गठबन्धनलाई जिताउन सबै एकजुट भएर लागौँ : पुष्पा भुसाल – Nepal Press

गठबन्धनलाई जिताउन सबै एकजुट भएर लागौँ : पुष्पा भुसाल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् अर्घाखाँची जिल्लाबाट पाँच दलीय गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले नेपाली कांग्रेसले जनताको पक्षमा काम गरेर पनि प्रचारप्रसार गर्न नजानेकोले कांग्रेस धेरै पछाडि परेको बताएकी छन् ।

काठमाडौँमा नेपाली कांग्रेस अर्घाखाँचीका कार्यकर्ताहरूसँग छलफल कार्यक्रममा भुसालले १५ वर्ष जिल्लाको नेतृत्व गरेका अन्य दलका नेताले धेरै बजेट लगेको बताए पनि त्यसको हिसाबकिताब खोज्नुपर्ने बताइन् ।

उनले सबै नेताकार्यकर्ताको साथ सहयोगले मात्रै विजयको यात्रा सुनिश्चित गर्न सकिने बताउँदै मंसिर ४ गतेसम्म सक्रियताका साथ गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लागिपर्न अनुरोध गरिन् ।

काठमाडौंमा रहेका अर्घाखाँचीका सबै नेताहरू गाउँमा गएर वडा वडामा जितको सकारात्मक सन्देशसहितको ऊर्जा प्रवाह गर्नुपर्ने उनको आग्रह थियो ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रेवतीप्रसाद भुसालले कांग्रेसले अहङ्कार र घमन्ड नलिई इमानदारीसाथ निर्वाचन जित्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताए ।

प्रदेश सभा ख का उम्मेदवार एवम् कांग्रेस अर्घाखाँचीका पूर्व सभापति कमलप्रसाद भुसालले संविधानको रक्षा र कार्यान्वयनको लागि आफूहरूको जित आवश्यक रहेको बताए ।

कांग्रेसले आफूले गरेको कामको प्रचार नगर्ने र टोपबहादुर रायमाझी सबै काम गरे गफ दिँदै हिँडेर जनतामा भ्रम रहेको उनले दाबी गरे ।

कार्यक्रममा कांग्रेसका नेताहरू डा. मुक्ति श्रेष्ठ , सूर्य अधिकारी ,यादवप्रसाद घिमिरे, अनिता ज्ञवाली, ताराप्रसाद श्रेष्ठ, कपिल पोख्रेल, खुमराज घिमिरे, पालिका सम्पर्क समितिका सभापति तथा प्रतिनिधिहरूले भनाइहरू राखेको नेता लक्ष्मण पन्थीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर