कञ्चनपुर १ : विष्टको एकल नाम पठाएको कांग्रेसले प्रचण्डकी बुहारीलाई ठाउँ छाड्ला ? – Nepal Press

कञ्चनपुर १ : विष्टको एकल नाम पठाएको कांग्रेसले प्रचण्डकी बुहारीलाई ठाउँ छाड्ला ?

कैलाली । कञ्चनपुर- १ मा प्रतिनिधिसभा उम्मेदवारका लागि नेपाली कांग्रेसले दिवानसिंह विष्टको एकल नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिको बैठकले संविधानसभा सदस्य विष्टलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि तयार पारेको हो ।

२०७० को संविधानसभामा विजयी भएका विष्ट अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । विस्टलाई वाम गठबन्धनको तर्फबाट माओवादीको उम्मेदवार बनेकी विना मगरले १९ हजार ५ सय ८४ मतान्तरले पराजित गरेकी थिइन् । ३९ हजार २१ मत प्राप्त गरेर मगर विजयी हुँदा विष्टले १९ हजार ४३७ मत ल्याएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारीसमेत रहेकी विना मगरको लागि अहिले गठबन्धनभित्र यस क्षेत्रमा माओवादीले सशक्त दाबी गरिरहेको छ ।

कञ्चनपुरको क्षेत्र नम्बर १ र २ मा आफ्नो पार्टीको स्वत: दाबी रहने माओवादी कञ्चनपुरका संयोजक खेमराज पाण्डेय बताउँछन् ।

‘हामीले गठबन्धनमा कञ्चनपुरको २ क्षेत्र दाबी गरेका छौँ’, उनले भने ‘१ नम्बर क्षेत्र छोड्ने त कुरै हुँदैन ।’

स्थानीय तहको निर्वाचनमा पनि यहाँ मित्रवत् प्रतिस्पर्धा भएको थियो ।

उनले भने, ‘हामी आन्तरिक ढंगले आफ्नो तरिकामा अगाडि बढिरहेका छौँ । गठबन्धन भए सबैतिर हुन्छ नभए हामी एकल रूपमा अगाघि बढ्छौँ ।’

विना मगरको क्षेत्रमा कांग्रेसले उम्मेदवार सार्वजनिक गरिसक्दा माओवादीले भने सिफारिस गरिसकेको छैन । २१ गतेभित्र सिफारिस प्रक्रिया टुंग्याइने एक नेताले बताए ।

कांग्रेसभित्र भने गठबन्धनको भावना अनुसार अगाडि बढ्ने रणनीतिका साथ केन्द्रको परिपत्र अनुसार सबै क्षेत्रका उम्मेदवार सिफारिस गरिरहेको जिल्ला सचिव भीम भट्टले बताए । भोलि केन्द्रीय गठबन्धनको निर्णय अनुसार आफूहरूले छाड्नुपर्ने हुनसक्ने उनले बताए ।

स्थानीय तहमा जिल्लाले आवश्यकताको आधारमा गठबन्धन गर्ने अधिकार दिएको हुँदा स्थानीय तहमा यहाँ गठबन्धन नभएको उनको प्रष्टोक्ति थियो ।

‘कुन क्षेत्र छुट्ने हो कुन हुने हो त्यो केन्द्रबाटै निर्णय हुन्छ’ उनले भने ‘स्थानीय तहमा हामीलाई अधिकार थियो । स्थानीय तहमा हामीले आवश्यकता महसुस गरेनौँ र हामी एक्लै लड्यौ । अहिले केन्द्रले गर्छ । हामी केही गर्न सक्दैनौँ ।’

प्रतिनिधिसभामा एकल नाम सिफारिस भएका विष्टले भने क्षेत्र नम्बर १ मा माओवादी कमजोर रहेकव दाबी गरे । उनले आफ्नो क्षेत्रमा तालमेल नगर्ने निर्णयसमेत भएको सुनाए ।

उनले भने, ‘दुवै प्रदेश र प्रतिनिधिसभामा तालमेल नगर्ने निर्णय आजै भएको छ । यहाँ माओवादी जित्नसक्ने अवस्थामा छैन । हार्ने चुनावमा प्रचण्डले बुहारीलाई लडाउनु हुन्छ जस्तो हामीलाई लाग्दैन ।’

माओवादी र नेकपा एकीकृतको मत स्थानीय तहमा आएभन्दा पनि कम हुने दाबी गर्दै उनले यहाँ कांग्रेसले नै सीट पाउनु पर्ने बताए ।

स्थानीय तहमा पनि मित्रवत् प्रतिस्पर्धा भएको भन्दै प्रतिनिधिसभा र प्रदेशसभामा पनि त्यस्तै हुन सक्ने विष्टको भनाइ छ ।

तपाईँको क्षेत्र माओवादीलाई परे के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन् , ‘परिणाम राम्रो आउँदैन त्यो कुरामा फेरी छलफल हुन्छ ।’

गत स्थानीय तहको चुनाव यहाँ नेकपा एमाले पहिलो पार्टी बनेको छ । यो क्षेत्रमा एमालेको १८ हजार ७७३, कांग्रेसको १८ हजार ७३२, माओवादीको १५ हजार २८९, नेकपा एसको ३ हजार ५२१, र राप्रपाको २ हजार ६९२ मत थियो ।

केही दिन पहिले पूर्व दुई मन्त्री तारा लामा तामाङ र कुलवीर चौधरीसँगै नेकपा एकीकृत समाजवादीका निवर्तमान प्रदेश अध्यक्ष विक्रम शाही, बेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक चन्दलगायत माओवादीबाट पनि थुप्रै नेताहरू एमाले प्रवेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर