एमाले फकाउँदै अशोक राईले भने- समृद्ध नेपाल, सुखी नेपालीको प्रिय नारा साकार पार्न आएको हुँ (भिडिओ) – Nepal Press

एमाले फकाउँदै अशोक राईले भने- समृद्ध नेपाल, सुखी नेपालीको प्रिय नारा साकार पार्न आएको हुँ (भिडिओ)

‘एमाले-जसपा समिकरणले भोलिको सरकार बनाउनुपर्छ, हाम्रो पार्टी एकता पनि हुनसक्छ’

धरान । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेकपा एमालेले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको ‘प्रिय नारा’ अधूरो रहेको भन्दै त्यसलाई पूरा गर्न एमालेसँग जसपाले चुनावी तालमेल गरेको बताएका छन् ।

धरानमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले सुनसरी १ एमालेको बलियो र सघन जनमत रहेको क्षेत्र भएपनि सुनसरीका अन्य तीन क्षेत्रमा जसपाको मत एमालेलाई जाने भएकाले आफूलाई मत दिन आग्रह गरे । उनले आफूलाई एमालेले समर्थन गर्नुको राष्ट्रिय महत्व रहेको समेत बताए ।

राईले भने- हाम्रो यो समिकरणलाई सरकारमा पुर्‍याउनु पर्ने राष्ट्रिय महत्व छ । विगतदेखि नै एमालेले समृद्ध नेपाल,सुखी नेपाली भनेर प्रिय र सुन्दर नारा अघि सारेको छ । त्यसका काम अधुरा छन् । ती काम पूरा गर्नका निम्ति शक्तिसाली दलको रुपमा शक्ति,बलियो शक्तिका रुपमा समिकरण जान जरुरी छ । त्यसैले अप्ठेरो मान्नु पर्दैन ।

राईले एमाले र जसपाबीच पार्टी एकता हुने सम्भावनालाई समेत इन्कार गर्न चाहेनन् । पत्रकारको प्रश्नको जवाफ दिँदै उनले राजनीतिमा अनन्त सम्भावना हुने भएकाले पार्टी एक हुने कुरालाई इन्कार गर्न नसकिने बताए ।

उनले आफू प्रतिनिधि सभामा उम्मेदवार भए पनि प्रदेशका दुवै सीटमा एमालेका रमेश बस्नेत र विजय राई उम्मेदवार भएकाले एमालेको मत खेर नजाने बताए । धरानका पूर्व मेयर मनोज मेन्याङ्बो अशोकविरुद्ध बागी उठेका छन् र उनलाई एमालेको कार्यकर्ता पंक्तिले साथ दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर