मिलन दोर्जीलाई बाबुको त्यो ‘सेन्टिमेन्टल ब्ल्याकमेल’, अनि तोक्पेगोला फर्किएर बनाए होमस्टे – Nepal Press

मिलन दोर्जीलाई बाबुको त्यो ‘सेन्टिमेन्टल ब्ल्याकमेल’, अनि तोक्पेगोला फर्किएर बनाए होमस्टे

इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका- ५ तोक्पेगोलाको बसाइसराइ दर हेर्ने हो भने गाउँ छोड्नेहरुको लर्को छ । धेरै तोक्पेगोला छोडेर युरोप अमेरिका पुगेका छन् । कतिपय दार्जिलिङ र केही काठमाडौं पुगेका छन् । यो भीडमा पृथक कथा छ मिलन दोर्जीको ।

४६ वर्षे उमेरमा मिलन गाउँ फर्किएका छन् । उनले होमस्टेमा लगानी गरेका छन् । तोक्पेगोलाका तीन होमस्टेमध्ये एक दोर्जीकै हो । उनीसँगै फुजुङ शेर्पा र तेन्जिङ शेर्पाले होमस्टे तयार गरेका छन् । फुजुङ र तेन्जिङले गाउँमै बसेर आफ्नो घरलाई केही व्यवस्थापन गरेर होमस्टे बनाएका हुन् । दोर्जीले होमस्टे बनाउनुमा भने बेग्लै भावनात्मक कथा छ ।

बसन्तपुरबाट काठमाडाैं हुँदै फेरि ताेक्पेगाेला

दोस्रो जनआन्दोलनअगाडि दोर्जी तेह्रथुमको बसन्तपुर बजारमा आए । उनले मिलन नामको होटल खोले । बसन्तपुरमा राम्रोसँग चलेको होटलले राम्रो आम्दानीमात्रै दिएन, उनलाई नयाँ नाम पनि दियो । उनलाई धेरैले ‘मिलन होटलको दोर्जी’ भन्दाभन्दै ‘मिलन दोर्जी’ भन्न थाले । उनको नामै फेरियो । बसन्तपुरमा आठ वर्षको होटल अनुभव लिएका उनी नयाँ ठाउँमा जान चाहे । त्यसै मेसोमा काठमाडौं हानिए । काठमाडौंको महाराजगञ्जमा उनले ताप्लेजुङ रेस्टुरेन्ट खोले, निरन्तर १३ वर्ष चलाए । अहिले काठमाडौंमा उनको घर पनि छ ।

बसन्तपुरको होटलबाट बढुवा भएर महाराजगञ्जको रेस्टुरेन्ट भएको उनको व्यवसाय अहिले गाउँमा होमस्टेमा रुपान्तरण भएको छ । उनी धमाधम होमस्टे बनाउन व्यस्त छन् । भदौ २० गते नेपाल प्रेससँग आफ्नो निर्माणाधीन होमस्टे परिसरमा गफिएका मिलन भन्दै थिए, ‘२०८० सालको नयाँ वर्ष बैशाखबाट यो सञ्चालनमा आउँछ ।’

२१ वर्ष सहरमा व्यवसाय गरेका उनी अहिले गाउँमा २०० हाराहारी याक पाल्छन्, होमस्टे निर्माणमा सक्रिय छन् । सहरबाट गाउँको यात्रा उनको बाध्यता जस्तै बन्यो । तर, उनी यसमा खुशी छन् । गाउँ आउन उनलाई थाइराइड क्यान्सरले थलिएका बाबुले ‘सेन्टिमेन्टल ब्ल्याकमेल’ भावुक आग्रह गरेका थिए । आफ्नो थातथलो नछोड्न मृत्यु हुनुअगाडि चार वर्ष पहिले बाउले भनेको आग्रह अझैसम्म दोर्जीको कानमा गुञ्जिन्छ । उनले बाबुको त्यो ‘सेन्टिमेन्टल ब्ल्याकमेल’ नकार्न सकेनन् ।

‘बाउले कान्छो छोरा कासाङ अमेरिका भएकाले माइलो ओङ्दी र म जेठोमा एक जना गाउँमै गएर सबै हेर्न भन्नुभयो’, दोर्जी भन्छन्, ‘माइलो काठमाडौंमै बस्ने भएपछि म यता आएको हुँ ।’

तीन दाजुभाइमात्रै हैन चार दिदीबहिनी पनि गाउँमा छैनन् । बिहे नभएकी जेठी दिदीसमेत काठमाडौंमै बस्छिन् । दोर्जी भने गाउँ फर्किएका छन्, गाउँमै अड्न लगानी गर्दैछन् । होमस्टे पूर्ण तयार हुन आधा करोड हाराहारी खर्च लाग्ने उनको अनुमान छ । उनी भन्छन्, ‘डेकोरेसन र अरु फिनिसिङको कामले त्योभन्दा धेरै पुग्न पनि सक्छ ।’

गाउँमै बक्स पलङ र आधुनिक शौचालय

तोक्पेगोलालाई शेर्पाहरुले ढोक्प्या भन्छन् । ढोक्प्याको सुन्दर झरनालाई उनीहरु फेम्फेमा झरना भन्छन् । माथि सोदु पोखरी र मुनि भुते पोखरी भएको तोक्पेगोला आसपास शेर्पा भाषामा छजुङठांगाला, यांसिरि, छैला, छजुला, फालुङ र सानुखोला जस्ता प्राकृतिक सम्पदा छन् । यी सम्पदाले घेरिएको तोक्पेगोला सानो उपत्यका जस्तै छ । त्यही उपत्यकाको सबैभन्दा सुन्दर लोकेसनमा छ दोर्जीको होमस्टे । निर्माणाधीन होमस्टेकाे कोठाका झ्यालबाट फेम्फेमा झरना र खोला देखिन्छ । सोदु पोखरी क्षेत्र देखिन्छ ।

तोक्पेगोलामै पहिलोपटक बक्स पलङ उनैले भित्र्याएका छन् । उनले व्यक्तिगत कोठा र आधुनिक शौचालय पनि भित्र्याएका छन् । शेर्पा संस्कृतिको झल्को दिन उनले घर वरिपरि लुङ्दार टाँगेका छन् । होमस्टेका हरेक कोठामा तोक्पेगोलाका प्राकृतिक सम्पदा झल्काउने पेन्टिङ झुन्ड्याएर पर्यटकलाई लोभ्याउने उनको योजना छ ।

कस्तुरी मृग, डाँफे, हाब्रे (रेड पान्डा), भालु, चितुवा, जंगली भेंडा, न्याउर आदि वन्यजन्तु पाइने तोक्पेगोलामा विभिन्न जडिबुटीदेखि यार्सासम्म पाइन्छ । त्यसको संरक्षण गर्दै तोक्पेगोलामा पर्यटकहरुलाई लोभ्याउन सकिने दोर्जीको तर्क छ । तोक्पेगोला पुग्न सडक छैन । तारको बिजुली पुगेको छैन । तर पनि पर्यटक आउनेमा ढुक्क छन् दोर्जी । अहिले फाट्टफुट्ट मान्छेको आगमनले उनमा आशा जगाएको देखिन्छ । ‘हाम्रोमा साउनमा ठूलो जात्रा लाग्छ । त्यो हेर्न धेरै मान्छे आउँछन्’, दोर्जी भन्छन्, ‘अरु सिजनमा पनि मान्छेहरु घुमघाम गर्न आउँछन् ।’

सडक नभए पनि फुङफुङे (फङफङदेन) झरनाबाट दुईदिने पैदलमा तोक्पेगोला पुग्न सकिन्छ । झरना क्षेत्रबाट पहिलो दिन पापुङ वा दुङ्गिन र दोस्रो दिन मिक्वा खोलालाई सातपटक वारपार गरेर तोक्पेगोला पुग्न सकिने दोर्जी बताउँछन् ।

पुस, माघ र फागुनमा तोक्पेगोलामा बस्न सकिन्न । बेस्सरी हिउँ पर्छ । ती महिनामा स्थानीय तलको गाउँ पापुङतर्फ झर्छन् । बाँकी नौ महिनामा नै होमस्टे सञ्चालन गर्ने दोर्जीको योजना छ । नौ महिनामै आगन्तुकहरु आए काफी हुने उनी बताउँछन् । ‘अहिले शहरबजारबाट मान्छेहरु वाक्क भएर हिँड्ने चलन छ । तर, हप्तौं हिँड्न सबैलाई फुर्सद चै छैन’, दोर्जी भन्छन्, ‘चार दिन हिँड्दा दोहोरो यात्रा सकिने भएकाले फुङफुङे झरनाबाट हिँड्न चाहनेहरुलाई सबैभन्दा छोटो, राम्रो र सजिलो रुट हो तोक्पेगोला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.