नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन – Nepal Press

नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

काठमाडौं । उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित सपहीका स्थायीबासी ८ वर्षीय बालक विजय महतोलाई उपचारमा सहुलियतसँगै पूर्ण रूपमा निको बनाई घर पठाएको हो ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेका ८ वर्षीय बालकको पेटको अगाडिको भागको मांसपेशीमा एक्कासि पिप जम्मा भएको थियो ।

उनका बुबा शिव शरण महतोका अनुसार जनकपुरका अस्पतालमा देखाउँदा त्यहाँका चिकित्सकले उपचार गर्न नसक्ने बताएपछि बालकलाई काठमाडौं ल्याइएको थियो ।

आर्थिक अवस्था कमजोर रहेका कारण राम्रो अस्पताल लैजान सक्ने अवस्था आफ्नो नरहेको, तर आफू नर्भिकमा आएर कुरा गर्दा उपचारमा सहुलियतसँगै राम्रो उपचार सुविधा पाएको बताए ।

‘नर्भिकले उपचार खर्चमा समेत निकै छुट दिएर मजस्तो गरिबलाई गुण लगाएको छ ।’ महतोले भने–‘उपचारमा संलग्न डा। अभय यादवले समेत हामीलाई छुट दिनुभयो । उहाँहरूकै सहयोगले आज मेरो छोरा ठिक भएको छ ।’

पेटको मांसपेशीमा जमेको पिप र त्यसको पीडाका कारण नर्भिक आउँदा विजय महतो हिँड्न सक्ने अवस्थामा थिएनन् । उपचार गरेर निकै ठिक भएपछि घर फर्किनुअघि सोमबार उनी ठमठमी हिँड्न सक्ने भएका थिए ।

नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीको निर्देशनमा बालकको उपचार व्यवस्था मिलाइएको थियो । डा। अभय यादव नेतृत्वको टिमले महतोको उपचार गरेको थियो ।

यादव नेतृत्वको टिममा सहभागी चिकित्सक डा। सुशील कायस्थले गम्भीर अवस्थाका बालकले उपचारपछि नयाँ जीवन पाएका बताए ।

इन्फेक्सनका कारण बालकको अवस्था निकै गम्भीर बनेको स्मरण गर्दै उनले भने, ‘बेलैमा उपचार भएको थिएन भने अवस्था निकै गम्भीर बन्न सक्थ्यो । उपचारपछि अहिले उनको अवस्था निकै राम्रो भएको छ । तर ती बालकले एन्टीबायोटिक चाहिँ निकै लामो समयसम्म खानुपर्ने हुन्छ ।’

नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वर्षेनी गरिब र निमुखा नागरिकहरूको उद्धार गरी निःशुल्क उपचार सेवा दिँदै आएको बताइन् ।

आगामी दिनमा पनि अस्पतालले खर्चकै अभावमा उपचार गर्न नसक्नेहरूलाई सहयोग गर्ने उनको प्रतिबद्धता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर