शीर्ष नेतामध्ये ओलीका प्रतिस्पर्धी धेरै, अरुका कति ? – Nepal Press

शीर्ष नेतामध्ये ओलीका प्रतिस्पर्धी धेरै, अरुका कति ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचमा प्रमुख राजनीतिक दलका शीर्ष नेतामध्ये केपी शर्मा ओलीका प्रतिस्पर्धी धेरै रहेका छन् । ओलीले उम्मेदवारी दिएको झापा क्षेत्र नम्बर ५ मा राजनीतिक दलबाट १३ र स्वतन्त्र १४ गरी २७ जनाले उम्मेदवारी दिएका छन् ।

ओलीको क्षेत्रका सबैभन्दा पाका उम्मेदवार उनी आफैं हुन् । उनी ७० वर्षका छन् ।

झापा ५ मा ओलीसँगै नेपाली कांग्रेसका खगेन्द्र अधिकारी, जनता समाजवादी पार्टी नेपालका ओममाया आङदेम्बे, नेपाल मजदुर किसान पार्टीका रुद्रप्रसाद दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका चन्द्रप्रसाद राजवंशी उम्मेदवार रहेका छन् ।

यस्तै जनमत पार्टीका भीम राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनका सानबहादुर मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कविन्द्र शेर्मा लिम्बू, नेशनलिस्ट पिपल्स पार्टीका राजन चुडाल, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर जवेगु, नेपाली कांग्रेस (बीपी) का शेखरनाथ सेडाइ, सचेत नेपाली पार्टीका रामप्रसाद पाठक र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल उम्मेदवार छन् ।

स्वतन्त्रतर्फ रेवतीरमण खनाल, रोहितप्रसाद पौड्याल, कल्पना लावती, शान्ता अधिकारी, तीर्थेश्वर चौधरी, सीताराम पोख्रेल, भेषराज भट्टराई, विष्णुप्रसाद सिग्देल, केदारनाथ चापागाई‌, दीपककुमार पाठक, रामचन्द्र बानियाँ, तुलसीराम काफ्ले, सुलोचना राजवंशी र इन्द्रमणि दाहाल उम्मेदवार छन् ।

त्यस्तै दोस्रोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्रमा बढी उम्मेदवारी परेको छ । रौतहट क्षेत्र नम्बर १ मा नेपालसँगै ८ जनाले राजनीतिक दल र ९ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

यहाँ एमालेबाट अजयकुमार गुप्ता, नेपाल मजदुर किसान पार्टीबाट बैद्यनाथप्रसाद चौधरी, जनमत पार्टीका राजेन्द्रप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सरोज कुमारी, नेपाल सुशासन पार्टीका रंजितकुमार पटेल, नेपाली जनता दलका सुबोधचन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यदेवप्रसाद कोइराला उम्मेदवार रहेका छन् ।

स्वतन्त्रतर्फ रेवन्त झा, अवधेशकुमार ठाकुर, राहुलकुमार मिश्र, अनिलकुमार लालदास, रामआधार महतो कोइरी, मोहम्मद जियाउल हक, चन्दनकुमार जयसवाल, कोशिला देवी र रामबलीकुमार यादव रहेका छन् ।

नेपालले उम्मेदवारी दिएको क्षेत्रमा पनि सबैभन्दा पाका उम्मेदवार स्वयम् नेपाल नै छन् । उनी ६९ वर्षका छन् ।

ओली र नेपालपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बढी प्रतिस्पर्धी रहेका छन् । गोरखा क्षेत्र नम्बर २ मा प्रचण्डसँगै १० जनाले राजनीतिक दल र ३ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

उनको क्षेत्रमा एमालेबाट अब्दुससलाम मियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुशील पन्त, नेपाल मजदुर किसान पार्टीबाट प्रलाद लामिछाने, हाम्रो नेपाली पार्टीबाट प्रकाश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कुलबहादुर बस्नेत, नेकपा मार्क्सवादी लेलिनवादीबाट नारायणबाबुर आचार्य, मंगोल नेशनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङ, नेपाली कांग्रेस (बीपी)बाट टीकादत्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी रहेका छन् ।

स्वतन्त्रतर्फ गणेश देवकोटा, विनोदकुमार गुरुङ र डा. माधवी पराजुली रहेका छन् ।

प्रचण्डको निर्वाचन क्षेत्रमा सबैभन्दा पाकामा ९९ वर्ष उमेरका नेपाली कांग्रेस (बीपी)का टीकादत्त पोखरेल रहेका छन् । ६६ वर्षका प्रचण्ड दोस्रो रहेका छन् ।

शीर्ष नेतामध्ये सबैभन्दा कम प्रतिस्पर्धी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाख खनालले पाएका छन् । डडेल्धुरामा देउवासँगै ११ जनाले मात्रै उम्मेदवारी दिएका छन् ।

यहाँ सबैभन्दा जेठा ८४ वर्षीय स्वतन्त्र उम्मेदवार कर्णसिंह रावल रहेका छन् । प्रधानमन्त्री देउवा दोस्रो जेठा उम्मेदवार हुन् । उनी ७७ वर्षका छन् ।

डडेल्धुरामा देउवाविरुद्ध एमालेका चक्रप्रसाद स्नेही, जसपा नेपालका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, राप्रपा नेपालका कालीप्रसाद जोशी, कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, स्वतन्त्रतर्फ विक्रमबहादुर शाही, सागर ढकाल र दानबहादुर पालले पनि उम्मेदवारी दिएका छन् ।

इलाम क्षेत्र नम्बर १ मा खनालविरुद्ध ११ जनाले नै उम्मेदवारी दिएका छन् । उनीविरुद्ध एमालेका महेश बस्नेत, जनता समाजवादी पार्टी, नेपालका कमलकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा, मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्जका जीतकुमार मुखिया, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बु र कांग्रेस (बीपी)का गणेशप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रतर्फ विक्रम पाण्डे, नेत्रप्रसाद रेग्मी र निमा तेन्जीङ शेर्पा उम्मेदवार छन् । खनालको क्षेत्रमा सबैभन्दा पाका उम्मेदवार उनी आफैं छन् । उनी ७२ वर्षका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर