अदालतमा सन्दीपका दुई दलिल, आपसी उल्झनमा दुई वकिल – Nepal Press

अदालतमा सन्दीपका दुई दलिल, आपसी उल्झनमा दुई वकिल

काठमाडौं । यौनजन्य अपराधको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने बारम्बार दोहोर्‍याइरहेका छन्- म निर्दोष छु र मलाई गम्भीर षड्यन्त्रको शिकार बनाउन खोजिँदैछ ।

आज म्याद थपका लागि अदालतमा भएको सवालजवाफमा पनि उनले आफूमाथि लागेको आरोप ठाडै अस्वीकार गरे ।

सन्दीपले आफूलाई ‘निर्दोष’ बताइरहँदा अदालतमा दुइटा प्रारम्भिक दलिल पेश गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीशसँग उनले पीडित भनिएकी जाहेरीकर्ता वास्तविक नाबालिग नभएको बताए । जाहेरीकर्ताले आफ्नो वास्तविक उमेर १९ वर्ष भए पनि भविष्यमा फाइदा पुग्ने गरी नागरिकतामा उमेर घटाएको बताएको उनको भनाइ छ ।

सन्दीपको अर्को दलिल थियो- जाहेरीकर्ताकै आग्रहमा आफूहरु घुम्न गएको । आफूले जाहेरीकर्तालाई कुनै खालको जबरजस्ती नगरेको सन्दीपको भनाइ छ ।

के यी दुई दलिलहरु सन्दीपलाई निर्दोष सावित गर्न पर्याप्त होलान् ?

कानूनतः १८ वर्षसम्मका किशोरीसँग सहमतिमै यौन सम्बन्ध भए पनि त्यसलाई बलात्कार मानिन्छ । तर, १८ वर्षभन्दा माथिको युवतीसँग सहमतिमा भएको यौन सम्बन्धलाई भने कानूनले बलात्कार मान्दैन । त्यसैले यदि सन्दीपले भनेजस्तो जाहेरीकर्ता १८ वर्ष नाघेको र सहमतिमै सम्बन्ध रहेको पुष्टि गर्न सके सन्दीप निर्दोष सावित हुनेछन् । तर, यदि जबरजस्ती सम्बन्ध राखेको आधारहरु देखिए भने उमेर बढी हुँदैमा उनलाई छुट्कारा मिल्दैन ।

प्रहरीका अनुसार पीडित भनिएकी जाहेरीकर्ताको उमेर १७ वर्ष रहेको प्राप्त कागजातबाट देखिएको छ । तर, आज सन्दीपकी वकिल सुधा रिजालले सञ्चारकर्मीसँग कुरा गर्दै जाहेरीकर्ताको जन्मदर्तामा नै गडबडी रहेको बताइन् । निजले दुईवटा जन्मदर्ताको प्रमाणपत्र बनाएको भन्दै उनले दोस्रोपटक निकालेको प्रतिलिपि जन्मदर्ताअनुसार पीडित भनिएकी युवती नाबालिग नरहेको दाबी गरिन् ।

रिजालले यस्तो दाबी गरिरहँदा सन्दीपका मुख्य वकिल सरोजकृष्ण घिमिरेले भने यस विषयमा अनभिज्ञता दर्शाए । जन्मदर्ताको विषयमा आफूहरुबीच यसअघि कुनै छलफल नभएको र रिजालले एक्कासि कुरा निकालेको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

‘यदि त्यस्तो प्रमाण छ भने त्यो सबै डकुमेन्ट मकहाँ आउनुपर्ने थियो’, उनले भने ।

घिमिरेको यस्तो भनाइले सन्दीपको तर्फबाट लडिरहेका कानून व्यवसायीबीच नै आपसी अविश्वास र सामञ्जस्यता अभाव देखिन्छ । सन्दीप विदेशमा हुँदादेखि नै दुवै कानून व्यवसायीसँग सम्पर्कमा थिए । अहिले उनीहरुबीच नै कसले मुद्दाको अगुवाइ गर्ने भन्ने प्रतिस्पर्धा देखिएको छ । सन्दीपले घिमिरेलाई सबै जिम्मा दिएका छन् भने उनका केही निकटस्थ व्यक्तिहरु चाहिँ महिला पनि भएको हिसाबले रिजाललाई अघि सार्नुपर्ने पक्षमा रहेको बुझिएको छ ।

कानून व्यवसायीहरुले आफ्नो तर्फबाट गर्नुपर्ने अध्ययन अनुसन्धान नै सुरु भएको छैन । तर, रिजालले कुनै ठोस प्रमाणविना अपरिपक्व तरिकाले जन्मदर्ताको कुरा निकालेपछि घिमिरे असन्तुष्ट बनेका हुन् ।

प्रहरी स्रोतका अनुसार जाहेरीकर्ताले बुझाएको नागरिकतामा उनको उमेर १७ वर्ष देखिन्छ । यद्यपि, आगामी दिनहरुमा यस सम्बन्धमा बृहत अनुसन्धान हुने नै छ । जाहेरीकर्ता नबालिग होइनन् भन्ने पुष्टि गर्न सन्दीपका वकिलहरुले बलिया प्रमाणहरु पेश गर्नुपर्नेछ । अहिलेसम्म उनीहरुसँग यस्ता प्रमाणहरु उपलब्ध रहेको बुझिँदैन । किशोरीले जन्मदर्ताको अर्को प्रतिलिपि बनाएको हो भने पनि त्यसका अरु नै कारण हुन सक्छन् ।

यदि जाहेरीकर्ता नाबालिग नरहेको पुष्टि गर्न नसकेको खण्डमा सन्दीपलाई सजायबाट जोगिन निकै कठिन देखिएको छ । सन्दीप र किशोरीसँगै होटलमा गएको सीसीटीभी फुटेजमा देखिएको छ । उनीहरु एउटै रुममा सुतेको होटलका स्टाफहरुले बताएका छन् । सन्दीपले भनेजस्तो यदि किशोरीकै आग्रहमा वा आपसी सहमतिमै घुमघाम गरेर होटलमा बास बसेका हुन् भने पनि उनलाई कानूनले छुट्कारा दिँदैन । यदि उनीहरुबीच शारीरिक सम्बन्ध भएको पुष्टि भएमा सन्दीप दोषी ठहरिनेछन् ।

तर, एउटै कोठामा सुतेको पुष्टि हुँदैमा बलात्कार ठहर नहुने कानून व्यवसायीहरु बताउँछन् । बलात्कार ठहरिन उनीहरुबीच यौन सम्पर्क नै भएको हुनुपर्छ । मेडिकल परीक्षणबाट किशोरीको कन्याजाली च्यातिएको देखिन्छ । कन्याजाली च्यातिनुका अरु पनि विभिन्न कारण हुनसक्ने भनेर हालैमात्र पल शाहको मुद्दामा अदालतले गरेको फैसलाको नजिर छ । यदि यौन सम्बन्धबाटै कन्याजाली च्यातिएको हो भन्ने पुष्टि भयो भने पनि त्यो सन्दीपसँगैको सम्बन्धबाट हो भन्ने पुष्टि हुँदैन ।

त्यसैले सन्दीपसँग शारीरिक सम्पर्क भएकै हो भनेर सावित गर्नु वादीतर्फका वकिलहरुका निम्ति पनि कम्ति चुनौतिपूर्ण भने छैन ।

अदालतले पहिलोपटकलाई ७ दिनको समय दिएको छ । तर, प्रहरीले अधिकतम २४ दिनसम्म सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ ।


प्रतिक्रिया

One thought on “अदालतमा सन्दीपका दुई दलिल, आपसी उल्झनमा दुई वकिल

  1. सन्दिप लाइ बचाउन यो पत्रिका ज्यान फालेर लागेको छ । दलिल ले निर्दोश साबित हुन्छ र कोहि? दलिल प्रमानित गर्ने जिम्मा त दलिल गर्ने कै होला फेरि त्यो कस्ले गर्दिन्छ? धत्त वाहियात ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *