धर्मका नाममा यस्तो नाटक ! ‘ढलेकी’ महिला ओछ्यानबाट जुरुक्कै (भिडिओ) – Nepal Press

धर्मका नाममा यस्तो नाटक ! ‘ढलेकी’ महिला ओछ्यानबाट जुरुक्कै (भिडिओ)

अनुसन्धानका लागि एक पास्टर पक्राउ

रुपन्देही । बुटवलको एक चर्चमा मृत्यु भएको व्यक्तिलाई जीवित गराइएको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । धार्मिक अन्धविश्वास बढाएर भ्रम फैलाउन खोजेको आरोपमा एक पास्टर पक्राउ परेका छन् ।

यस घटनामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुसन्धान थालेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । कुनै धर्मप्रति मानिसहरुलाई आकर्षित गर्ने नाममा भ्रामक प्रचार गर्नु दण्डनीय हुने उनको भनाइ छ ।

‘भिडिओ सार्वजनिक भएपछि हामीले अनुसन्धान थालेका छौं, यस्ता काम जोकोहीले पनि गर्नु कानुनी हिसाबले दण्डनीय छ,’ उनले नेपाल प्रेससँग भने ।

विवेक सत्याल नामका व्यक्तिले सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेका हुन् । उनले ‘मरेका व्यक्तिलाई पुन: जीवित गराउँदै’ शीर्षक दिएर भिडिओ हालेका छन् । यद्यपि, भिडिओभित्र भने मरेकोलाई ब्युँताइएको दाबी कसैले गरेको छैन ।

भिडिओमा उल्लेख भए अनुसार सो दृष्य बुटवलको होली क्यालभरी चर्चभित्रको हो । भिडिओमा एक महिला भुइँमा लगाइएको ओछ्यानमा ‘बेहोसी अवस्थामा’ लडिरहेको देखिन्छ । केही व्यक्तिहरू उनको वरिपरि उभिएर प्रार्थना गरिरहेका हुन्छन् । पास्टर भनिएका राजेन्द्र गोतामे महिलाका अगाडि टुक्रुक्क पसेर यशुका नाममा केही बर्बराउँछन् । अनि निधारमाथि हात राखेर ‘सुन चाँदी हामीसँग छैन, जे हामीसँग छ तँलाई दिन्छौं,’ उनी भन्छन्, त्यसपछि महिलाको निधारमा हात राख्दै जोडले चिच्याउँछन् । ‘बैनी उठ । उठेर हिँड,’ उनी भन्छन् ।

नभन्दै ओछ्यानमा ढलिरहेकी युवती पास्टरको हात समातेर जुरुक्क उठ्छिन् । अनि ताली बजाउँदै ठमठम हिँड्न थाल्छिन् । केही महिला ‘धन्यवाद’ ‘धन्यवाद’ भन्दै कराउँछन् । पास्टरले महिलालाई ‘हालेलुया भन्न लगाउँछन् । महिलाले पनि मुठ्ठी कस्दै भन्छिन्, ‘हालेलुया ।’ उनले आफू निको भएको भन्दै ‘प्रभू’ लाई धन्यवाद दिन्छिन् ।

यसरी ओछ्यानबाट उठेकी महिलाकी आफन्तको फिडब्याक पनि भिडियोमा समावेश छ । उनी ५-६ लाख खर्च गरेर थुप्रै अस्पताल र धामी झाँक्री लगाउँदा पनि बुहारीलाई निको नभएको बताउँछिन् । उनले बोल्दै गर्दा पास्टर गोतामेले एम्बुलेन्समा राखेर काठमाडौं लैजाँदासमेत निको नभएको आफूले सुनेको बताएका छन् ।

डाक्टरले के भन्यो त्यहाँ ? उनी सोध्छन्, महिला भन्छिन्- ‘डाक्टरले एक्सरे गर्‍यो, सबैथोक गर्‍यो तर केही पनि रोग छैन भन्यो ।’ त्यसपछि गाउँमा ल्याएको उनी बताउँछिन् ।

भिडिओ सामाजिक सञ्जालमा आएपछि धेरैले आलोचना गरिरहेका छन् । भिडिओ सार्वजनिक भएको फेसबुक पेजमा करिब ७ सय जनाले गरेको कमेन्टमा अधिकांशले यसरी धर्मको आडमा अविश्वास र भ्रम फैलाउनेलाई कडा कारबाहीको माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *