‘प्रचण्डजीको विचारमा धार छैन, बिहान एउटा बोल्नुहुन्छ बेलुका अर्कै’ – Nepal Press
नेपाल टक

‘प्रचण्डजीको विचारमा धार छैन, बिहान एउटा बोल्नुहुन्छ बेलुका अर्कै’

एमाले सचिव रायमाझीको दाबी- आगामी निर्वाचनमा बहुमत ल्याउँछौं

कैलाली । आगामी आम निर्वाचनका लागि अहिले दलहरू आन्तरिक तयारीमा व्यस्त छन् । सत्ता गठबन्धनमा रहेका दलहरू सीट बाँडफाँटमा केन्द्रित छन् । गठबन्धन इतरका दलहरू आन्तरिक रुपमा अर्काे गठबन्धन बनाउने रणनीतिमा छन् ।

महागठबन्धनको नेतृत्व नेपाली कांग्रेस र केही दलहरू मिलेर नेकपा एमालेको नेतृत्वमा निर्वाचनमा होमिने सम्भावना रहेको छ । अहिलेसम्म एमाले एक्लै निर्वाचनमा होमिने दाबी गर्दै आइरहेको छ । तर, केही छिटपुट दलहरूसँग पनि वार्ता र संवाद चलिरहेको छ ।

आगामी निर्वाचनमा एमालेको रणनीति, गठबन्धनको सम्भावना र सम्भावित परिणामका विषयमा नेपाल प्रेसले एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीसँग संवाद गरेको छ । प्रस्तुत छ उहाँसँग गरिएको संवाद नेपाल टकमा

– आगामी निर्वाचनका लागि एमालेको तयारी कस्तो छ ?

वैचारिक र साङ्गठनिक रुपमा राष्ट्रव्यापी अभियानको अन्तिम चरणमा छौं हामी । विगत, वर्तमान र भविष्यको समीक्षा गर्दै योजना बनाएर देशव्यापी रुपमा प्रदेश, जिल्ला, पालिका, वडा र टोलस्तरीय योजनागत प्रशिक्षण कार्यक्रम पनि अन्तिम चरणमा छ ।

चुनावी घोषणापत्रको तयार गर्न कार्यदल बनेको छ । त्यो पनि अगाडि बढिरहेको छ ।

– टोलस्तरमा प्रशिक्षण भइरहेका बेला एमाले कार्यकर्ताहरू उत्साहित छन् कि स्थानीय तहको परिणामले निराश ?

स्थानीय तहको निर्वाचनमा जुन प्रकारको परिणाम आयो, त्यसको गम्भीर रुपमा नेकपा एमालेले समीक्षा गरेको छ । विचार जुन स्तर र उचाइबाट लैजानुपर्ने थियो त्यो कुरामा हाम्रो केही समस्या भयो । आन्तरिक रुपमा पनि अन्तर्घातका समस्याहरू देखापरे । टिकट दिने कुरामा पनि पपुलर उम्मेदवार दिन सकेनौं भन्ने हाम्रो ठहर हो ।

अर्काे कुरा, जुन ढंगबाट देशव्यापी रुपमा पार्टी प्रवेश भइरहेको थियो त्यसले हामी हौसियौं कि भन्ने लाग्छ । मतको रक्षा गर्न सकेनौं ।

हिजो स्थानीय तहमा लोकप्रिय मतमा अगाडि भए पनि सीटमा केही तलमाथि भयो । त्यसमा गम्भीर छलफल भएको छ । त्यसलाई सुधार गरेर अगाडि बढ्न नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउँछ ।

त्यति हुँदा पनि लोकप्रिय मतको दृष्टिकोणले नेकपा एमाले मुलुकको पहिलो शक्ति हो । सीट संख्याको हिसाबले केही कम आएको छ । त्यो अन्तरिक समस्याको कारण हो । त्यो समस्या अब सच्चाउन सकेको अवस्थामा नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउँछ । कार्यकर्ताहरूको पनि बुझाइ त्यही छ ।

– प्रत्यक्ष त त्यस्तै हो, समानुपातिक मत अलि बढी आउनसक्छ भन्ने तपाईंहरूको आकलन हो ?

होइन नि प्रत्यक्षमा पनि ल्याउँछौं, समानुपातिकमा पनि ल्याउँछौं ।

– १६५ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ कति सीट जित्छौं भन्ने अनुमान छ ?

हामीले ५० बढी जित्छौं भन्नेछ ।

– ५० प्रतिशत बढी कि ५० सीट बढी ?

५० प्रतिशत बढी जित्छौं भन्ने हामीलाई लागेको छ । अरू बढीले हामीले बहुमत ल्याउँछौं ।

– अहिले एमालेका तीन पदाधिकारीबाहेक सबैलाई जित्न सहज छैन । २०७० मा माओवादीको नियति आगामी निर्वाचनमा एमालेको हुनसक्छ पनि भन्छन् नि ?

कुनै पनि अवस्थामा त्यो सम्भावना छैन । नेकपा एमाले आफ्नो विचार, कार्यक्रम र योजनामा प्रस्ट छ । हिजो स्थानीय तहमा लोकप्रिय मतमा अगाडि भए पनि सीटमा केही तलमाथि भयो । त्यसमा गम्भीर छलफल भएको छ । त्यसलाई सुधार गरेर अगाडि बढ्न नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउँछ ।

– सत्ता गठबन्धनमा रहेका दलहरू स्थानीय तहभन्दा अझै बढी कसिलो भएर चुनावी तालमेलमा जाने तयारी गरिरहेका छन् । यस्तो बेला एमालेले बहुमत ल्याउँछ भन्ने कुरा जनताले विश्वास गर्लान् र ?

धेरै दलहरू मिल्ने र गठबन्धन गरेर जाने भन्ने कुरा त एमालेसँग एक्लै भिड्न सकिँदैन भन्ने कुरा हो नि ! सानोतिनो गठबन्धनले पनि एमालेलाई जित्न सकिँदैन भनेर अझै गठबन्धन ठूलो बनाउँदैछन् ।

– महागठबन्धनविरुद्ध एमाले पनि गठबन्धन गरेर जाने सम्भावना कति छ ?

गठबन्धन केको लागि भन्ने कुरामा प्रस्ट हुन आवश्यक छ । साङ्गठनिक लक्ष्य र उद्देश्यका कुरा हुन्छन्, योजना र कार्यक्रमका कुराहरू हुन्छन् । त्यस विषयमा साझा धारणा बन्न सक्यो भने गठबन्धनलाई हामी अस्वीकार गर्दैनौं ।

तर, अराजनीतिक प्रकारको एनी हाउ गठबन्धन बचाऔं, लुटेर खाऔं, अस्तित्वको रक्षा गरौं भन्ने प्रकारको हर्कत देखापरेको छ । त्यस्तो गठबन्धनमा हामी विश्वास गर्दैनौं ।

– गठबन्धनको ढोका खुला रहेको भन्दै गर्दा केही दल त्यो ढोकाबाट भित्र पसेर एमालेसँग आन्तरिक छलफलमा जुटेका छन् नि ?

कुरा गरिरहेका छन् । छलफल भइरहेको छ ।

– सत्ता गठबन्धनभित्र अहिले सीट बाँडफाँट पेचिलो बनिरहेको छ । त्यसको फाइदा लिएर गठबन्धन तोड्ने ध्याउन्नमा त छैन एमाले ?

उहाँहरू गठबन्धन गर्न बाध्य हुनुहुन्छ । सबैको अस्तित्व संकटमा छ भन्ने निष्कर्ष निकालेर नै उनीहरु गठबन्धन गर्न बाध्य भएका हुन् । सामान्य गठबन्धनले एमाले हराउन सक्दैन भन्ने उनीहरुको निष्कर्ष हो । एमालेलाई त्यो कुरामा मतलब छैन । हामी एक्लै पनि जनताको पक्षमा वकालत गरिरहेका छौं । जनताले हामीलाई विश्वास गर्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।

धेरै दलहरू मिल्ने र गठबन्धन गरेर जाने भन्ने कुरा त एमालेसँग एक्लै भिड्न सकिँदैन भन्ने कुरा हो नि ! सानोतिनो गठबन्धनले पनि एमालेलाई जित्न सकिँदैन भनेर अझै गठबन्धन ठूलो बनाउँदैछन् ।

– अहिले पनि एमाले र माओवादीका केही नेताहरू वामपन्थी तालमेलको कुरा गरिरहेका छन् । एमाले र माओवादी तालमेल गरेर निर्वाचनमा होमिने सम्भावना कति छ ?

त्यसप्रकारका विचार राख्ने नेताहरू छन् । छलफल पनि गरिरहेका छन् । अन्ततः यो महागठबन्धन बनाउने र भत्काउने भन्ने कुरा यिनीहरूको मात्र बसको कुरा होइन । यसमा देशी विदेशी शक्तिहरूको पनि हात छ ।

नेकपा एमालेले राष्ट्र र राष्ट्रियताका विषयमा उठाएका कदम, समृद्धि र विकासको सवालमा गरेका कामहरूले देशी-विदेशी शक्तिहरू अत्तालिएका छन् । त्यही भएर एमाले पराजित गर्न देशी विदेशी शक्तिको चलखेलमा अपवित्र र अराजनीतिक गठबन्धन बनेको हो । यो गठबन्धन फुटाउन सहज छैन । तर, असम्भव पनि छैन ।

– देशी-विदेशी शक्तिको कुरा गरिहाल्नुभयो । चीन त तपाईंहरूलाई मिलाउन लागिरहेको छ भनिन्छ ! कतै चीनको दबाबमा माओवादी र एमाले एकै ठाउँमा उभिनुपर्ने अवस्था त आउँदैन ?

चीनले आफ्नो कुरा भनिरहेको छ । तर, चीनले अरू देशले जस्तो अर्काे देशको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गर्ने सोच, शैली र व्यवहार राख्दैन ।

– कम्युनिस्ट मिलाउन प्रयास गरेको तर, नसकेको पनि भनिन्छ नि !

नसकेर होइन होला । उनीहरुको अर्काे देशमा प्रत्यक्ष हस्तक्षेप गर्ने नीति नभएको देखिन्छ । तर, अरू देशहरूले प्रत्यक्ष हस्तक्षेप गरिरहेका छन् ?

– माओवादी अध्यक्ष प्रचण्ड फेरि प्रधानमन्त्री बन्ने योजनामा हुनुहुन्छ । तपाईंको त पुरानो नेता । सत्ता गठबन्धनबाट निर्वाचन जितेर प्रचण्डलाई प्रधानमन्त्री बन्न सहज होला ?

(एक छिन मौन) प्रचण्डजीको व्यवहार हेर्दा उहाँ बिहान एउटा बोल्नु हुन्छ, बेलुका अर्काे बोल्नु हुन्छ । भोलि बिहानसम्म त कहाँ हो कहाँ अर्काे ठाउँ पुग्नुहुन्छ । उहाँका यस्ता व्यवहार वेलावेलामा देखापर्छन् ।

प्रचण्डजीको स्थिति हेर्दा उहाँको विचार कुनै धारको छैन । उहाँको योजना पनि छैन, कार्यक्रम पनि छैन । भैपरी आउने कामबाट कसरी नाफाघाटा हुन्छ, त्यही जोडघटाउ गर्ने र तत्काल आफ्नो अस्तित्वको रक्षामा लाग्ने गरिरहनुभएको छ उहाँ ।

एमाले पराजित गर्न देशी विदेशी शक्तिको चलखेलमा अपवित्र र अराजनीतिक गठबन्धन बनेको हो । यो गठबन्धन फुटाउन सहज छैन । तर, असम्भव पनि छैन ।

होइन भने पहिलो संविधानसभामा त माओवादी पहिलो पार्टी हो नि ! खै त त्यसलाई बचाएको छ ? आफ्नो शक्तिलाई विस्तार गर्ने तर, पार्टीको मतलब छैन उहाँहरूलाई । २०६४ मा पहिलो भएको पार्टी २०७० मा तेस्रो भयो ।

गत निर्वाचनमा एमालेसँग नमिलेको भए लास्ट पार्टी हुने स्थिति थियो । त्यही भएर एमालेसँग मिल्यो । अहिले आएर कांग्रेसको पछि लागेर हिँडिरहेको छ नेकपा माओवादी । एकप्रकारको विचलन र विघटनतर्फ गइरहेको हुँदा माओवादी उकालो लाग्ने कुनै पनि सम्भावना छैन ।

वामपन्थीको भोट लिएर जित्ने, पार्टी एकता गर्ने अनि प्रतिपक्षका नेता देउवालाई प्रधानमन्त्री बनाउन लाग्ने कुरा त स्खलनको पराकाष्ठा हो ।

– समाजवादी केन्द्र बन्ने भन्ने चर्चा चलिरहेको छ । एमाले इतरको समाजवादी केन्द्र बन्छ कि एमाले पनि समावेश हुनसक्छ ?

नेकपा एमालेले अहिले नै त्यहाँसम्मको कुराको छलफल गरेको छैन । एमालेको आफ्नै योजना र नीति छन् । त्यहीअनुसारको रणनीति एमालेको छ । अर्काे कुरा अहिले समाजवादी केन्द्र पनि एउटा प्रपञ्च हो जस्तो लाग्छ ।

अहिले कांग्रेसलाई बार्गेनिङको लागि यो कुरा आइरहेको हो । अहिले सीटको बार्गेनिङ गर्ने, कुनै कारणले जितिहाले पनि पावर सेयरिङको बार्गेनिङ गर्ने । त्यो त तपाईं हामीले देखिरहेका छौं नि !

बार्गेनिङको लागि कहिले समाजवादी निर्माणको कुरा गर्ने, कहिले एमालेसँग वामपन्थी एकताको कुरा गर्ने, यो त बार्गेनिङ पावरलाई बढाउने कुरामात्र हो भन्ने जस्तो देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर