जसले टिकट पाएकोमा नेताको बधाई खाए, बालुवाटारको झ्यालबाट अर्कैले फुत्काए – Nepal Press

जसले टिकट पाएकोमा नेताको बधाई खाए, बालुवाटारको झ्यालबाट अर्कैले फुत्काए

पोखरा । असोज २३ गते उम्मेदवारी मनोनयनको दिन । बागलुङ २ को प्रदेशसभा निर्वाचन क्षेत्र (क) र (ख) बाट उम्मेदवार बनेको भन्दै मञ्जेश बम मल्ल र टेकराज पौडेललाई बधाई दिन थालियो । एकैछिनमा मञ्जेशको काटियो भन्दै ध्रुव गौतमको फाइनल भयो ।

फेसबुकलगायतका सामाजिक सञ्जालमा टेकराज र ध्रुव गौतमलाई बधाई र शुभकामनाका पोस्ट छरिए । उम्मेदवारी मनोनयन गर्ने दिनको बिहानै उनीहरुलाई टिकट पाएको भन्दै जानकारी गराइएको थियो । नेताहरुले नै दुवैजनालाई टिकट मिलेको भन्दै संसदीय बोर्ड बैठकबाटै जानकारी गराएका थिए ।

२२ गते रातिदेखि बसेको कांग्रेस संसदीय बोर्डको बैठकले यी दुईलाई बागलुङ २ का प्रदेशसभा निर्वाचन लड्ने पक्का गरेको थियो । बैठकमा सहभागी गण्डकीका नेताहरु बिहान निस्के । टिकट पाएका गौतम र पौडेल मनोनयन दिन जाने तरखरमा थिए ।

तर, मनोनयनका समयमा कांग्रेसबाट यी दुई क्षेत्रमा जीत शेरचन र लक्ष्मण पुनले उम्मेदवारी दर्ता गराए । मल्लमात्र होइन गौतम र पौडेल पनि जिल्लिए । उनीहरु बालुवाटारमै टिकटको प्रिन्ट लिन बसेका वेला अर्को टोली टिकट लिएर चोर बाटोबाट निस्किएपछि खुइय गर्दै बालुवाटारको पटांगिनीमा थचक्क बसे ।

टिकट पक्का भएको भनिए पनि मल्ल, गौतम र पौडेललाई पार्टीले अहिलेसम्म पछि के भएर टिकट खोसियो भन्ने जानकारी गराएको छैन । उनीहरुको सट्टा अर्कैले टिकट उडाएर अहिले उम्मेदवार बनिसकेका छन्, चुनावी प्रचारप्रसारमा पनि लागि सकेका छन् ।

बागलुङ १ तर्फ शेखर-गगन समूहका डिल्लीराम सुवेदीले प्रदेशमा टिकट पाएपछि उता मञ्जेशको ठाउँमा पार्टीले देउवा पक्षका धु्रवलाई टिकट फिक्स गरेको थियो । तर, अन्तिममा कृष्ण सिटौलाले ध्रुवको ठाउँमा जीत शेरचनलाई टिकट दिलाए ।

‘हामीलाई उम्मेदवार बन्नुभयो भनेर खबर गरियो, पछि टिकट पाइएन अर्कैले लिएर गएछन् । अहिलेसम्म के कारणले टिकट खोसिएको भनेर पार्टीले जानकारी गराएको छैन’, पौडेलले नेपालप्रेससँग भने ।

मल्ल र पौडेलेको टिकट पक्का भए पनि अन्तिममा नाम काटिएको गण्डकी कांग्रेसका सभापति शुक्रराज शर्मा बताउँछन् । मल्ल र पौडेलको नाममा निर्णय भएपछि आफू बोर्डको बैठकबाट बाहिरिएको र पछि के कारणले नाम काटियो थाहा नभएको शर्माले प्रतिक्रिया दिए ।

‘उहाँहरुको नाममा निर्णय भएपछि म बैठकबाट निस्केको हुँ । पछि के कारणले काटियो, मलाई थाहा भएन’, शर्माले भने । मुख्यमन्त्रीका दाबेदार मानिएका सुरेन्द्र पाण्डेले समेत पौडेल र गौतमलाई बधाई दिएका थिए ।

बागलुङ २ क बाट उम्मेदवार बनेका शेरचन बागलुङमा पुरानै अनुहार हुन् । तर, बागलुङ २ (क) मा भने नयाँ । नयाँ यस अर्थमा कि उनी यसअघिका सबै चुनाव २ (ख) बाट लडेका थिए । कांग्रेसका जिल्ला सभापति शेरचन यसअघि दुईपटक प्रदेशसभा निर्वाचनमा पराजित भइसकेका छन् ।

उनी २०७४ को प्रदेशसभा निर्वाचनमा बागलुङ २ (ख) बाट लडेका थिए । उक्त निर्वाचनमा शेरचन राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीसँग ३२ सय मतान्तरले पराजित भएका थिए । २०७६ को उपनिर्वाचनमा पनि घर्ती सोही क्षेत्रमा उम्मेदवार बने । सो चुनावमा पनि घर्ती राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीसँग पराजित भए ।

शेरचन मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा पनि उम्मेदवार बनेका छन् । यसअघि दुवै पटक राष्ट्रिय जनमोर्चाका उम्मेदवारसँग पराजित शेरचन अहिले भने जनमोर्चाकै सहयोगमा जित्ने दाउमा छन् ।

अर्कोतर्फ उम्मेदवारीको चाहना राखेका मञ्जेश बम मल्लको भने खाली हात भएको छ । कांग्रेसले राणा शासनविरुद्ध सशस्त्र क्रान्ति गर्दा सहिद भएका थिरबम मल्लका नाति हुन् मञ्जेश ।

‘टिकट पाउँछु कि भन्ने थियो, अन्त्यमा पाइनँ । अब शेरचनजीलाई जिताउन लाग्छु’, मञ्जेशले भने ।

टेकराजले पाएको टिकट भने द्रोणकुमार कुँवरले खोसेका छन् । कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरको लागि गाँस, बास, कपासलगायत सबै आवश्यकता पूरा गर्ने र गाडीमा घुमाउने गरेका कारण कुँवरले अन्तिममा टिकट लिएर गए ।

बागलुङ २ (ख) बाट कांग्रेसको टिकट पाएका द्रोणकुमार कुँवर बागलुङ २ कांग्रेसका पूर्वक्षेत्रीय सभापति बनिसकेका छन् र उनी व्यवसायिक पृष्ठभूमिका हुन् । यो क्षेत्रमा एमालेले लक्ष्मण पुनलाई उम्मेदवार बनाएको छ । एमालेका जिल्ला उपाध्यक्ष पुन ढोरपाटन नगरपालिका ५ का पूर्ववडाध्यक्ष पनि हुन् ।

बोर्डले दिएको टिकट कसले खोस्यो ?

संसदीय बोर्डले रातभर बसेर बिहान टुंग्याएको टिकट कसरी खोसियो ? गण्डकी प्रदेशका कांग्रेस सभापति शर्मा नै प्रश्न गरिरहेका छन् । स्रोतका अनुसार टिकट फाइनल भयो भनेर बोर्डमा रहेका नेताहरु आआफ्नो बाटो लागेका थिए । त्यही मौकामा विभिन्न क्षेत्रका उम्मेदवार हेरफेर गर्न बालुवाटारमा केही नेता सक्रिय भए ।

अन्तिम समयमा पैसाको चलखेलमा केही क्षेत्रको टिकट अर्कैले लैजाने क्रममा बागलुङका दुई प्रदेशसभाको टिकट पनि फेरियो । सुरुदेखि नै कृष्ण सिटौला र किशोरसिंह राठौरले बागलुङको टिकटमा चासो दिएका थिए । त्यही क्रममा सिटौलाले शेरचन र राठौरले कुँवरको नाममा टिकट हेरफेर गरेका थिए ।

‘शक्ति बढाउन’ दलबदललाई एमालेको टिकट

बागलुङमा एमालेले पार्टी परिवर्तन गरेका ३ जनालाई टिकट दिएको छ । प्रतिनिधिसभामा १ र प्रदेशसभामा उम्मेदवार बनेका एमालेका २ जनाले कांग्रेस र माओवादी पार्टी छाड्नेबित्तिकै टिकट पाएका हुन् ।

बागलुङ २ बाट एमाले उम्मेदवार बनेकी मञ्जु शर्मा चालिसे कांग्रेस त्यागेर एमाले भएकी हुन् । कांग्रेसबाट स्थानीय चुनावका बेला गलकोटको मेयर नपाएपछि चालिसे स्वतन्त्र उठेकी थिइन् । उनले एक्लै ३ हजार ५०० मत ल्याएकी थिइन् ।

अहिले उनैलाई पार्टी प्रवेश गराएर एमालेले प्रतिनिधिसभाको टिकट दिएको छ । उनका प्रतिद्वन्द्वी शिक्षामन्त्री तथा माओवादी सचिव देवेन्द्र पौडेल हुन् ।

बागलुङ २ (क) मा एमालेले अहिले कुनै उम्मेदवार नै उठाएको छैन । माओवादी त्यागेर स्वतन्त्र उम्मेदवार बनेका प्रकाश घर्तीलाई एमालेले समर्थन गर्ने निर्णय गरेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा बागलुङको ताराखोला गाउँपालिकामा अध्यक्ष जितेका घर्तीले अहिलेको चुनावमा टिकट नपाएपछि माओवादी त्यागेका हुन् । औपचारिक रुपमा एमाले प्रवेश नगरेको भए पनि घर्तीलाई एमालेले जित्न सक्ने उम्मेदवार मान्दै समर्थन गरेको हो ।

बागलुङ १ (ख) मा एमालेले नवराज पौडेललाई उम्मेदवार बनाएको छ । पौडेलको राजनीतिक यात्रा भने कांग्रेसबाट सुरु भएको हो । कांग्रेसका पूर्वजिल्ला सचिव पौडेल टिकट नपाएपछि स्थानीय चुनावका वेला नै एमाले प्रवेश गरेका हुन् । अहिले उनलाई एमालेले प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाएको छ ।

बागलुङमा राजनीतिक शक्ति बढाउन एमालेले पार्टी छाडेकाहरुलाई सहयोग गरेको एमाले गण्डकीका अध्यक्ष नवराज शर्मा बताउँछन् । उम्मेदवारहरुले पहिला संगठित बनेको पार्टीको भोट ल्याउन सक्ने र शक्ति सन्तुलन बढाउन सक्ने भएकाले एमालेले बागलुङमा दलबदललाई टिकट दिने नीति लिएको उनले बताए ।

‘शक्ति सन्तुलन मिलाउन लेनदेनको सहमतिस्वरुप उहाँहरुलाई उठाएका हौं’, शर्माले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर