चुनावी मैदानमा नवराज सिलवालपछि रमेश खरेल र सर्वेन्द्र खनालको अर्थपूर्ण ‘इन्ट्री’ – Nepal Press

चुनावी मैदानमा नवराज सिलवालपछि रमेश खरेल र सर्वेन्द्र खनालको अर्थपूर्ण ‘इन्ट्री’

काठमाडौं । नेपाल पुलिसमा नवराज सिलवाल, रमेश खरेल र सर्वेन्द्र खनाल सेलिब्रेटी छिवका पूर्वअफिसर हुन् । सिलवाल, खरेल र खनालभन्दा एक ब्याच सिनियर हुन् । खरेलले खनालभन्दा करिब एक वर्ष पहिला प्रहरीमा सेवा सुरु गरे पनि दुवैले प्रहरी निरीक्षकमा एकैपटक नाम निकालेका थिए ।

तर, यी तीनबीच केही समानता छन् । तीमध्ये चर्चामा रहेको समानता भनेको उनीहरु तीनै जना राजनीतिमा आउनु हो । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ खनाल र खरेलले काठमाडौंमा उम्मेदवारी दिएका छन् भने सिलवालले ललितपुरबाट ।

सिलवालले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ललितपुर १ बाट जितेका थिए । यसपटक फेरि उनी ललितपुर १ मै उम्मेदवार बनेका छन् । खनाल काठमाडौं ६ र खरेल काठमाडौं १ मा उम्मेदवार बनेका छन् । खनाल र खरेलको यो पहिलो चुनावी प्रतिस्पर्धा हो ।

सरकारसँग आक्रोश, राजीनामा र राजनीति

यीमध्ये सरकारसँग असन्तुष्टि जनाउँदै सिलवाल र खरेलले प्रहरीको डीआईजीबाटै राजीनामा दिएका थिए । आफू पहिलो नम्बरको डीआईजी हुँदाहुँदै कनिष्ट डीआईजीलाई आईजीपी बनाएको भन्दै सिलवाल सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले सरकारको निर्णय त उल्टायो । तर, सिलवाल आईजीपी हुन सकेनन् ।

सरकारले प्रकाश अर्याललाई आईजीपी बनाएपछि सर्वोच्च पुगेका सिलवालको रिट नै खारेज भयो र उनले २०७४ भदौमा प्रहरीबाट राजीनामा दिएर अवकाश लिए । एमाले निकट भएको भन्दै बढुवामा अन्याय गरिएका सिलवाल राजीनामालगत्तै सोही पार्टीमा आबद्ध भए । लगत्तै प्रतिनिधिसभा निर्वाचनमा उनी प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेर सांसद बन्न सफल भए ।

यता खरेलले पनि आफूलाई अन्याय भएको भन्दै २०७४ चैतमा प्रहरीबाट राजीनामा दिएर अवकाश लिएका थिए । सिलवालको पालामा जस्तै उनको पालामा पनि डीआईजीबाट सोझै आईजीपी छनोट गर्नुपर्ने अवस्था थियो । खरेललाई पछि पारेर पहिलो नम्बरमा डीआईजी बनेको करिब ९ महिनामै खनाल आईजीपी भएका थिए । त्यसपछि खरेलले आफूले अपमान सहेर जागिर नखाने भन्दै राजीनामा दिएका थिए ।

लगत्तै उनले भष्ट्रचारविरुद्ध अभियान सुरु गरेर भविष्यमा राजनीतिमा आउने संकेत गरेका थिए । गत स्थानीय तह निर्वाचनमा खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले केही ठाउँमा जीत हात पारेको थियो ।

नेपाल प्रहरीबाट अवकाश भएको झन्डै ३२ महिनापछि खनाल औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेको एक महिना नबित्दै एमालेले खनाललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।

सजिलो छैन यात्रा

अहिलेको चुनावमा दशकौंको राजनीतिक पृष्ठभूमि भएका नेताहरु प्रत्यक्षतर्फ उठ्न डराइरहेका छन् । उठेका पनि सजिला क्षेत्र रोजिरहेका छन् । यस हिसाबले काठमाडौं उपत्यकाजस्तो ठाउँमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचन लड्नु सिलवाल, खरेल र खनाललाई सजिलो छैन ।

तर, सिलवालले एकपटक आफूलाई सफल बनाइसकेका छन् । यसपटक उनीसामु उही पुरानै प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदय शमशेर राणालाई पछाडि पार्नुपर्नेछ ।

काठमाडौं १ मा खरेलले कांग्रेसकै प्रकाशमान सिंह, राप्रपाका रवीन्द्र मिश्र, एमालेका किरण पौडेल र नेपाल स्वतन्त्र पार्टीका पुकार बमलगायतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। प्रकाशमान सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । गत निर्वाचनमा यो क्षेत्रबाट सिंहले चुनाव जितेका थिए ।

गत स्थानीय निर्वाचनमा सिंहकी श्रीमती सृजना काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।

यस्तै काठमाडौं ६ मा खनालका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका भीमसेनदास प्रधान रहेका छन् । नयाँ राजनीतिक दल भएकाले खरेललाई खनाल र सिलवालको तुलनामा बढी कठिन देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर