कांग्रेस-माओवादीलाई प्रश्न: सत्तारोहणमा नेकपा एसको निर्णायक साथ, सीट बाँडफाँटमा किन घात ? – Nepal Press

कांग्रेस-माओवादीलाई प्रश्न: सत्तारोहणमा नेकपा एसको निर्णायक साथ, सीट बाँडफाँटमा किन घात ?

संसदीय व्यवस्था र यसले अंगीकार गर्ने निर्वाचन प्रणाली बजार अर्थतन्त्र जस्तै हो । त्यहाँ कसैको नियन्त्रण वा दबाबले काम गर्दैन । किन्ने र बेच्नेबीचको समझदारीमा मूल्य निर्धारण हुन्छ । यसलाई अर्को बुझाइमा ‘पूँजीवाद’ भनिन्छ, जहाँ पूँजी प्रभुत्वशाली भएर उभिएको हुन्छ । त्यो पूँजीवाद दलाल छ कि प्रगतिशील ? फरक यत्ति हो ।

देश अहिले संसदीय निर्वाचनको संघारमा छ । यो निर्वाचन मुख्यतः पाँच दलीय सत्ता गठबन्धन र प्रतिपक्षी एमालेसँग तालमेल भएका दल गरी दुई शक्तिबीचको प्रतिस्पर्धा हो । बजार अर्थतन्त्र जस्तै ‘पूँजी’ अर्थात् जनमतको आधारमा दलहरुका ‘मूल्य निर्धारित’ गर्ने चरणमा अहिले मुलुक छ । पाँच दलबीच सीट संख्याको बाँडफाँटले सकसपूर्ण मोड लिएको छ । एमालेले पनि आफूसँग साझेदारीमा आउने दललाई कहाँ र कति सीट दिने भन्ने कुराको निर्क्याेल गरिसकेको छैन । अर्थात् बजार अर्थतन्त्रको दृष्टिमा ‘माल बेच्ने’ हरुको बीचमा समझदारी निर्माणको चरणमा अहिले मुलुक छ । कसको ‘माल’ (सामान) लाई कति मूल्य तोक्ने ? विवाद र बहस यसमा छ । सबैले आ-आफ्ना पूर्वजनमतलाई ‘मूल्य निर्धारण’ को मानक बनाइरहँदा एउटामात्र दल त्यस्तो छ, जोसँग जनमतभन्दा एजेण्डाको भार ठूलो छ । त्यो हो, नेकपा (एकीकृत समाजवादी) ।

यद्यपि एजेण्डाको भार, त्यसको मूल्य र त्यसले राष्ट्रिय राजनीतिमा उत्पन्न गरेको तरंगबापत उसको ‘मूल्य निर्धारण’ हुनुपर्ने कुरासँग गठबन्धनका अरु दलहरु आत्मपरक आग्रह पालिरहेका छन् ।

सबैले आ-आफ्ना पूर्वजनमतलाई ‘मूल्य निर्धारण’ को मानक बनाइरहँदा एउटामात्र दल त्यस्तो छ, जोसँग जनमतभन्दा एजेण्डाको भार ठूलो छ । त्यो हो, नेकपा (एकीकृत समाजवादी) ।

राजनीतिक तरंग

२०७४ को संसदीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले) ले नेकपा (माओवादी) केन्द्रसँग गरेको तालमेलको परिणामतः उसको दुईतिहाइ सम्मुखको संसद बन्यो ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपाको निर्माण भयो । समझदारी थियो, पाँच वर्षे कार्यकालको पहिलो आधा कार्यकालका लागि प्रधानमन्त्रीमा केपी ओली र त्यसपछिको आधामा प्रचण्ड ।

यो समझदारीको उल्लंघन केपी ओलीबाट भयो ।

पार्टी एकता जोगाउने मूल्यमा प्रचण्ड-माधव समूहले ओलीलाई पूरै कार्यकाल छाड्ने भए । तर, शर्त उभियो, ‘प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पदत्याग गर्नुस् । ओलीले दुबै कुरा स्वीकारेनन् ।

‘आधा-आधा कार्यकाल’ बाट सुरु भएको असमझदारी बाक्लिँदै गयो । ओलीले माधव-प्रचण्डका कुरा केही पनि नमान्ने, माधव-प्रचण्ड ओलीप्रति असहयोगी भइरहने- नेकपाको विवाद र विभाजनको मूल कथा हो यो । यही कथामा आधारित पटकथा, दृश्य, उपदृश्य र संवादहरुको संगालो आजको राष्ट्रिय राजनीति हो ।

यो राष्ट्रिय राजनीतिभित्र सबैभन्दा जोखिमपूर्ण यात्रा गर्ने पक्ष वा पात्र हो, नेकपा (एकीकृत समाजवादी) ।

अब सत्ता गठबन्धन नैतिक मूल्यमा बाँधियो र सीट बाँडफाँटमा सबैको न्यायोचित व्यवस्थापन हुनसक्यो भने एमालेका निम्ति यो निर्वाचन अघिल्ला कष्टहरुभन्दा निकै ठूलो कष्ट बनेर आउँदैछ ।

२०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नाले केपी ओलीसँग हुँदाखाँदाको दुईतिहाइवाला पार्टी रहेन । २०७८ जेठमा फेरि संसद विघटन गरे । त्यसपछि सरकार रहेन । राष्ट्रियसभाका निर्वाचित सांसद पदावधि सकिएर गए, फर्किएर त्यो संख्या आएन । अघिल्लो निर्वाचनको तुलनामा स्थानीय तहमा एमाले निकै पातलियो । र, अहिले स्थानीय निर्वाचनभन्दा पनि चर्को घेराबन्दीका बीचमा एमाले रक्षात्मक स्थितिका साथ चुनावमा जाँदैछ ।

अब सत्ता गठबन्धन नैतिक मूल्यमा बाँधियो र सीट बाँडफाँटमा सबैको न्यायोचित व्यवस्थापन हुनसक्यो भने एमालेका निम्ति यो निर्वाचन अघिल्ला कष्टहरुभन्दा निकै ठूलो कष्ट बनेर आउँदैछ ।

नेपालको राजनीतिमा यो श्रृंखलाको उत्पादक शक्ति भनेको नेकपा (एकीकृत समाजवादी) नै हो ।

माधव नेपाल, झलनाथ खनाललगायत, जसले हिजो कोअर्डिनेशन केन्द्र, माले हुँदै एमाले बनाए । ती नेताले राजनीतिक जीवनको उत्तरार्द्धमा आएर आफैंले बनाएको पार्टीबाट विद्रोह गर्नुपर्ने जोखिमपूर्ण यात्रा तय गरे । यदि माधव-झलनाथहरु यो जोखिम व्यहोर्ने तहमा आएका थिएनन् भने आजको राष्ट्रिय राजनीतिमा जे-जे दृश्य, उपदृश्य र संवादहरु देखिन्छन्, सुनिन्छन्- ती केही पनि हुँदैन थिए ।

झण्डै-झण्डै घाटमा पुगेको नेपाली कांग्रेस बौरिएर आउने थिएन । शेरबहादुर देउवा प्रधानमन्त्री हुने थिएनन् । स्थानीय तहको निर्वाचनमा ‘छप्पड फाँडके…’ भनेजस्तो नतिजा आउने थिएन । मन्त्रीसहित सरकारी नियुक्ति, राजदूत र अनेकौं अवसरका ‘डाँडाकाँडा’ कांग्रेसले ढाकिने थिएन । न माओवादीले आफूलाई कांग्रेसपछिको पार्टी भन्दै भागबन्डा लिने नै थियो । सारमा भन्दा आजको राष्ट्रिय राजनीति जहाँ छ, केवल नेकपा (एकीकृत समाजवादी) का कारणले छ ।

अब हुने संसदीय निर्वाचनमा एकीकृत समाजवादीलाई प्रत्यक्षमा १५-२० सीट पनि बढी हुन्छ भन्ने माओवादी केन्द्रका नेता, ‘केही न केही दिन्छौं’ भन्ने कांग्रेस नेताहरुको ‘भिखारी’ चिन्तन जारी नै रह्यो भने देश अर्को दुर्घटनामा जान्छ । त्यसले कांग्रेस र माओवादी केन्द्रलाई खान्छ ।

यो दिन ल्याउन माधव नेपालहरुले व्यहोरेका घटना सम्झिँदा चित्त दुःख्दा छन् । आफूलाई साथ दिएर धुरीमा चढाउने पार्टीका कस्ताकस्ता सहयोद्धाको धोका सहे । एक दिन पाहुना बस्न गएको घर छोड्दा त मान्छेलाई पिर पर्छ । माधव नेपालहरुले त आफैंले जन्माएको पार्टी छाडेर हिँडे । तर, केपी ओलीले संसद विघटनमार्फत संविधान र व्यवस्थालाई गर्न खोजेको विघटन, पार्टीमा उनले विघठित गरेका विधि-पद्धतिविरुद्धको विद्रोहको मूल्यमा आफैंले बनाएको घर छाड्न मञ्जुर हुनुपर्‍यो । र, यसको लाभ नेपाली कांग्रेस र माओवादी केन्द्रहरुले लिइरहेका छन् । यसरी कि, ‘छप्पड फाँडके…।’

गठबन्धनको व्यवहार

स्थानीय निर्वाचनदेखि नै सत्ता गठबन्धनभित्र अपमानित शक्ति हो, नेकपा (एकीकृत समाजवादी) । थुप्रै स्थानीय तहमा बरु कांग्रेस र माओवादी केन्द्रका बीच तालमेल भए । तर, एकीकृत समाजवादीलाई सामेल गरिएन । त्यसो गर्दा स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले आफूतिर आकर्षित गरेको विगतको एमालेपक्षीय जनमत गठबन्धनको पक्षमा अभिव्यक्त हुन पाएन । उदाहरण लिन सकिन्छ, दाङको । त्यहाँ एकीकृत समाजवादीलाई बाहिर राखेर कांग्रेस र माओवादीले तालमेल गरे । फलतः एमालेले मेयर, उपमेयरसहित बहुमत वडा जित्यो । एकीकृत समाजवादीमाथि कांग्रेस र माओवादीबाट भएको अपमानका कारण उसले आकर्षित गरेको जनमत ऊ वा उसको गठबन्धनमा अभिव्यक्त भएन । त्यस्ता मतदाताको मत एमालेमै गयो ।

फेरि पनि सत्ता गठबन्धनबाट त्यस्तो घटना रचियो भने त्यो स्वयं उनका निम्ति घातक हुने निश्चित छ ।

अब हुने संसदीय निर्वाचनमा एकीकृत समाजवादीलाई प्रत्यक्षमा १५-२० सीट पनि बढी हुन्छ भन्ने माओवादी केन्द्रका नेता, ‘केही न केही दिन्छौं’ भन्ने कांग्रेस नेताहरुको ‘भिखारी’ चिन्तन जारी नै रह्यो भने देश अर्को दुर्घटनामा जान्छ । त्यसले कांग्रेस र माओवादी केन्द्रलाई खान्छ ।

सीट संख्याको निर्धारण निर्वाचन क्षेत्र नम्बरका आधारमा खेस्रा-खेस्रा नगरी सहमति भएछ र ‘सैद्धान्तिक सहमति’ आधारमा सीट संख्या बाँडफाँट गर्दै जाने भनेर गोलमटोल कुरा गरियो भने फेरि पनि स्थानीय निर्वाचनमा झैं एकीकृत समाजवादीलाई एक्ल्याइँदैछ भन्ने बुझ्नुपर्छ ।

प्रस्ट छ, एकीकृत समाजवादीलाई कुनै हालतमा पनि माओवादीभन्दा ठूला हुन नदिने कुरामा कांग्रेस र माओवादीबीच मतैक्यता छ । त्यो मूल्यमा ती दुवै पार्टी मिल्छन् भन्ने कुरा स्थानीय निर्वाचनका धोकाधडीले बताउँछ ।

केपी ओलीले ‘गल्ती भयो’ भन्दै घुँडा टेकेर, कान नसमाउँदासम्म एकीकृत समाजवादी ऊसँग सहकार्य त के दोहोरो संवाद पनि गर्दैन ।

गठबन्धनको विकल्प

नेकपा (एकीकृत समाजवादी) मूलतः केपी ओलीको स्वेच्छाचारिता, व्यक्तिवादी अहंकारले सिर्जित वाम विसर्जनकारी भूमिकाको विरुद्धमा खडा भएको पार्टी हो । ओलीले संविधान र व्यवस्थामाथि प्रहार गर्न पार्टीबाट आफ्ना विरोधी नेताहरुलाई लखेट्ने काम गरेपछि एमाले विभाजनको तहमा पुगेको हो । पार्टीलाई आफ्नो मुठ्ठीमा राख्न ओलीले कार्यकर्ता हैन, मतियार जम्मा पारे । यसकारण एमाले हिजोको इतिहास, आदर्श र उद्देश्यसहितको एमाले रहेन ।

आजको एमालेको पराजय वा त्यसलाई ‘मटियामेट’ गर्नु कम्युनिष्ट आन्दोलनको हित, उत्थान र पुनर्गठनको आधार हो । देशको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र विभिन्न क्रान्ति-आन्दोलनबाट हासिल उपलब्धिलाई विसर्जित गर्दै पुनरुत्थानवादी शक्तिको बुई चढ्ने ओली कम्पनीविरुद्धको जेहाद हो, एकीकृत समाजवादी । त्यसैले विद्रोहको त्यो नैतिक धरातललाई बिर्सिएर माधव नेपाल, झलनाथ खनालहरु एमालेसँग घोप्टिन जाँदैनन्, यो कुरा निश्चित छ । तर, ‘नो थिंक इज इम्पोसिबल’ भने जस्तो राजनीतिमा सबै कुरा असम्भव नै रहन्छन् भन्ने छैन ।

विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीजस्ता केपी ओलीका सघन समूहका नेताहरु अहिले नेकपा (एकीकृत समाजवादी) लाई दलको हैसियत स्वीकार गर्नुपर्ने र त्यस आधारमा चुनावी तालमेल गर्दै एकतामा जानुपर्ने भित्री अभ्यासमा जुटेका छन् । यद्यपि, एकीकृत समाजवादीका लागि एमालेसँग यथास्थितिमा गरिने कुनै पनि संवाद, सहकार्य वा व्यवहार स्वीकार्य छैन । कम्तिमा पनि केपी ओलीले ‘गल्ती भयो’ भन्दै घुँडा टेकेर, कान नसमाउँदासम्म एकीकृत समाजवादी ऊसँग सहकार्य त के दोहोरो संवाद पनि गर्दैन ।

चुनावको दिन छोट्टिँदो छ । पाँच दलीय गठबन्धनभित्र नेपाली कांग्रेस र माओवादी केन्द्रलाई भाग पुर्‍याएपछि अरुलाई ह्याकुलाले मिचेर भए पनि लगिन्छ भन्ने चिन्तन अझै हावी छ । कांग्रेसले भए जति सबै भाग सोहोरेर खान खोजेसम्म गठबन्धन बलियो हुँदैन । भैंसीजत्रो माओवादीले कांग्रेससँग हात्तीजत्रो भाग खोज्ने र एकीकृत समाजवादीलाई दिनुपर्ने सीटमाथि दाबी गर्ने काम छोडेन भने पाँच दलीय गठबन्धन संकटमै रहन्छ ।

कांग्रेसले भए जति सबै भाग सोहोरेर खान खोजेसम्म गठबन्धन बलियो हुँदैन । भैंसीजत्रो माओवादीले कांग्रेससँग हात्तीजत्रो भाग खोज्ने र एकीकृत समाजवादीलाई दिनुपर्ने सीटमाथि दाबी गर्ने काम छोडेन भने पाँच दलीय गठबन्धन संकटमै रहन्छ ।

अहिले पाँच दलीय गठबन्धन सीट भागबन्डाको निष्कर्षमा पुग्न नसक्नुका पछाडि मुख्यतः कांग्रेसको अन्तर्विरोध कारक रहेको छ । उसले आफूभित्रका गुट-उपगुटको व्यवस्थापनका लागि बढी सीटमा गरेको दाबी छाडेको छैन । माओवादी केन्द्र यही गठबन्धनको बलमा आगामी संसदमा प्रतिपक्षी बन्न चाहन्छ र त्यो कुरालाई केन्द्रमा राखेर सीटको मोलमोलाइमा छ । उसको सबैभन्दा ठूलो चिन्ता कतै एकीकृत समाजवादी आफू बराबर भइहाल्छ कि भन्ने छ ।

कांग्रेसलाई झड्का

बाहिरी बोलीमा एमाले अध्यक्ष केपी ओली र उनका नेताहरुले जे-जे भने पनि भित्री रुपमा वाम गठबन्धनको गुञ्जायसमा उनीहरु सक्रिय छन् । यद्यपि सम्भावना कम छ । एमालेको त्यो प्रयास यदि सफल भएछ भने नेपाली कांग्रेसले सीट बाँडफाँटमा कति उदारता देखाउँछ ? वामपन्थीसँग कस्तो व्यवहार गर्छ भन्ने कुरामा निर्भर हुन्छ ।

यदि आजकै हिसाबमा कांग्रेसले गठबन्धनभित्र पेलपालको नीति लिइरहने हो र त्यसले वामपन्थीलाई मिलाउने घटना विकास भयो भने नेपाली कांग्रेसलाई यो चुनावमा २०७४ को भन्दा पनि ठूलो ‘झड्का’ लाग्नसक्छ । त्यसैले एक नम्बरमा नेपाली कांग्रेस र दुई नम्बरमा माओवादी केन्द्रका हठ कति सेलाउँछ भन्नेमा गठबन्धनको भविष्य निर्भर छ ।

(लेखक सुवेदी नेकपा एस निकट समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष हुन् ।)


प्रतिक्रिया

7 thoughts on “कांग्रेस-माओवादीलाई प्रश्न: सत्तारोहणमा नेकपा एसको निर्णायक साथ, सीट बाँडफाँटमा किन घात ?

  1. यथार्थपरक विश्लेषण ! अहिलेको सत्य तथ्य यही हो ।

  2. बिचरा माकुने, मर्न भन्दा बहुलाउन निको भने झै । जेल जानु भन्दा यो बाटो आफैले रोजेको हैनर ??

  3. विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीजस्ता केपी ओलीका सघन समूहका नेताहरु अहिले नेकपा (एकीकृत समाजवादी) लाई दलको हैसियत स्वीकार गर्नुपर्ने र त्यस आधारमा चुनावी तालमेल गर्दै एकतामा जानुपर्ने भित्री अभ्यासमा जुटेका छन् । यद्यपि, एकीकृत समाजवादीका लागि एमालेसँग यथास्थितिमा गरिने कुनै पनि संवाद, सहकार्य वा व्यवहार स्वीकार्य छैन । कम्तिमा पनि केपी ओलीले ‘गल्ती भयो’ भन्दै घुँडा टेकेर, कान नसमाउँदासम्म एकीकृत समाजवादी ऊसँग सहकार्य त के दोहोरो संवाद पनि गर्दैन ।

  4. पत्रकार महोदयले रूप पक्ष हेरेर विश्लेषण गरेछन् जबकी विश्लेषण त सार पक्षलाई हेरेर गर्नुपर्थ्यो अनि सरासर झुट पनि लेखेका छन्। नेकपा कालमा महमधिवेशपछि ओलीले नेतृत्व छोड्ने र प्रम पाँच वर्ष नै भइरहने सहमतिको ओलीले होइन माधव प्रचण्डहरूले तोडेका हुन्। कात्तिक २८ को १९ पन्नेले पुस ५ मा संसद विघटन भएको हो।
    माधव नेपाल अर्थात कुण्ठा दक्षिणपन्थीहरूको ‘विभाजन र शासन नीति’ को सहयोगी बन्दा र प्रचण्डको उपयोगिताले दक्षिणपन्थीको सेवा गर्दा नेकाका सभापति शेरबहादुर देउवा प्रम भएका हुन्। वैशाखमा विश्वासको मत माग्दा अनुपस्थित हुनेहरूको नाईके पनि कुण्ठा नै थियो। लेखकले लेख्न पाएँ भन्दै झुट त लेख्नु भएन नि! रह्यो कुरो कुण्ठालाई गठबन्धनमा हेपियो भन्ने, त्यो अस्वभाविक होइन किनभने घरमा आगो लागाउनेहरूलाई कसैले पनि राम्रो मान्दैन।
    फेरि कुण्ठाको ओचित्यको समय पनि सकियो। जसले गर्दा हेपाईमा परेका हुन, चिन्ता गर्नु आवश्यक छैन्। मिति सकिएको औषधी र उपादेयता सकिएको नेताको के काम हुन्छ र? त्यसैले गल्ति महसूस कुण्ठाले गर्ने हो नकि एमालेले।

  5. यश प्रकारका एक पाखे लेख प्रकाशित गर्ने हो भने यो नेपालप्रेस भन्ने पढ्नु पनि व्यर्थ हुनेछ। सम्पादकज्युले पाठकहरुको समयको पनि ख्याल राख्नु आवश्यक छ। विश्वमणी सुवेदिजी को यस्तो लेख अतिनै स्तर्हिन बन्न पुगेको छ। आगामी दिनहरुमा यथार्थपरक विश्लेषण गर्नु होला। झुटका पुलिन्दा फुकाएर एस भन्ने सहाएक पार्टीको भलो पक्कै हुन्न। पाठकलाई मुर्ख नसम्झिदा नेपालप्रेस र लेखक दुबैलाई राम्रो।धन्यवाद ।

  6. विश्वमणी सुवेदी ज्युले लेखेको एक पक्षिय लेख बारे गरेको टिप्पणी हटाउनु भएछ। यो नेपाल प्रेस भन्ने अन्लाईन पत्रीकाले आफ्नो स्तर कायम गरिराख्न सकोस् भन्ने शुभेच्छा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *