गठबन्धनको सत्ता स्वार्थबाहेक अरू कुनै उद्देश्य छैन: वामदेव गौतम – Nepal Press

गठबन्धनको सत्ता स्वार्थबाहेक अरू कुनै उद्देश्य छैन: वामदेव गौतम

लोकप्रिय व्यक्तिलाई छनोट गरेर मतदान गर्न आह्वान

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कुनै गठबन्धनलाई समर्थन नगर्ने भएका छन्।

नेकपा माओवादी केन्द्रका चुनाव चिन्हबाट लड्ने अन्तिम तयारी गरिरहेको बेलामा सहमति कार्यान्वयन नभएपछि सत्ता र एमाले गठबन्धनको विरोधमा उत्रिएका हुन्।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो पार्टीले निर्वाचनलाई आफ्नो भाग्य र भविष्य सुनिश्चित गर्ने नेपाली जनताको सबैभन्दा ठूलो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने अवसरका रुपमा लिनु पर्दछ, भन्ने मान्यता राख्दछ। यो हाम्रो अधिकार मात्र नभएर महत्वपूर्ण कर्तव्य पनि हो। त्यसो भएर हामीले निर्वाचन वहिस्कार गर्नु हन्न मतदानमा भाग लिएर आफ्नो कर्तव्य पुरा गर्नुपर्छ। तर निर्वाचनमा भाग लिन आफ्नो पार्टी छैन र सिद्धान्त विहिन पार्टीका नाममा मतदान गर्न पनि सकिन्न।’

पार्टीका सबै नेताहरुलाई निर्वाचनमा आफ्नो अमूल्य मत कुनै लोकप्रिय उमेदवारलाई जाहेर गर्न आग्रह गरेका छन्।

‘सिद्धान्त, विचार, नीति, योजना र देश विकासको स्पष्ट खाकाविहीन अवस्थामा मुलुकका मुख्य राजनीतिक पार्टीहरु दुई गठबन्धनमा आवद्ध भएका छन्’ उनले भनेका छन्, ‘यी दुवै गठबन्धनको उच्चतम् उद्देश्य संसदमा आफ्नो पक्षको बहुमत बनाएर आफ्नै नेतृत्वको सरकार कसरी बनाउने भन्ने वाहेक अरु केही रहेको देखिन्न।’

गठबन्धनमा आवद्ध भएका कतिपय पार्टीले मतदातालाई झुक्याउन चुनावी घोषणापत्र जारी गरेपनि त्यसको अर्थ नभएको बताएका छन्।

अहिले देखा परेको दुइ गठबन्धन बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावनाको विरुद्ध भएको आरोप लगाएका छन्। गठबन्धनका कृयाकलापले नेपालको संविधानको अक्षर र भावनाको खिल्ली उडाएको टिप्पणी गरेका छन्।

संविधान विपरित भएकाले आफ्ना्े पार्टीले कसैलाई पनि समर्थन गरेर मतदान नगर्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर