‘श्रीलंकाको संकटलाई झन गम्भीर बनाउने राजापाक्षे वंश हो’ – Nepal Press
नेपाल टक

‘श्रीलंकाको संकटलाई झन गम्भीर बनाउने राजापाक्षे वंश हो’

श्रीलंकाली कवयित्री प्रियकन्था भन्छिन्ः मरणासन्न अर्थतन्त्रलाई उकास्न योग्य र जिम्मेवार नेता चुन्नु श्रीलंकाली जनताको दायित्व भएको छ

इटहरी । कन्चना प्रियकन्था श्रीलंकाकी चिनिएकी कवयित्री हुन्, प्रकाशक हुन् । उनको केबुक्स नामक प्रकाशन गृह छ । विभिन्न साहित्यिक कार्यक्रमको दौरानमा निम्तो पाएर उनी विभिन्न देश डुल्ने गर्छिन् । यो अन्तर्वार्ताकारसँग उनको भेट भारतको जयपुरमा भएको दक्षिण एसियाली साहित्य उत्सव र काठमाडौंमा भएको साहित्य उत्सवमा भएको थियो । भेटमा कविताका कुरा भए, साहित्यका कुरा भए । राजनीतिक कुरा भएन । आर्थिक कुरा पनि भएन । आमनेसामने हुँदा नभएका आर्थिक र राजनीतिक कुरा यो इमेल अन्तर्वार्तामा गरिएको छ । श्रीलंकाको जारी आर्थिक संकटलाई नजिकबाट हेरेकी र भोगेकी कन्चनाले नेपाल प्रेससँग लामो कुराकानी गरेकी छन् । यो अन्तर्वार्तामा त्यही लामो कुराकानीको सार प्रस्तुत गरिएको छः

– विश्वभरका मिडियामा श्रीलंकाको बिजोग चित्र देखाइएको छ । मान्छेले एक छाकमात्रै खान थालेको, एक लिटर दूध किन्न भीड लाग्ने गरेको, सरकारले प्रश्नप्रत्र छाप्न नसकेको समाचार आएका छन् । के यो सत्य कुरा हो कि अलि बढाइचढाइ आएको हो ?

तपाईंले टेलिभिजनमा देखेका र देखाइएका कुराहरु पूर्णतयाः सत्य हुन् । त्यो बढाइचढाइ गरिएको दृश्य हैन । मेरो धारणा त के छ भने श्रीलंकाको संकटको कारण श्रीलंकाली जनताले भोगेको वास्तविकता र समस्याहरु मिडियामा अझै पूरा आएका छैनन् । धेरै दिन तेलको लाइनमा बसेर पनि खाली हात फर्कने बाध्यता श्रीलंकामा छ । महिनौं चलेको संकटको कारणले देशको अर्थतन्त्र नराम्रोसँग ध्वस्त भएको छ । त्यसैको फलस्वरुप धूलो दुधदेखि दैनिक आवश्यकताका वस्तुहरु धेरै महँगो भएका छन् । श्रीलंकामा कागज उत्पादन नगर्नाले यहाँ धेरै महँगो भएको छ । त्यसले कागज अभाव भएको छ । दशकौंको खराब व्यवस्थापनको परिणामस्वरुप श्रीलंकालीहरु मानवनिर्मित संकटको सामना गर्न बाध्य भइरहेका छन् ।

– राष्ट्रपति गोताबाया राजापाक्षे भागेर माल्दिप्स हुँदै सिंगापुर पुगे । उनले किन यसो गरे ? के श्रीलंकामा उनी असुरक्षित थिए ?

उनलाई राष्ट्रपतिको रुपमा कानूनले छुने कुरा हुन्न । पक्राउ हुने कुरा पनि हुन्न । उनी आफैं सेनाका परमाधिपति हुन् । देशका सबै राज्यका तीनै शक्ति उनको आदेशमा चल्ने हुन् । तर, उनले आफ्नो पदबाट अलग भए पछि त्यो सुविधा पाउँदैनन् र नागरिकस्तरमा ओर्लन्छन् । मलाई लाग्छ, उनले श्रीलंकाबाटै राष्ट्रपतिबाट राजीनामा दिएको भए भ्रष्टाचारको आरोपमा उनी पक्राउ पर्नसक्थे । त्यसबाट जोगिन उनले त्यो निर्णय लिएका हुन् । देशको जल, थल र हवाई तीनै शक्तिसँगको समन्वयमा उनी भागे । श्रीलंकामा राजनीनामा दिएको भए त्यो सुविधा हुँदैन थियो । देश छोड्ने उनको व्यक्तिगत निर्णय हो । श्रीलंकामा भएका प्रदर्शन पूर्णतया शान्तिपूर्ण थिए ।

– तपाईंको धारणामा अहिलेको श्रीलंकाको आर्थिक संकटका प्रमुख कारणहरु के के हुन् ?

अहिलेको आर्थिक संकटको अवस्थामा आइपुग्नुका धेरै कारणहरु छन् । पहिलो कारण हो, वैदेशिक मुद्रा आर्जन घट्नु । श्रीलंकाले पर्यटन, कृषि र रेमिटेन्सले वैदेशिक मुद्रा आर्जन गरिरहन्छ । सन् २०१९ को श्रीलंकामा भएको बम हमला र कोभिड १९ को कारण पर्यटनमा ठूलो नोक्सान भयो । श्रीलंकाको वार्षिक ४ अर्ब अमेरिकी डलर आर्जन गर्ने पर्यटन क्षेत्र सन् २०१९ देखि लगातार तीन वर्ष ओरालो लाग्यो । कृषि तथा गार्मेट निर्यातमा समस्या पर्‍यो । अझ ठूलो तनाव त विदेशिएका श्रीलंकालीले पठाएको रेमिटेन्स पनि घट्यो ।

अहिलेको संकटको दोस्रो कारण व्यापार घाटा हो । श्रीलंका आफ्नो ऊर्जाको प्रमुख हिस्सा आयातबाट टार्ने गर्छ । दैनिक उपभोग्य वस्तु र औषधिमा पनि श्रीलंका आयातमा निर्भर छ । इतिहास हेर्दा व्यापार घाटा जीडीपीको ७ देखि १० प्रतिशत देखिन्छ । सन् १९७७ देखि नै हरेक सरकारले विदेशी मुद्रा किन्दै आएको थियो । अहिले श्रीलंकाको ५२ अर्ब वैदेशिक ऋण छ । जसमा हरेक वर्ष सात अर्ब अमेरिकी डलर श्रीलंकाले तिर्दै आएको छ । अहिले वैदेशिक ऋण तिर्न पनि ऋण लिने अवस्था आएको छ ।

अहिलेको संकटको तेस्रो कारण घाटा बजेट हो । व्यापार घाटा र बजेट घाटा भएको देशको एक मौलिक उदाहरण श्रीलंका हो । गोताबाया राजापाक्षे राष्ट्रपति हुनासाथ कर घटाइयो । जसको कारण सरकारको ५० प्रतिशत आम्दानी घट्यो । सन् २०१९ मा १०२५ अर्ब श्रीलंकाली रुपैयाँको कर रकम भएकोमा सन् २०२० मा पुग्दा त्यो ५२४ अर्ब रुपैयाँमा झर्‍यो । जबकि औसत सरकारी खर्च १५०० अर्ब श्रीलंकाली रुपैयाँ हो । जसको फलस्वरुप सरकारले धेरै पैसा छाप्नु पर्‍यो । धेरै पैसा छापिए पनि वैदेशिक मुद्रा सञ्चिती कम भएपछि मूल्यवृद्धि भयो । सरकारले मोर्डन मनिटरी थ्योरीले काम गर्ला भनेर गल्ती गर्‍यो ।

चौथो कारण प्रांगारिक मलको मुद्दा हो । वैदेशिक मुद्रा सञ्चिती कम भएपछि राष्ट्रपति राजापाक्षेले रसायनिक मल आयातमा प्रतिबन्ध लगाए । यसले धान, फलफूल र चियालगायतका सबैजसो कृषि निर्यातमा समस्या ल्यायो । १.४ अर्ब अमेरिकी डलरको निर्यात हुने क्षेत्रमा यसको प्रभाव धेरै पर्‍यो ।

पाँचौं कारण खराब व्यवस्थापन र भ्रष्टाचार हो । श्रीलंकाको सार्वजनिक फण्ड दुरुपयोग अनि भ्रष्टाचारको लामो विगत छ । सरकारी अधिकारीहरु र राजनीतिक नेताहरुले यस्तो गर्दै आएका छन् । अर्बौं डलरको भ्रष्टाचारको आरोप त राजापाक्षे सत्ताका मन्त्रीहरु, सांसदहरु र सरकारी कर्मचारीहरुमै छ । खरिददेखि कार्यान्वयनसम्मका हरेक कुरामा उनीहरुले छिद्र खोजेर सार्वजनिक फण्डलाई आफ्नो व्यक्तिगत लाभको लागि प्रयोग गरे ।

छैटौं कारण, म सेतो हात्ती परियोजना भन्छु । सन् २०१० देखि श्रीलंकाले चीनबाट अत्यधिक मात्रामा ऋण लिएर धेरै व्याज तिर्ने गरी राजमार्ग, किर्तिम टापु, बन्दरगाहदेखि विमानस्थलसम्म बनाउने पूर्वाधारमा लगानी गर्दै आएको छ । यस्ता धेरै योजनाहरुले राष्ट्रिय अर्थतन्त्रमा एक डलर पनि योगदान गरेका छैनन् । बरु ब्याज बढाएका छन् । धेरैले चीनको ऋण पासो भएर पनि यस्तो भएको भन्छन् । तर, श्रीलंकारी सरकार यसको लागि मुख्य जिम्मेवार हो ।

– महिन्दा राजापाक्षेले नागरिक दबाबमा राजीनामा दिएर रनिल विक्रमासिंगे नयाँ प्रधानमन्त्री बने । प्रधानमन्त्री हुँदै उनी राष्ट्रपति भइसके । तैपनि किन प्रदर्शनहरु भइरहेको छ ?

गोताबाया राजापाक्षेको संसदीय बहुमतकै आधारमा रनिल विक्रमासिंगे प्रधानमन्त्री भएका थिए । पछिल्लो चुनावमा २.१५ प्रतिशत मतमात्रै ल्याएका थिए रनिलले । उनको युनाइटेड नेशनल पार्टीबाट उनी एक्ला सांसद चुनिएका थिए । उनीसँग प्रधानमन्त्री हुने नागरिक अभिमत थिएन । आरागालायामा भएको प्रदर्शनमा नागरिकहरुले उनलाई प्रधानमन्त्री हुने अभिमत नभएको भन्दै प्रदर्शन गरेका थिए । योभन्दा महत्वपूर्ण उनले श्रीलंकाको पाँच पटक प्रधानमन्त्री भएर काम गरिसकेका थिए । र पाँचै पटक उनी असफल भएका थिए ।

– विश्वभरको अभिमत हेर्दा धेरैले राजापाक्षे वंशको शासनको कारणले श्रीलंकाको अहिलेको खराब हालत भएको तर्क गर्दै आएका छन् । यसमा तपाईंको मत के छ ?

यो संकटलाई झन् गम्भीर बनाउने काम राजापाक्षे वंशकै हो । श्रीलंकाको अर्थतन्त्रको ओरालो यात्राको यो एक झिल्कोमात्रै हो । अर्को तर्फबाट हेर्दा श्रीलंकाले खुला अर्थतन्त्र अंगीकार गरेपछिका हरेक सत्ताधारीमा पनि यसको अपजस जान्छ । भारत, चीन, सिंगापुर, भियतनाम, मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया र कम्बोडिया जस्ता एसियाली देशहरुले आफ्नो अर्थतन्त्रलाई वैश्विक उत्पादन र सेवा अर्थतन्त्रतर्फ ढल्काइरहेकामा श्रीलंकाली नीति निर्माताहरु भने अर्थतन्त्रलाई बढोत्तरी दिने आधारभूत नीति बनाउने कुरामै अलमलमा छन् । यसका अतिरिक्त मानव अधिकार रक्षा, लैंगिक/धार्मिक आदिको समानता, शिक्षा, कानून तथा न्याय क्षेत्रमा आवश्यक सुधार गर्न संवैधानिक परिवर्तन गर्नसमेत उनीहरु असफल भएका छन् ।

– श्रीलंका मूलतः बौद्ध धर्मावलम्बी सिंहालिस, हिन्दू तामिल र मुस्लिम आदिले भरिएको देश हो । के अहिलेको संकटमा उनीहरु एकै लाइनमा छन् वा उनीहरुको फरकफरक मत छ ?

उनीहरु हरेकले एकै प्रश्न सोधिरहेका छन् । उनीहरु भ्रष्टाचारमुक्त देश चाहिरहेका छन् । उनीहरु लिंग, धर्मको आधारमा राष्ट्रका स्रोत र सुविधामा भेदभाव नहोस् भन्ने चाहिरहेका छन् । उनीहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक प्रणाली चाहिरहेका छन् । उनीहरु विश्व अर्थतन्त्रमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय अर्थतन्त्र चाहिरहेका छन् । उनीहरु भावी पुस्तालाई शान्ति हुने देश चाहिरहेका छन् । यही हो उनीहरुको वास्तविक चाहना ।

– तपाईं आफैं एक राम्रो कवयित्री हो । श्रीलंकाली संकटले श्रीलंकाको साहित्यमा कतिको असर गरेको छ ?

सबैलाई संकटको असर छ । प्रकाशन गृहहरुलाई कागज अभावले प्रत्यक्ष प्रभाव पारेको छ । सन् २०२२ को सुरुवातदेखि नै सबै खण्डका केहीमात्र पुस्तकहरु आएका छन् । यो सबै प्रकारका प्रकाशनहरुमा लागू हुन्छ । प्रकाशन गृहसँग प्रत्यक्ष जोडिएका पुस्तक विक्रेता, प्रकाशक, लेखक र सबैलाई यसले धेरै असर गरेको छ । यद्यपि कविहरुलाई यो संकटबारेमा धेरै भन्नु छ । श्रीलंकाले कसरी पुनरुत्थान गर्छ भन्नेबारेमा बोल्नु छ । त्यसकारण मेरो व्यक्तिगत अनुभव र अवलोकनको आधारमा पनि म यसलाई देशप्रति कसरी योगदान गर्ने भन्ने अवसरको रुपमा लिन्छु ।

– जारी संकटबारेमा श्रीलंकाली साहित्य जगतको प्रतिक्रिया कस्तो छ ?

उनीहरु भन्छन्, ‘संकटकै समयमा आविष्कारको अत्यधिक सम्भावना हुन्छ ।’

कागजको संकटको कारणले प्रकाशन उद्यममा व्यापक कमी आएको छ । अर्को पक्षबाट हेर्दा डिजिटल प्रकाशनमा यसले नयाँ ढोका खोलेको छ । इबुक्सदेखि अडियो बुक्समा आफ्नो पुस्तक प्रकाशन गर्न लेखकहरुलाई यसले ढोका खोलेको छ । मैले धेरै श्रीलंकाली संस्थाहरु देखेको छु, जसले डिजिटल अध्ययन तथा प्रकाशनमा काम गरिरहेका छन् । आर्थिक संकटको यो घडीमा सहुलियतपूर्ण अध्ययनको अवसर हुने डिजिटल प्रकाशनसँग म पनि सकारात्मक छु । अध्ययन एक पुल हो, जसले समाज र जारी शिक्षालाई जोड्छ । शिक्षा देशको मेरुदण्ड हो । अध्ययन समाज र शिक्षा जोड्ने पुल हो ।

– श्रीलंकाका गैरआवासीय नागरिकहरुको डायस्पोरा राम्रै छ । जारी संकटमा उनीहरुको प्रतिक्रिया कस्तो देखिन्छ?

तीस लाखभन्दा धेरै श्रीलंकाली विदेशमा बस्छन् । उनीहरु पनि प्रणाली परिवर्तनको पक्षमा छन् । उनीहरुले दुःख गरेर कमाएको रकम देशमा पठाएर देशको आर्थिक संकट टार्न योगदान गरिरहेका छन् । उनीहरु संविधान परिवर्तन गरेर देशको राम्रो आर्थिक नीति र थितिको पक्षमा छन् । उनीहरु आर्थिक रुपमा सुरक्षित श्रीलंका चाहन्छन् । श्रीलंकामा सम्भावित रोजगारी गर्नेहरु धेरै शिक्षित छन् । श्रीलंका सरकारले यो जनशक्तिबाट बढीभन्दा बढी उत्पादनको काम गर्न र वैदेशिक मुद्रा आर्जन गर्न तत्काल कदम चाल्नुपर्छ ।

– श्रीलंकाली संकटको बारेमा त्यहाँका मिडियाहरु के भन्छन् ?

श्रीलंकामा स्वतन्त्र मिडिया पाउन धेरै कठिन छ । मैले अवलोकन गरेअनुसार धेरै रेडियो, टेलिभिजन र अखबारले राजनीतिक मुद्दाहरुमात्रै बोक्छन् र उनीहरु पक्षपाती छन् । सरकारी मिडियाले प्रदर्शनलाई सहयोग गरेका छैनन् । अर्कोतर्फ अत्यधिक थोरै निजी मिडिया छन् । जसले प्रदर्शनलाई सहयोग गरिरहेका छन् । प्रदर्शनकारीहरुले सामाजिक सञ्जाललाई सदुपयोग गरेर जनतालाई सचेत गराइरहेका छन् ।

– श्रीलंकाको जारी संकट टार्न त्यहाँका बौद्धिक, अर्थशास्त्री, राजनीतिशास्त्रीहरुले के के सुझाउँदैछन् ?

विज्ञहरुका कुरा हेर्दा मूलतः १२ सल्लाह दिएको देखिन्छ । पहिलो हो, राजनीतिक स्थिरता । दोस्रो, मूल्यवृद्धिको सामना वा रोकावट । तेस्रो, एक्सचेन्जदर अमेरिकी डलरसँग स्थिर नगरेर अस्थिर गनुपर्ने तर्क छ । चौथो, ऋण समायोजन । पाँचौं, सरकारी आम्दानी वृद्धि । छैटौं, निर्यात प्रवर्द्धन र वृद्धि । सातौं, मितव्ययी आयात । आठौं, वैकल्पिक र नवीकरणीय ऊर्जामा लगानी । नवौं, कृषि क्षेत्रको प्रवर्द्धन । दसौं, सेवा क्षेत्र अथवा पर्यटन क्षेत्रको व्यापक विकास । एघारौं, लगानी प्रवर्द्धन । बाह्रौं, स्टार्टअप उद्यमको व्यापक प्रवर्द्धन ।

– अब रनिल विक्रमासिंगेबाट के आशा छ ?

संवैधानिक सुधार गरेर परिर्वत ल्याउने आशा नयाँ राष्ट्रपतिसँग धेरैले गरेका छन् । उनी आफैं पनि त्यही सुधारको अभियानमा लागेका व्यक्ति भएकोले त्यसो हुने धेरैको आशा छ ।

तर, अहिले नै म चैँ उनको क्षमता हेर्दा नयाँ मुलुक बनाउने कुरामा भने आशावादी छैन ।

– माथिका प्रश्नहरुमा नअटाएको तर तपाईंले भन्नुपर्ने केही बाँकी छन् ?

विश्व इतिहासमा धेरै देशले श्रीलंकाको जस्तो आर्थिक संकट सामना गरेका छन् । बहुसंख्यक देशको उदाहरण हेर्दा संकटकाे पूर्ण समाधान हुन १० देखि १५ वर्ष लागेको छ । त्यो पनि उत्तरदायी राजनीतिक नेता, लोकतन्त्र, नीतिगत सुव्यवस्था र खुलापन भएको अवस्थामा । संकट समयमै मोचन गर्न नसकेका देशहरुमा भने वर्षौंसम्म यो संकटको चक्रव्यूह चलेको देखिन्छ । जसले व्यापक मूल्यवृद्धि गराएको देखिन्छ । जसले ती देशका ठूलो हिस्साको जनसंख्यालाई धेरै असर गरेको देखिन्छ । मरणासन्न अर्थतन्त्रलाई उकास्नसक्ने योग्य र जिम्मेवार नेता चुन्नु श्रीलंकाली जनताको दायित्व भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर