प्रधानमन्त्रीलाई आफ्नै जिल्लामा सीट बाँड्न छैन सहज – Nepal Press

प्रधानमन्त्रीलाई आफ्नै जिल्लामा सीट बाँड्न छैन सहज

कैलाली । सत्ता गठबन्धनका दलहरू आगामी निर्वाचनमा हुने तालमेलको मोडालिटीबारे अझै स्पष्ट हुन सकेका छैनन् । दलहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

बिहीबारको बैठकमा गठबन्धनका सबै दलले आआफ्नो दाबी पेस गरेका छन् । प्रत्यक्षतर्फको १६५ भन्दा बढी सीटमा दलहरुबाट दाबी प्रस्तुत भएपछि गठबन्धनमा सीट बाँडफाँट गर्न सकस भएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई कसिलो बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । देशभर चुनावी तालमेल गर्नुपर्ने बताउँदै आएका देउवालाई आफ्नै जिल्लामा सीट बाँड्न सहज छैन ।

डडेल्धुराबाट देउवा अहिलेसम्म अपराजित छन् । २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ का सबै निर्वाचन जितेका देउवा यसपटक पनि डडेल्धुराबाट बाजी मार्ने दाउमा छन् । प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा उनी सुरक्षित छन् । तर, प्रदेशसभाका दुई सीट बाँड्न उनलाई निकै सकस हुने देखिएको हो ।

यहाँ माओवादी केन्द्रले प्रदेशसभातर्फ दुइटै क्षेत्र दाबी गरेको छ । यसअघि लगातार तीन पटकसम्म देउवासँगै पराजित खगराज भट्ट यस पटक देउवाकै सहयोगमा मुख्यमन्त्री बन्ने दाउमा छन् । भट्ट माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् । त्यस्तै उनी सुदूरपश्चिममा माओवादीका एक्ला स्थायी समिति सदस्य हुन् ।

भट्टले यसपटक पनि प्रतिनिधिसभामै दाबी गरेका हुन् । तर, देउवाले डडेल्धुरा नछोड्ने भएपछि उनी मुख्यमन्त्री बन्ने सर्तमा प्रदेशसभामा उठ्ने योजनामा रहेको बताइन्छ ।

‘संघमा नभए दुइटै प्रदेश हामीले माग गरेका छौं । त्यो कठिन छ । तर, असम्भव भने होइन’, माओवादी जिल्ला संयोजक उमेशप्रकाश भट्ट विकास भन्छन्, ‘उहाँ (खगराज भट्ट) मुख्यमन्त्री बन्ने गरी कुनै एक प्रदेशबाट लड्न सक्नुहुन्छ ।’

माओवादी केन्द्रले प्रतिनिधिसभा छोडेर दुइटै प्रदेशसभामा दाबी गरिरहेका वेला कांग्रेसले भने प्रतिनिधिसभा र प्रदेशसभा सबैमा आफ्नो दाबी रहने स्पष्ट पारेको छ । कांग्रेस नेता तथा कार्यकर्ताहले स्थानीय तह निर्वाचनमा जस्तै अहिले पनि गठबन्धन नगर्न दबाब बढाइरहेका छन् ।

‘सबैको भावना कांग्रेस एक्लै लड्नुपर्छ भन्ने छ । एक्लै लड्दा पनि हामी जित्छौं । स्थानीय तहमा पनि एक्लै लडेको हो । अहिले पनि एक्लै लड्नुपर्ने साथीहरूको धारणा छ’, कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले भने, ‘प्रधानमन्त्री तथा पार्टी सभापतिलाई पनि यो विषयमा जानकारी गराएका छौं ।’

गठबन्धनलाई सम्मान गर्दै एक्लै निर्वाचनमा होमिनसक्ने अवस्था रहेको कांग्रेस नेताहरु बताउँछन् । डडेल्धुराबाट बालुवाटार गएका अधिकांश कांग्रेस नेता कार्यकर्ताहरूले प्रधानमन्त्री देउवालाई डडेल्धुरामा तालमेल गर्न नहुने सुझाव दिइरहेका छन् ।

कांग्रेस र माओवादीबीच भागबन्डामा सकस भइरहेका बेला नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेपछि यहाँ गठबन्धनको सम्भावना कम रहेको नेताहरू बताउँछन् ।

अन्य जिल्लाभन्दा केही राम्रो अवस्थामा रहेको नेकपा एकीकृत समाजवादीले दुई प्रदेशसभामध्ये ख क्षेत्र माग गरेको छ । नेकपा एकीकृत समाजवादी जिल्ला सचिवालयको बुधबार बसेको बैठकले प्रदेशसभा ‘ख’ मा डा. तारा जोशीलाई सर्वसम्मत सिफारिस गरेको छ ।

बैठकले यहाँ नेकपा एकीकृत समाजवादीले गठबन्धनबाट सीट नपाएको अवस्थामा विद्रोह गर्नेसमेत संकेत दिएको छ । ‘प्रदेश ख मा हाम्रो दाबी हो । डा. तारा जोशी हाम्रो उम्मेदवार हुनुहुन्छ’, नेकपा एसका जिल्ला अध्यक्ष कवीन्द्र बिष्टले भने, ‘गठबन्धनमा हामीले यो क्षेत्र नपाए विद्रोह हुन्छ ।’

उनले आफ्नो पार्टीलाई गठबन्धनले एक क्षेत्र नदिए गठबन्धनभन्दा बाहिरका दलहरूसँग तालमेल गरेर गठबन्धन हराउने खेलमा लाग्नेसमेत जनाए । ‘अरू ठाउँमा गठबन्धन भयो भनेर हामी पछि लाग्दैनौं । हामी विद्रोह गर्छाैं र गठबन्धनभन्दा बाहिरका दलहरूसँग मिलेर अगाडि बढ्छौं’ उनले भने, ‘स्थानीय तहमा प्रत्येक पालिका मिलाउँदा समस्या भएको भन्दै यहाँ पन्छिन पाइने अवस्था हुँदैन ।’

को को छन् आकांक्षी ?

गठबन्धनबाट प्रतिनिधिसभामा प्रधानमन्त्री देउवा निश्चित जस्तै हुन् । पहिलो संविधानसभा निर्वाचनमा देउवासँग केवल १ हजार ३६८ मतान्तरले हारेका खगराज भट्ट प्रदेश ‘क’ बाट लड्ने सोचमा देखिन्छन् । प्रदेश ‘क’ बाटै कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउद पनि उम्मेदवारका आकांक्षी हुन् ।

देउवा निकट साउद अघिल्लो पटक परशुराम नगरपालिका प्रमुखमा विजयी भएका थिए । अहिले यस क्षेत्रबाट नैनसिंह महरको पनि चर्चा छ । उनी कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुँदै अहिले पार्टी केन्द्रीय सदस्य छन् । उनी पनि टिकटको लाइनमा रहेको कांग्रेस निकट स्रोतले बताएको छ ।

कांग्रेस जिल्ला सभापति र केन्द्रीय सदस्यले दाबी गरेको क्षेत्र माओवादी प्रदेश इन्चार्ज खगराज भट्टको पनि रोजाइमा परेपछि यहाँ गठबन्धन मिलाउन सकस देखिएको छ ।

यता प्रदेश ‘ख’ मा तीनै दलले दाबी गरेका छन् । तर, प्रदेश ‘क’ बाट निर्वाचन लडेर मुख्यमन्त्री बन्ने पक्का भएपछि माओवादी अर्काे प्रदेशसभा छोड्न तयार हुने देखिन्छ । तर, कांग्रेस र नेकपा एकीकृत समाजवादीतर्फ भने किचलो छ ।

अघिल्लो पटक समानुपातिकमा बसेर प्रदेशसभा सदस्य हुँदै अहिले सामाजिक विकासमन्त्री बनेका कांग्रेसका गोविन्द बोहरा यस पटक यस क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार बन्ने तर्खरमा छन् ।

अघिल्लो पटक आफू समानुपातिक बसेर जिल्ला सभापति कर्ण मल्ललाई जिताउन लागेको र जिल्ला सभापतिमा साउदलाई सहयोग गरेका कारण बोहरालाई यस पटक उम्मेदवार बनाउन देउवालाई दबाब छ । त्यस्तै अघिल्लो पटक वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरासँग पराजित कांग्रेस नेता रघुवीर भट्टले पनि प्रदेश ‘ख’ रोज्ने संकेत दिएका छन् ।

कांग्रेसभित्रै प्रमुख दुई व्यक्ति व्यवस्थापन गर्न सकस भइरहेका बेला एकीकृत समाजवादीका डा. तारा जोशी थपिँदा गठबन्धन झन पेचिलो अवस्थामा पुगेको छ ।

एकीकृत समाजवादीले टिकट नदिए जोशी एमालेमै फर्किएर उम्मेदवार बन्ने सम्भावना रहेको चर्चा चलेको छ । उनी निकट स्रोतका अनुसार गठबन्धनबाट टिकट नपाए गठबन्धनविरुद्ध अर्को गठबन्धन तयार गर्ने र सत्ता गठबन्धनलाई पराजित गर्ने उनको रणनीति छ ।

अघिल्लो पटक कांग्रेसका कर्ण मल्लसँग ३५६ मतले पराजित जोशी अघिल्लो वर्ष कात्तिकमा नेकपा एकीकृत समाजवादीमा लागेका हुन् ।

को कति बलिया ?

गठबन्धनभित्र मात्र नभई एकल रुपमा निर्वाचनमा होमिँदा पनि यहाँ कांग्रेस बलियो छ । तर, पछिल्लो पटक कर्ण मल्लको समूहले पार्टी परित्याग गरेर कांग्रेस बीपीमार्फत निर्वाचनमा होमिने तयारी गरेपछि कांग्रेसलाई केही संकट पर्नसक्ने आकलन गरिएको छ ।

स्थानीय तहमा कुनै पनि पालिका प्रमुख वा उपप्रमुख जित्न नसकेपछि बीपी कांग्रेसमाथि पनि प्रश्न उठेको छ । तर, स्थानीय तहजस्तै अहिले पनि प्रधानमन्त्री देउवाको जिल्लामा सत्ता गठबन्धन बन्न नसके अर्काे गठबन्धन बन्ने पक्का जस्तै छ । यहाँ कांग्रेसले दम्भ देखाएर एक्लै लडे ऊविरुद्ध गठबन्धन गर्नेबारेमा अरु दलहरु आन्तरिक छलफलमा रहेका छन् ।

कांग्रेस र माओवादीको मात्रै तालमेल भए यहाँ एमाले, कांग्रेस बीपी र एकीकृत समाजवादीको अर्काे गठबन्धन बन्न सक्ने आकलन गरिएको छ ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मत परिणामअनुसार यहाँ कांग्रेस अगाडि छ । कांग्रेसले २१ हजार ७३५ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवारहरूले १२ हजार ८७८ मत पाए ।

त्यस्तै एमालेले १० हजार ४४९, एकीकृत समाजवादीले ५ हजार ४१, राप्रपाले ७१४ र जसपाले १५६ मत पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर