रोशनको नयाँ गीत ‘पीडा’ सार्वजनिक – Nepal Press

रोशनको नयाँ गीत ‘पीडा’ सार्वजनिक

भक्तपुर । गायक रोशन धौभडेलले आफ्नो नयाँ गीत ‘पीडा’ सार्वजनिक गरेका छन् । भक्तपुरकै गीतकार उत्कल चालिसेको शब्द रहेको ‘पीडा’ गीत तथा म्युजिक भिडिओ बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

नेपालका पहिलो ड्रमर देव राणाले सार्वजनिक गरेको गीतको एरेन्ज तथा संगीत गायक धौभडेलले गरेका हुन् । आभाश्री प्रोडक्सनले तयार गरेको म्युजिक भिडिओको निर्देशनसमेत धौभडेलले नै गरेका छन् । रोजगारीका लागि परदेश गएका नेपालीहरुको पीडालाई गीत र म्युजिक भिडिओमार्फत प्रस्तुत गरिएको छ ।

गीतकार चालिसे स्वयम् रोजगारीको लागि हाल लब्जेम्बर्गमा छन् । लब्जेम्बर्गस्थित फाइनान्सियल इन्डस्ट्रिजमा कार्यरत चालिसेका आमाबुबा, श्रीमती र छोराछोरी सबै नेपालमै छन् । घरपरिवार र आफन्तसँग विछोडिएर परदेशमा जाँदा हुने पीडालाई उत्कलले शब्दमार्फत प्रस्तुत गरेका छन् । म्युजिक भिडिओमा समेत उत्कल फिचरिङ छन् ।

गीत तथा म्युजिक भिडिओ सार्वजनिक गर्दै वरिष्ठ संगीतकार राणाले गीत मर्मस्पशी रहेको भन्दै सबैले आफूभित्रको पीडालाई व्यक्त गर्न नसक्ने औंल्याए ।
गीतको लागि रचनाकार र गायक प्रमुख हुने र संगीतकारले गीतको मेलोडीमा मात्रै सहयोग गर्ने उनले बताए ।

वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलले बजारमा चलिरहेको धार विपरीत गीत आएको सुनाउँदै भने, ‘गीत राम्रो बनेको छ । कम बजेटमा पनि उत्कृष्ट गीत बन्छ भन्ने यो एउटा उदाहरण हो ।’

उनले बिग हाउस र कर्पोरेट चलनले कम बजेटका राम्रा गीतहरु समेत ओझेलमा पर्ने गरेको बताए ।

त्यस्तै संगीतकार एवं गायक राजनराज सिवाकोटीले आफूलाई पनि आधुनिक र सुगम गीत गाउन मन लागे पनि मौका नमिले सुनाए । उनले अघिल्लो पुस्ताले गाएका आधुनिक एवं सुगम गीत जस्तो नयाँ पुस्ताको गीत चर्चामा नआएको बताए ।

‘नयाँ पुस्ताका आधुनिक एवं सुगम गीतहरु चर्चामा छैनन् । बजारमा यस्ता गीत सुन्न पाइँदैन’, सिवाकोटीले भने, ‘किन छायाँमा परे, शब्द, संगीत र गायनमा कमी भयो कि मेहनत पुगेन कि ? खोजी गर्नपर्‍यो ।’

उनले पनि गीतकार उत्कल चालिसको एउटा गीत गाउँदैछन् । आफैले संगीत भरेको गीतको बोल ‘म बुढो भएको बेला’ रहेको सिवाकोटीले जानकारी दिए ।

गायक धौभडेलले २ वर्षअघि नै गीत प्राप्त भए पनि शब्द मिलाउन र कम्पोजलगायत गर्न २ वर्ष लागेको सुनाए । उनले यसअघि करिब एक दर्जन गीत गाइसकेका छन् । ‘वन्ली यू’ नामक म्युजिक एल्बम ल्याइसकेका रोशनले एउटा राष्ट्रिय र अर्को नेवारी गरी दुइटा गीतको म्युजिक भिडिओ तयार गर्ने काम भइरहेको जानकारी दिए ।

कार्यक्रममा गीतकार उत्कलका दाजु शिशिर चालिसे र भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाहीले गीत र म्युजिक भिडिओबारे चर्चा गरेका थिए । गीतकाे म्युजिक भिडिओ आभाश्री प्राेडक्सनकाे अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरिएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर