उम्मेदवारको आश्वासन- हेलिकप्टर किनिसकेँ, रामेछापका बिरामीलाई आफैं लगेर उपचार गर्दिन्छु (भिडिओ) – Nepal Press

उम्मेदवारको आश्वासन- हेलिकप्टर किनिसकेँ, रामेछापका बिरामीलाई आफैं लगेर उपचार गर्दिन्छु (भिडिओ)

मन्थली । चुनावको बेला उम्मेदवारले मतदाता प्रभावित पार्न हल्का फुल्का आश्वासन दिनु सामान्य हो । तर रामेछापमा सत्ता गठबन्धनका एकजना उम्मेदवारले मतदातालाई आफूतिर आकर्षित गर्न हेलिकप्टरबाट निःशुल्क यात्रा गराउने आश्वासनसमेत दिन भ्याएका छन् ।

गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति पुर्णबहादुर तामाङ (कान्छाराम)ले गरीव दुःखीलाई विरामी पर्दा काठमाडौं लैजान आफूले व्यक्तिगत खर्चमा हेलिकोप्टर किनिसकेको बताएका छन् । उनले अब रामेछापका विरामीलाई आफ्नो हेलिकोप्टरले तत्कालै उद्दार गर्ने आश्वासनसमेत दिएका छन् ।

लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ को चिलाउनेमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार कान्छारामले आफूले हेलिकप्टर भाडामा लिँदा धेरै खर्च गर्नुपरेकाले अब प्राइभेट हेली किनेको जानकारी दिए ।

उनले भने- रामेछापको सम्पूर्ण साथीहरु, बुबा आमा दाजुभाइ दिदी बहिनी जो एक हजार पनि जम्मा गर्न सक्दैनन्, म आफैं आएर हेलिकप्टरमा काठमाडौं लगेर उपचार गर्दिन्छु । सक्ने कोही छ १०/२० हजार निकाल्न सक्नले तेल खर्च र पाइलटको भत्ता दिन्छन् । गुम्देलबाट काठमाडौं लैजाँदा ७० हजार लाग्ने रहेछ । म नाफा नलिई तपाईहरुको उपचार गराउनेछु । यो कुरा तपाई यहाँ आउने सय जनालेमात्र सुनेर हुन्न, आफन्त नातागोता, सम्धी कुटुम्बलाई पनि सुनाउनुस् ।

कान्छाराम क वर्गका ठेकेदार हुन् । उनी दोस्रोपटक चुनावी मैदानमा छन् । यसअघि वाम गठबन्धनसँग पराजित भएका कान्छाराम यसपटक माओवादीको समर्थनमा चुनाव लड्दैछन् ।

 


प्रतिक्रिया

One thought on “उम्मेदवारको आश्वासन- हेलिकप्टर किनिसकेँ, रामेछापका बिरामीलाई आफैं लगेर उपचार गर्दिन्छु (भिडिओ)

  1. यस्तो भन्दा पनि निर्वाचन संहिता उल्लंघन गरेको मानिदैन ? कि आयोगको काम गठबन्धनको भए विज्ञप्ति निकाल्नेमात्र हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर