सिद्धान्तहीन गठबन्धन र राजनीतिक सिण्डिकेट – Nepal Press

सिद्धान्तहीन गठबन्धन र राजनीतिक सिण्डिकेट

नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण मुलुक हो । यहाँ हिमाल, पहाड र तराईको अनुपम संगम छ । अन्य मुलुकमा यस्तो अवस्था विरलै पाइन्छ । अनुपम अवस्था भएर पनि हामी आज आर्थिक तथा भौतिक विकासमा पछि छौं । देश गरिबीको मारले थिचिएको छ । मुलुकको विकासमा भन्दा आफ्नो निहित स्वार्थ र खिचातानीमा राजनीति रुमलिएको छ । विगतमा देशको आर्थिक तथा सामाजिक विकासको समयलाई हेर्दा पञ्चायती व्यवस्थाको अन्त र प्रजातन्त्रको पुनरोदयपछिको २०४८ देखि २०५१ सालसम्मको शासनकाल, त्यसपछि २०५१ सालमा तत्कालीन कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको समयको शासनकाल, संविधानसभाको पहिलो निर्वाचनपछिको तत्कालीन माओवादीको एकल सरकारको समय र २०७४ पछिको नेकपाको सरकारको शासनकाल आर्थिक तथा भौतिक विकासका लागि सुवर्ण अवसर थियो । यी समयमा आर्थिक विकासका लागि केही उदाहरणीय काम भएका पनि थिए । तर, राजनीतिमा निहित सत्ता स्वार्थ तथा अस्थिरताका कारण आशातीत कामले निरन्तरता पाउन सकेन ।

अहिले नेपालको राजनीति निर्दिष्ट सिद्धान्तमा अगाडि बढ्न सकेको छैन । सत्तामा रहेका पार्टीहरु सीमित अंक गणितीय खेलमा लागेका छन् । यसले जनतामा राजनीतिक प्रणालीप्रति नै बितृष्णा जगाउने काम गरिरहेको छ । प्रतिपक्षमा रहेकोे र अन्य केही साना दलविरुद्ध अरु सबै सत्ताधारी दलहरु गठबन्धन गरेर भोटको आदानप्रदान गर्ने खेलमा लागिपरेका छन् । भोट साटासाट गर्ने गरी सीटको बाँडफाँट गर्न जुटेका छन् । यी दलहरुले अहिलेको प्रमुख प्रतिपक्षलाई पञ्चायती व्यवस्था वा शाहकालीन राजतन्त्रभन्दा पनि खराब हो भन्ने भ्रम जनतामा छर्दैछन् । त्यसैले अहिलेको प्रमुख प्रतिपक्षमा रहेको दललाई शून्यमा झार्नुपर्छ भनेर लागेको देखिन्छ ।

प्रतिपक्षको आवाज सुनिने छैन, हाम्रा अगाडि बोल्ने साहस कसैले गर्न सक्नेछैनन् भन्ने भित्री सोच गठबन्धनका नेताहरुमा रहेको भान हुन्छ ।

मानौं कि यी गठबन्धन दलले भनेअनुसार अहिलेको प्रमुख प्रतिपक्ष शून्यमा झर्‍यो, थोरै सीटमा विजयी भयो र प्रतिपक्ष कमजोर भयो भने आफूले रामराज्य चलाउँछौं भन्ने भ्रमको खेती गरिरहेका छन् । उनीहरुले सोचेअनुसार नै जनताले मतदान गरे भने हामीले जे चाह्यो त्यही गर्न सकिनेछ र यसमा अवरोध गर्ने कोही हुनेछैन भन्ने भित्री सोच राखेको अनुमान गर्न सकिन्छ । प्रतिपक्षको आवाज सुनिने छैन, हाम्रा अगाडि बोल्ने साहस कसैले गर्न सक्नेछैनन् भन्ने भित्री सोच गठबन्धनका नेताहरुमा रहेको भान हुन्छ । यसबाट उत्पन्न हुने जनभावनालाई नजरअन्दाज गरेर सत्ता पक्षीय दलहरु अगाडि बढेको देखिन्छ ।

नेपाली जनताले अंक गणितीय भोटको मात्र महत्व भएको प्रजातान्त्रिक व्यवस्थाको माग गरेको होइन । हामीले यसैलाई उन्नत लोकतान्त्रिक व्यवस्था भन्ने सोचेको पनि होइन । कुनै पार्टीको सिद्धान्तमात्र लोकतान्त्रिक छ भन्दैमा उसका जस्तोसुकै काम पनि लोकतान्त्रिक हुन्छन् भन्ने पनि होइन । लोकतान्त्रिक पार्टीका हरेक नेता तथा कार्यकर्ताको आचारण र व्यवहार लोकतान्त्रिक मूल्य र मान्यताअनुसारकै हुनुपर्छ । उनीहरुका आदर्श, विचार र व्यवहार अनुकरणीय एवं अनुशरणीय हुन आवश्यक छ । प्रजातन्त्रमा जनताले राजनीतिक पार्टीका मूल्य-मान्यता, आदर्श एवं उसका नीति र कार्यक्रम हेरेर भोट हाल्न पाउने अधिकार छ ।

विभिन्न सिद्धान्त बोकेका दलहरु दुर्गम गाउँमा सखरखण्ड दिएर आलु साटे जसरी विपरीत सिद्धान्त र नीति भएका अरु दलको चिन्हमा मतदान गर्न भन्दैमा जनताले भोट हालिदिनुपर्ने पनि होइन । पाँच वर्ष जसो गरे पनि सहेर बस्नुपर्ने अवस्था आफैंले गरेको मतदानका कारण आओस् भन्ने आजका सचेत मतदाताले गर्दैनन् भन्ने नसोची गठबन्धन दलका नेताहरु अगाडि बढेको भए यो उनीहरुकै लागि प्रत्युत्पादक बन्ने निश्चित छ । लोकतान्त्रिक व्यवस्थामा पार्टीहरु आआफ्नो सिद्धान्त, नीति र कार्यक्रमसहितको घोषणापत्र लिएर जनतामा जाने र जनताले सोहीमुताबिक मतदान गर्ने र गर्न पाउने चाहना हुन्छ । यसरी जनताबाट चुनिएका जनप्रतिनिधिहरु र ती दलले आपसमा सिद्धान्त, नीति र कार्यक्रम मिल्नेसँग गठबन्धन गरी सरकार गठन गर्नुपर्छ भन्ने सबैको चाहना हो । तर, यस जनचाहनाको कुनै ख्याल गरिएको देखिएन ।

प्रजातन्त्रमा सबैको समान अधिकार र दायित्व हुन्छ । हरेक सिद्धान्त र विचारले उत्तिकै अवसर र प्रश्रय पाउनुपर्छ । केही शक्ति, व्यक्ति वा समूहले अवसरका नाममा अरुप्रति अन्याय हुने वा देखिने काम गरिनुहुँदैन । जनतालाई स्वतन्त्र छनोटको मौका दिइनुपर्छ ।

प्रजातन्त्रमा सबैको समान अधिकार र दायित्व हुन्छ । हरेक सिद्धान्त र विचारले उत्तिकै अवसर र प्रश्रय पाउनुपर्छ । केही शक्ति, व्यक्ति वा समूहले अवसरका नाममा अरुप्रति अन्याय हुने वा देखिने काम गरिनुहुँदैन । जनतालाई स्वतन्त्र छनोटको मौका दिइनुपर्छ । जब जनताबाट मत जाहेर भइसक्छ तब सिद्धान्त, विचार नीति र कार्यक्रम मिल्ने पार्टी र समूह एकापसमा मिलेर जनताको आदेशमुताबिक राज्यसत्ता सञ्चालन गरिनुपर्छ । सक्षम सरकार र दरिलो प्रतिपक्ष हुनु लोकतन्त्र एवं संसदीय व्यवस्थाको मूल मर्म र भावना हो । यसैलाई बढावा दिँदै राजनीतिक पार्टी र नेतृत्वले आफ्ना क्रियाकलाप, सिद्धान्त, आचरण र व्यवहार प्रदर्शन गर्नुपर्छ ।

तर, योतर्फ मुलुकको राजनीतिक सोच गएको छैन । जनता दलका यस्ता व्यवहारबाट आजित छन् भन्ने दृष्टान्त गत स्थानीय तह निर्वाचनले देखाइसकेको छ । काठमाडौं महानगरपालिका, धरान र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारलाई जिताउनु तथा चितवनमा मेयरका प्रत्यासी जगन्नाथ पौडेलले गर्नुभएको सैद्धान्तिक विरोध यसका ज्वलन्त उदाहरण हुन् ।

सत्ताधारी गठबन्धन दलहरु अहिले राजनीतिक सिण्डिकेट खडा गर्दैछन् । यसले जनताको स्वतन्त्र छनोटमा गम्भीर असर गरेको छ । यस्तो राजनीतिक सिण्डिकेटले गलत अभ्यासको बिजारोपण हुने र अन्ततः यसले लोकतन्त्रलाई नै नोक्सान गर्नेछ । तर, यसतर्फ सबैभन्दा प्रजातान्त्रिक भनिएको दलले बेवास्ता गरिरहेको छ । जुन कुराको विरोध आफ्नै नेता-कार्यकर्ताले गरिरहेकोलाई नेतृत्वले ख्याल गरेको देखिँदैन । दलका सिद्धान्त, आदर्श, नीति र कार्यक्रम हरेक पार्टीका नेता तथा कार्यकर्ताले पालना गर्नुपर्छ र यसैअनुसार हिँड्नु पनि पर्छ । क्षणिक सत्ता स्वार्थले यसमा विचलन ल्याउँछ । दलहरु आफ्नो विचार, सिद्धान्त तथा आदर्शले जनतामा भिज्नुपर्छ । कुनै नेताले केही समयका लागि सत्तामा रहन पार्टीको आदर्श भुल्नु कदापि राम्रो काम होइन ।

सक्षम सरकार र दरिलो प्रतिपक्ष हुनु लोकतन्त्र एवं संसदीय व्यवस्थाको मूल मर्म र भावना हो । यसैलाई बढावा दिँदै राजनीतिक पार्टी र नेतृत्वले आफ्ना क्रियाकलाप, सिद्धान्त, आचरण र व्यवहार प्रदर्शन गर्नुपर्छ ।

राजनीतिक प्रणालीमा धैर्यता अनिवार्य आवश्यकता हो । हरेक तह र तप्काका नेता तथा कार्यकर्ताले कुर्न र आफ्नो पालो पर्खन सक्नुपर्छ । अधैर्यताले अगाडि होइन पछाडि धकेल्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा मेरुदण्डका रुपमा खडा भइसकेको तत्कालीन नेकपा निहित स्वार्थ र अधैर्यताकै कारण इतिहास भयो । यस्तो विशाल शक्तिशाली पार्टीको अध्यक्ष हुन एवं अब हुने निवार्चनबाट मुलुककै विशाल पार्टीको शक्तिशाली प्रधानमन्त्री हुने अवसर अधैर्यताकै कारण गुम्यो ।

त्यो वेलाको अवस्था एकले अर्कोलाई लगाइएका आरोपहरु अगाडि होइन पछाडि फर्काउने अस्त्रका रुपमा प्रयोग भए । बहुमत र अल्पमतको अहंकार देखाइयो र दुवै आरोपहरु फिर्ता लिएर मिलेर जाऔं भन्ने पहललाई नजरअन्दाज गरियो । आखिर जनतामा परीक्षण हुन एक दिन जानुपर्ने नै थियो । त्यो समयमा धैर्यताका साथ कदम चालिएको भए नेपाली कम्युनिष्ट आन्दोलनलाई यति साह्रो धोका हुने थिएन । अहिले नदीका दुईधार जस्तै विचार र सिद्धान्त भएका दलहरु गठबन्धन गरेर हिँड्दा विगतको त्यो तीतो अवस्थालाई नजरअन्दाज गर्न कसरी मिल्छ ?

एउटै आमाले जन्माएका सन्तानहरु त एक भएर हिँड्न सक्तैनन् र एकले अर्कोलाई सिध्याउन छिमेकीको सहारा लिन्छन् भने अलग–अलग सोच, सिद्धान्त र विचार भएकाहरु कसरी एउटै भएर हिँड्न सक्छन् ? वाम र प्रजातान्त्रिक शक्तिको अवस्था पनि ठीक यस्तै हो । अवसर नआउँदासम्म मात्र हो, जब अवसर आउँछ, त्यो दिन एकले अर्कोलाई नसोचेको धोका दिनसक्छ । यो थाहा नभएको होइन कि गठबन्धनभित्रकै केही नेताहरु कसैलाई देखाइदिने निहित सोचमा छन् । यसले उनीहरुको निहित स्वार्थ पूरा होला । तर, उनीहरुले एउटा आन्दोलन र भावी पुस्तालाई दिएको धोका इतिहासमा दर्ज हुनेछ ।

एउटै आवधिक चुनाव जित्न राजनीतिक प्रणालीप्रति बितृष्णा हुने काम गर्नु र दलका नीति, सिद्धान्त, आदर्श र मूल्य-मान्यताविपरीत जानु देश र भावी पुस्ताको भविष्यमाथि खेलवाड गर्नु सिवाय केही होइन ।

लोकतान्त्रिक प्रणालीमा चुनाव एक पटकमात्र आउने अवसर होइन । यस्तो आवधिक राजनीतिक प्रणालीका लागि कुनै दलले आफ्नो हैसियत र क्षेत्र खुम्चाउन र एउटा जीतका लागि मात्र नीति र सिद्धान्तप्रति बेवास्ता गर्नु राम्रो होइन । यस्ता सिद्धान्तविपरीत हुने गठबन्धन र सिण्डिकेटले विद्यमान राजनीतिक प्रणालीप्रति बितृष्णा आउने काम हुनु लोकतन्त्रप्रतिकै धोका हो ।

लोकतान्त्रिक व्यवस्था विश्वको अत्युत्तम व्यवस्था हो । यो व्यवस्था फेर्न सामान्य घटना परिघटनाले सम्भवै छैन । संसद गठन र विघटन यसभित्रको खेलमात्र हो । कसैले एक पटक गलत खेलो भन्दैमा सर्वश्व भयो भनेर ठान्नु उचित पनि होइन । यसमा समयसँगै अनेक उतारचढाव आउन सक्छन् । त्यसलाई राजनीतिक प्रणालीले सम्हालेर लानसक्छ । राज्य सञ्चालनमा राज्यका अंगहरुबीच नियन्त्रण र सन्तुलनको व्यवस्था हुन्छ । यसमा एकले गरेको गल्ती अर्को अंगले सुधार गर्छ । हाम्रो अहिलेको अवस्था यसैको परिणाम हो ।

यही घटनालाई लिएर आफूभित्रको अवस्था छिन्नभिन्न बनाउन लाग्नु कुनै बुद्धिमता होइन । यसैको आधार कोही अग्रगामी वा प्रतिगामी पनि हुनसक्दैन । हाम्रो देशका नेतृत्वले यस्ता प्रश्न उठ्ने केही न केही काम विगतमा सबैले गरेकै छन् । लोकतान्त्रिक प्रणाली उन्नत व्यवस्था हो र जुगौंजुग रहनेछ । एउटै आवधिक चुनाव जित्न राजनीतिक प्रणालीप्रति बितृष्णा हुने काम गर्नु र दलका नीति, सिद्धान्त, आदर्श र मूल्य-मान्यताविपरीत जानु देश र भावी पुस्ताको भविष्यमाथि खेलवाड गर्नु सिवाय केही होइन ।


प्रतिक्रिया

2 thoughts on “सिद्धान्तहीन गठबन्धन र राजनीतिक सिण्डिकेट

  1. कस्ताे चित्त बुझ्ने लेखाई ! पढेर खुशी लाग्याे सर!

Leave a Reply

Your email address will not be published. Required fields are marked *