मारकाटमुक्त होस् हाम्रो पौराणिक संस्कृति वडा दसैं – Nepal Press

मारकाटमुक्त होस् हाम्रो पौराणिक संस्कृति वडा दसैं

हाम्रा पौराणिक संस्कृतिमा परापूर्वकालको मानव जातिको इतिहास दर्ज भएको छ । आजको तुर्कीमा आइपुग्दा हाम्रा पुर्खाहरु मातृप्रधान समाजमा विकसित भएका थिए । त्योभन्दा पहिले मानव जाति अत्यन्त पिछडिएको जंगली अवस्थामा थियो । कास्पियन सागरको किनारमा आइपुग्दा समाज पितृप्रधानउन्मुख भएको पाइन्छ । त्यो काल महापण्डित बालकृष्ण पोख्रेलका अनुसार ई.पू. १० हजार वर्ष करिब मानिन्छ । त्यसलाई आधार मान्दा हाम्रो मातृप्रधान समाज ई.पू.१५-२० हजार वर्ष पहिलेको अनुमान गर्न सकिन्छ ।

आज हामीले सम्झना गर्ने दुर्गाहरु त्यही कालका महामाताहरु हुन् । आज संसारभरि फैलिएका आर्य-खस जाति तिनै महामाताहरुका सन्तान हुन् । मेरो मान्यता के हो भने शिवालिक पर्वतमालामा विकसित भएको मानव जातिको एउटा हिस्सा हामी हौं । दक्षिण एसियाबाट पूर्वी एसिया हुँदै उत्तर एसिया अनि युरोप हुँदै हामी पुनः शिवालिक पर्वतमाला आएर अवस्थित भएका छौं । यसरी एक चक्कर पूरा गर्न करिब ३० लाख २ हजार २२ वर्ष लागेको छ । दुर्गा संस्कृति हाम्रो इतिहास हो । यसलाई हरेक वर्ष सम्झना गर्नु हाम्रो परम कर्तव्य हो । तर, सम्झना गर्दा मारकाट र हत्या-हिंसामुक्त हुन भने सक्नुपर्छ ।

कृषि उत्पादन र कृषि संस्कृतिले मानव जातिलाई विकसितमात्र गरेन सबै हिसाबले उच्चस्तरको संस्कृतिले उच्चस्तरको सभ्यताको युगमा पनि प्रवेश गराएको हो ।

हाम्रा महामाता दुर्गाहरुको सम्झनामा ई.पू. ५ हजार वर्षदेखि हाम्रा पुर्वजहरुले कृषि उत्पादनलाई समर्पित गरेका छन् । ई.पू. ५ हजार वर्ष पहिले आर्यहरुको एउटा शाखा सिन्ध नदी उपत्यकामा प्रवेश गरेको मानिन्छ र त्यही आएपछि यो मानव समूह कृषि उत्पादनमा संलग्न भएको हो । यो समूह त्यहीदेखि वैदिक संस्कृतिमा पनि प्रवेश गरेको हो । यसले आफूलाई आर्य नामकरण पनि त्यही वेलादेखि गरेको हो । कृषि उत्पादनमा प्रवेश गरेपछि नै हाम्रा पुर्खाहरु सभ्यताको युगमा प्रवेश गरेको मानिएको छ ।

त्यसपछि गंगाको मैदान हिमाली क्षेत्र हुँदै दक्षिण र दक्षिण पूर्वी क्षेत्रभरि यही जातीय समूह छरिएको हो । कृषि उत्पादन र कृषि संस्कृतिले मानव जातिलाई विकसितमात्र गरेन सबै हिसाबले उच्चस्तरको संस्कृतिले उच्चस्तरको सभ्यताको युगमा पनि प्रवेश गराएको हो । त्यहीदेखि चामलको टीका र जौको जमरालाई फूल मानेर शीरमा सिउरिने संस्कृतिको विकास भएको हो । यस महान पर्वलाई विभिन्न वीर वीरंगनाका सम्झनासँग पनि जोड्दै परम्परा बनाउने चलनहरु पनि चलेका छन् । पौराणिक ग्रन्थ रामायणका पात्र श्री राम, सीताहरण, रावणको हत्या जस्ता कथाहरु त्यस्तै एउटा चलन हो । यसपटकको हाम्रो महान पर्व वडा दसैं चन्द्र पात्रोअनुसार असोज महिनाको १९ गते परेको छ ।

यस महान पर्वको उपलक्ष्यमा देश र विदेशमा रहेका सबै नेपाली जनजनमा उन्नति, प्रगति र समृद्धिको हार्दिक मंगलमय शभकामना प्रकट गर्दछु ।

१२ असोज २०७९


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *