्र उडान भइरहेकोमा अब यो उडानलाई कम्तिमा दैनिक दुईतर्फी रुपमा उडान सञ्चालन हुने व्यवस्था होस् भन्ने माग संघको छ ।

‘हामीलाई विश्वास छ, गत वर्ष जेठ महिनामा एकतर्फी उडान सुरुवात भएजस्तै यस वर्षको जेठ महिना भित्रै दैनिक दुईतर्फ हवाई उडान सुरु हुनेछ । यसका लागि प्रधानमन्त्रीले पहल गर्नुहुनेछ’, अध्यक्ष श्रेष्ठले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर